मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब

हिमाल प्रेस ८ फागुन २०७९ २०:०४
6
SHARES
मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब

भद्रपुर- प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब प्रवेश गरेको छ। सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो।

चर्च ब्वाइजको जितका लागि आशिस चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे। सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ तथा ६० औँ मिनेटमा गोल गरे। किपरले पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए।

पहिलो गोलपछि आक्रामक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल गर्यो। दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरे। खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए। लगत्तै ६० औँ मिनेटमा चौधरीले अर्को गोल थपे। मैदानबाट बल अघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो। खेलको अधिकांश समय चर्च ब्वाइजले पुलिस क्लबलाई दबाबमा पारेको थियो। खेल अवधिभर पुलिसको प्रदर्शन कमजोर रह्यो।

चर्च ब्वाइजले राम्रो प्रदर्शन गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन । पहिलो खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिस चौधरी घोषित भए। उनले नगद २० हजार पुरस्कार पाए। पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो।

जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ। मंगलबारको पहिलो क्वाटर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए। गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन्। उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकको भनाइ छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइनेछ। प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रूपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ।

प्रकाशित: ८ फागुन २०७९ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast