काठमाडौँ- महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ आज(सोमबार) हुँदैछ। बिहान ११ बजेपछि पशुपति प्रांगणबाट बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिँदैछ। शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ।
भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
साधुसन्तको दक्षिणाका लागि ८ देखि १० लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ।
यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा संकलन भएको भेटीको गणना सुरु भएको छ ।