हिमपात नहुँदाको असर कृषिमा, भोकमरीको खतरा

हिमाल प्रेस १० फागुन २०७९ २०:२६
8
SHARES
हिमपात नहुँदाको असर कृषिमा, भोकमरीको खतरा

बझाङ- सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन्। मंसिरमा छरेको गहुँ फागुनको दोस्रो सातासम्म पनि बिरुवा नलागेपछि आउँदो वर्ष खाद्यान्न अभाव चिन्ता उनलाई छ। यसअघि जिल्लाको लेकाली भेगमा पुस महिनामा बाक्लो हिमपात भएपछि माघ-फागुनमा गहुँ हुर्किसक्थ्यो। खेतबारी हरियाली हुन्थ्यो । फागुनको सुरुदेखि नै चारैतिर गहुँबालीले हरियाली हुने बुढा बताउँछन्। ‘यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो। तोरी पनि रहर लाग्दो हुन्थ्यो’ बुढाले भने, ‘यस वर्ष दशा लागेको जस्तो छ।’

सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई प्रशस्त पुग्थ्यो। तर, यस वर्ष आकाशमा देखिएको बादल पनि हेर्दा हेर्दै फाटेर जान्छ। ‘हिमाली ठाउँ भए पनि उब्जनी प्रशस्त हुन्थ्यो’ उनले भने, ‘बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ।’ हिउँदे बालीमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले सधै एकनाशको उब्जनी हुँदैन। मंसिरमा गहुँ छरेपछि देखि नै आकाशे पानीको आशामा भए पनि अहिलेसम्म पानी नपर्दा यहाँका किसान दुखी छन्। ‘आजको दिनसम्म न पानी परेको छ’ उनले भने, ‘न हिउँ परेको छ ।’

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए। ‘हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहा¥यौँ’ उनले भने, ‘कहिलेकाँही आकाशमा बादल देखिए पनि त्यसैमा फाटेर जान्छ।’ अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ। गत महिना हिमपात त भयो। तर सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल हिउँ नै परेन। पानी पनि पर्यो तर, जमिनको धुलो बसाउने गरी पनि पानी परेन। ‘पानी नपर्दा अहिले खडेरी परिरहेको छ’ बोहराले भने। अब बाली उकासिने बोहराको आशा मरिसकेको छ।

बाली उकास्न केही गरे पनि सम्भव नहुने उनको भनाइ छ। ‘फागुनको दोस्रो साता भइसक्यो, हिउँ, पानी परेको छैन’ उनले भने, ‘अब हिमपात भए पनि बाली उठ्दैन।’ उम्रेको बाली सबै सुकिसकेको उनको गुनासो छ।

योजना जुध्दा बाहिरियो ज्ञान केन्द्र

दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो। ‘कृषिले हिउँदे आलु लगाउनका लागि जमीन बाँझो छोड्नु भनेको थियो’ बुढाले भने, ‘सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमीन बाँझो छोड्यौँ।’ त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हटेको उनले बताए। त्यसपछि मंसिरमा गहुँ छरेका स्थानीय अहिले सिँचाइ नहुँदा गहुँ सुेकर पहँेलो खरजस्तै देखिएको छ।

४० क्विन्टल बीउ खेर

सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो। दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचै वडाका किसानलाई वितरण गरेको पालिकाको विवरण छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ। ‘सुर्मामा १० हेक्टर जमीनबाहेक सबै आकाशे पानीकै भरमा छ’ उनले भने, ‘नहर बनेका ठाउँमा पनि आकाशे पानी नआएरै सुकेको छ।’

जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ। डोरीमा करिब ५० रोपनी, भुरामा १० रोपनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमीनमा लगाएको बाली करिब करिब सुकिसकेको छ। हिमाली जिल्लाकै हिमाली उर्बर जमीन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने जोशीको भनाइ छ। गतवर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरिएको थियो। त्यसमा एक कट्ठा हुने ठाउँमा तीन कट्ठासम्म पनि उत्पादन भएको थियो।

यसअघिका वर्षहरूमा यहाँ स्थानीय उत्पादनले खाद्यान्न पुग्दै आएको थियो। यसपटक कृषिबालीको अवस्था हेर्दा भोकमरी हुनसक्ने जोखिम देखिएको जोशी बताउँछन्। जोशीका अनुसार सुर्मेलीको आयको स्रोत जडीबुटी थियो। त्यसैकारण करिब एक दशम कसैले खेती नै गरेनन्। ‘बीचमा आठ-दश वर्ष त कसैले खेती नै गरेनन्’ जोशी भन्छन्, ‘पछिल्लो केही वर्षयता मात्रै खेती गर्न सुरू गरेका थिए। उत्पादन पनि राम्रै भइरहेको थियो । यो वर्ष भने निकै संकट हुने देखिन्छ।’
हिमपात नभएपछि हिमालमा जडिबुटीसमेत नपाइने जोशीको भनाइ छ।

३० प्रतिशत बाली सुक्ने

कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको बताए। एघार हजार हेक्टर क्षेत्रफल जमीनमा गहुँ उत्पादन हुँदै आएकोमा यस वर्ष करिब ३० प्रतिशत उत्पादन घट्ने विष्टको अनुमान छ।

विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमीन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ । त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच-सात प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ। जिल्लाको हकमा जहिल्यै भोकमरीको अवस्था रहेको उनको भनाइ छ। रासस

प्रकाशित: १० फागुन २०७९ २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast