च्याम्पियन्स लिग : रियल परीक्षामा लिभरपुल

हिमाल प्रेस ९ फागुन २०७९ १८:१८
14
SHARES
च्याम्पियन्स लिग : रियल परीक्षामा लिभरपुल

काठमाडौँ- लिभरपुलका प्रशिक्षक योगर्न क्लपले आफ्ना खेलाडीलाई जित लय जारी राख्न आह्वान गरेका छन्। इंग्लिस प्रिमियर लिगमा यो सिजन सात खेल हारिसकेको लिभरपुल हाल आठौँ स्थानमा छ। पछिल्ला दुई खेलमा जित हात पारेपछि लिभपुलले अंक तालिकामा सुधार गरेको हो।

प्रिमियर लिगमा सम्हालिने प्रयास गर्दै गरेको लिभरपुलको ध्यान अब च्याम्पियन्स लिगमा छ। अन्तिम १६ को पहिलो लेगमा लिभरपुल मंगलबार राति रियल म्याड्रिडको सामना गर्दैछ। यही खेलअघि क्लपले आफ्ना खेलाडीलाई मजबुत प्रदर्शन गरिरहन आह्वान गरेका हुन्।

गत शनिबार न्युकासल युनाइटेडलाई हराएपछि लिभरपुल चौथो स्थानबाट सात अंकले टाढा छ। चौथो स्थानमा रहेको टोटनहमसँग २४ खेलबाट ४२ अंक छ। टोटनहमभन्दा दुई खेल कम खेलेकाले पनि लिभरपुललाई आशा छ, शीर्ष चारमा पुनरागमन गर्ने।

सरासर दुई खेल जितेपछि उठेको प्रश्न हो, के क्पलपले लिभरपुलका समस्या समाधान गरिसकेका हुन्? यो प्रश्नको धेरेथोर जवाफ मंगलबार रातिको खेलको नतिजाले दिनेछ।

लिभरपुल क्लपको नेतृत्वमा दोस्रो पटक च्याम्पियन्स लिग जित्न चाहन्छ। ६ पटक च्याम्पियन्स लिग जितिसकेको लिभरपलु क्लपको प्रशिक्षणमा यसअघि थप दुई पटक फाइनलमा पुगेको थियो। तर दुवै पटक लिभरपुललाई रियलले पराजित गर्‍यो। गएको सिजन लिभरपुललाई हराउँदा रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टी नै थिए।

च्याम्पियन्स लिगमा लिभरपुलका लागि रियल कठिन विपक्षी बन्दै आएको छ। सन् २००९ यता लिभरपुलले स्पेनिस च्याम्पियनमाथि जित दर्ता गर्न सकेको छैन।

गत सिजन एक बिन्दूमा लिभरपुल चार उपाधिनजिक थियो। तर यो लक्ष्यले आखिरमा लिभरपुललाई सफलताभन्दा बढी पीडा दियो। प्रिमियर लिगमा लिभरपुललाई च्याम्पियन म्यानचेस्टर सिटीले एक अंकले उछिन्यो भने च्याम्पियन्स लिगमा १–० को साँघुरो हार व्यहोर्‍यो। दुई घरेलु कप उपाधि जितेका लिभरपुलका खेलाडी यो सिजन शारीरिक र मानसिक रुपमा संघर्षरत छन्।

लिभरपुलका लागि च्याम्पियन्स लिग फाइनल नतिजाका कारण मात्रै बिर्सनलायकको बनेको होइन। स्टाडे डे फ्रान्स अगाडि लिभरपुल समर्थकमाथि स्थानीय फ्रेन्च प्रहरीले बल प्रयोग गरेकाले पनि फाइनल विवादले घेरियो। यसपालि उही विपक्षीलाई हराउन सके लिभरपुलले केही हदसम्म राहत महसुस गर्नेछ।

यसपालिको च्याम्पियन्स लिग फाइनल आयोजना गर्ने जिम्मा टर्कीको इस्तानबुलको एटाटर्क रंगशालाले पाएको छ। यो त्यही रंगशालामा हो जहाँ लिभरपुलले सन् २००५ मा एसी मिलानलाई हराएर च्याम्पियन्स लिग जितेको थियो। संयोगवश त्यसबेला मिलानका प्रशिक्षक एन्सिलोट्टी नै थिए। इस्तानबुलको त्यो रात फुटबल समर्थकले आजसम्म पनि बिर्सिएका छैनन्।

पहिलो हाफमै ३–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा सरासर तीन गोल फर्काएको थियो। त्यसपछि भएको पेनाल्टीमा लिभरपुल भाग्यमानी साबित भयो। लिभरपुल यो मिठो सम्झनालाई दोहोर्‍याउन चाहन्छ। लिभरपुल समर्थक आफ्नो टिमसँग इस्तानबुलको टिकट काट्ने क्षमता रहेको मान्छन्।

उनीहरुमा यस्तो आत्मविश्वास पछिल्ला दुई खेलको नतिजाका कारण पलाएको हो। फेरि ती दुवै खेलमा लिभरपुलले ‘क्लिनसिट’ राखेको थियो। लिभरपुलले गत अक्टोबरयता प्रत्येक खेलमा गोल खाएकाले क्लपले पछिल्ला दुई खेलका नतिजालाई उल्लेखनीय मानेका छन्।

‘पक्कै पनि यो सफलता उल्लेख्नीय छ। दुई खेलमा गोल नखाँदा खुसीयाली मनाउनु पर्ने बाध्यताले के पनि देखाउँछ भने, यो सिजन हामीले निकै खराब प्रदर्शन गरेका छौँ। हामीले धेरैजसो खेललाई आफ्नो नियन्त्रणमा राख्न सकेका छैनौँ,’ क्लपले भनेका छन्, ‘दुर्भाग्यवश फुटबल साइक्लिङ जस्तो खेल होइन, जहाँ एकैनाशको प्रदर्शन गर्न सकियोस्। यसकारण हामीले मेहनत गर्न छाड्नु हुँदैन।’

लिभरपुलले घरेलु लिगमा केही अनपेक्षित पराजय भोगेको छ। ब्रेन्टफोर्ड, ब्राइटन, उल्भरह्याम्पटन जस्ता टिमसँग हारेको लिभरपुलका लागि रियल चुनौती र अवसर दुवै हो। स्पेनिस च्याम्पियनको चुनौती पार लगाउन फेरि एकपल्ट डार्विन नुनेज र कोडी गाक्पोबाट गोलको अपेक्षा गरिएको छ।

क्लपले यो सिजन कुनै पनि बिन्दूमा सबै आक्रामक खेलाडीको उपयोग गर्न पाएका छैनन्। अहिले भने लुइस डियाजबाहेक सबै फरवार्ड टिममा फर्किइसकेका छन्। यसकारण पनि लिभरपुल समर्थकलाई आशावादी बनेका हुन्।

प्रकाशित: ९ फागुन २०७९ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast