काठमाडौँ- रोजगार बजारमा सूचना प्रविधि (आईटी) तर्फका जनशक्तिको माग बढेको छ। घरमै बसेर देशविदेशमा काम गर्न सकिने भएकाले यस विषयमा विद्यार्थी आकर्षित पनि छन्। त्यसैले नेपालका केही विश्वविद्यालयले सँगै स्नातक तहमा सूचना प्रविधि शिक्षाका नयाँनयाँ पाठ्यक्रम लागू गरेका छन्। तर पछिल्लो नेपालका कलेजमा सूचना प्रविधि पढ्ने विद्यार्थीको संख्या कोटाअनुसार पूरा हुन सकेको छैन।
बजारको माग के छ भन्ने अध्ययन नै नगरी धेरैभन्दा धेरै कलेजलाई सम्बन्धन दिएका कोटा पूरा हुन नसकेको जानकारहरू बताउँछन्।
नेपाली विश्वविद्यालयमा बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी), बीआईटी (ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी), बीआईएम (ब्याचलर इन इनफर्मेसन म्यानेजमेन्ट), बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) लगायतका विषय अध्यापन गराइरहेका छन्। यी सबै विषयमा विद्यार्थी भर्ना नभएर निर्धारण गरिएको कोटा खाली हुने गरेको कलेजहरूले जनाएका छन्।
विज्ञान प्रविधिको विकाससँगै संसारभर काम गर्ने तरिका पनि प्रविधिमैत्री हुँदै गएको छ। उत्पादन, वितरण तथा सेवाको प्रक्रियामा प्रविधिले ठूलो परिवर्तन ल्याएको छ। विश्वविद्यालयहरूले यसै तथ्यलाई ध्यानमा राखेर पाठ्यक्रम बनाएका छन्।
त्रिभुवन विश्वविद्यालयले १२० वटा आंगिक र सम्बन्धन प्राप्त कलेजलाई बीसीए सञ्चालन गर्न अनुमति दियो। एउटा कलेजलाई ३५ वटा कोटा निर्धारण गरिए पनि अधिकांश कलेजमा आधा मात्र विद्यार्थी भर्ना भएका छन्। अन्य सूचना प्रविधितर्फका विषयमा पनि कलेजले कोटाअनुसारको विद्यार्थी पाउन सकेका छैनन्।
समृद्धि कलेज भक्तपुरका प्रिन्सिपल सन्दीप श्रेष्ठले कक्षा १२ उत्तीर्ण गरेका अधिकांश विद्यार्थी विदेश अध्ययनमा जाने गरेकाले कलेजमा विद्यार्थीको संख्या घटेको बताए। उनले भने, ‘विद्यार्थीको संख्या घटेसँगै अघिल्ला वर्षमा विद्यार्थी मेरिटका आधारमा भर्ना हुन्थे। यसपटक त्यस्तो अवस्था छैन। सीएसआईटीमा विद्यार्थी भए पनि बीसीएमा आकर्षण कम छ।’
बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी)
बीएससी सीएसआईटी चारवर्षे सेमेस्टर प्रणालीमा अध्यापन हुने प्राविधिक कोर्स हो। कक्षा १२ मा भौतिकशास्त्र, गणित र रसायनशास्त्र विषय लिएर सी ग्रेड हासिल गरेका विद्यार्थीले यो विषय पढ्न सक्छन्।
यो कोर्समा कम्प्युटर साइन्स र सूचना प्रविधिका विषयमा आधारभूत सैद्धान्तिक ज्ञान, सफ्टवेयर निर्माण तथा सञ्चालन र वेबसाइट, मोबाइल एप्लिकेसनका विषयमा अध्ययन गरिन्छ। कम्प्युटरसँग सम्बन्धित धेरै समस्या र इन्टरनेट सुरक्षासम्बन्धी आधारभूत ज्ञान पाइने भएकाले यो विषय विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको स्नातक तह चारवर्षे बीएससी सीएसआईटी विषय अध्यापन हुने नेपालभर ६० वटा आगिंक र सम्बन्धन प्राप्त कलेज छन्। यी कलेजमा वेबसाइट निर्माण तथा सञ्चालन, मोबाइल एप्लिकेसन निर्माण तथा सञ्चालन, सफ्टवेयर निर्माण तथा सञ्चालन गर्न सिकाइन्छ।
यस विषय अध्ययन गर्न सरकारी कलेजमा ३ देखि ५ लाखसम्म लाग्छ भने निजी शिक्षण संस्थाले ६ देखि १० लाखसम्म लिने गरेका छन्। पछिल्लो समयमा सरकारी तथा निजी क्षेत्रमा सफ्टवेयरको प्रयोग गर्ने कार्य बढेसँगै यसतर्फका जनशक्तिको माग बढ्दो छ।
त्रिवि सीएसआईटी विभागका लेक्चरर रामकृष्ण दाहालका अनुसार वेबसाइट निर्माण गर्ने र सूचना प्रविधिको सहायतामार्फत काम गर्ने अभ्यास बढेको छ। देशभित्रै बसेर पनि विदेशका सूचना प्रविधि क्षेत्रमा काम गरेर मनग्य आम्दानी गर्ने अवसरको विकास हुँदै गएको छ। स्वरोजगार वा रोजगार दुवै दृष्टिकोणले बीएससी सिएसआईटी अध्ययनको महत्त्व बढ्दै गएको छ।
बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन)
बीसीए त्रिभुवन विश्वविद्यालयले निर्माण गरेको स्नातक तहको ८ सेमेस्टरमा पढाइ हुने ४ वर्षे कोर्स हो। मेगा कलेजका बीसीए विभागका प्रमुख धर्मराज पौडेलका अनुसार यो कोर्स कक्षा ११ र १२ मा आईटी अध्ययन नगरेका विद्यार्थीले पनि अध्ययन गर्न पाउने गरी निर्माण गरिएको हो।
कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गरेर न्यूनतम डी ग्रेड ल्याएर उत्तीर्ण भएका विद्यार्थीले यो विषय अध्ययन गर्न सक्छन्। यो कोर्सको अध्ययनमा आधारभूत रूपमा कम्प्युटर एप्लिकेसन र सफ्टवेयर डेभलपमेन्टमा केन्द्रित गरिन्छ। पौडेलका अनुसार यो कोर्सको मुख्य विशेषता विद्यार्थीले ८ सेमेस्टरको अवधिमा तीन वटा प्रोजेक्ट आफ्नो क्षमता र रुचिका आधारमा छनोट गर्न सक्छ। जसमा मोबाइल एप्लिकेसन, कम्प्युटर एप्लिकेसन, सफ्टवेयर डेभलेपमेन्ट, वेब पेज लगायतका विषय अध्यापन हुन्छन्।
बीसीए अध्ययनपछि सिस्टम इन्जिनियर, सफ्टवेयर टेस्टर, जुनियर प्रोग्रामर, वेब डेभलपर, सिस्टम एडमिनिस्ट्रेटर सफ्टवेयर डेभलपरका रुपमा सरकारी, गैरसरकारी क्षेत्रमा काम वा स्वयंले उद्यमको सिर्जना गर्न सकिने उनको भनाइ छ।
बीसीआईएस (ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन)
बीसीआईएस स्नातक तहका लागि पोखरा विश्वविद्यालयले तयार गरेको कोर्स हो। चार वर्षमा अध्ययन गरिने यो कोर्स जुनसुकै विषयमा कक्षा ११ र १२ अध्ययन गरेर ‘सी प्लस’ ग्रेडमा उत्तीर्ण भएको विद्यार्थीले पनि पढ्न सक्छन्। एपेक्स कलेज काठमाडौँ बीसीआइएस विषयका प्रमुख उज्जवल शाक्यले सो कोर्समा आईटी र म्यानेजमेन्टका विषय मिश्रण गरेर तयार पारिएको बताए। जसले गर्दा सो कोर्स पढ्ने विद्यार्थीले दुवै आईटी र म्यानेजमेन्ट दुवै क्षेत्रको अध्ययन गर्ने उनको भनाइ छ।
शाक्यका अनुसार बीसीआईएसको कोर्समा विद्यार्थीले व्यवस्थापनअन्तर्गत पर्ने सबै विषय र आईटीअन्तर्गत पर्ने कार्यक्रम, प्रविधि, डाटाबेस, एप्लिकेसन, सफ्टवेयरलगायतका विषय पढ्छन्। यो कोर्स अध्ययन गरिसकेपछि विद्यार्थीले आफूलाई आईटी वा म्यानेजमेन्ट दुवैतर्फ वा कुनै एक क्षेत्र रोजेर अगाडि बढ्न सक्छन्। यो विषयको अध्ययनपछि विद्यार्थीले प्रणाली विश्लेषण, सूचना विश्लेषण, डाटाबेस म्यानेजर र नेटवर्क एड्मिन्स्ट्रेटरलगायतका क्षेत्रमा आफ्नो करिअर बनाउन सक्छन्।
साथै विद्यार्थीले स्नातकोत्तर तहमा म्यानेजमेन्ट वा आईटी विषयलाई रोजेर अध्ययन अगाडि बढाउन सक्छन्। यो विषय अध्ययन गर्न कलेजले चरा वर्षमा ९ लाख रुपैयाँ शुल्क लिने गरेको छ।
बीआईटी (ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी)
बीआईटी कक्षा ११ र १२ मध्ये कुनै एक कक्षामा गणित विषय लिएर उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्छन् । पूर्वाञ्चल विश्वविद्यालयले डी प्लस ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न सक्ने व्यवस्था गरेको छ। यो कोर्स तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डाटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माणलगायतका विषय अध्यापन हुन्छ।
यो विषय अध्ययनपछि विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्ट सञ्चालन गर्न सक्षम हुन्छन्।
विश्वविद्यालयहरूले नयाँनयाँ कोर्स लागू गरे पनि विद्यार्थीलाई परामर्श दिन नसक्दा चाहेर पनि कतिपय विद्यार्थीले आईटी पढ्न पाएका छैनन्। त्यसैले नयाँनयाँ कोर्स लागू गर्दा विद्यार्थीलाई पनि परामर्श दिन कन्जुस्याइँ गर्न नहुने अभिभावकहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हीराबहादुर महर्जन विश्वविद्यालयहरूले अध्ययन नै नगरी सम्बन्धन दिएका कारण कोटाअनुसार विद्यार्थी नपाएको बताउँछन्। उनी भन्छन्, ‘ हचुवाको फरमा आईटीको जनशक्ति चाहिन्छ भन्दैमा धेरै कलेजलाई सम्बन्धन दिएका कारण समस्या आएको हो।’
विश्वविद्यालयले कुन विषयमा कति विद्यार्थी भर्ना गर्ने भन्ने अध्ययन नगरी सम्बन्धन दिँदै आएको उनी बताउँछन्। महर्जन भन्छन्, ‘विश्वविद्यालयले यस्ता विषयमा निर्णय गर्दा विचार पुर्याउनुपर्छ।’