बाथले जोर्नीमात्रै नभएर सबै अंगमा हानि पुर्याउन सक्छ। यसबाट मृत्यु हुने सम्भावना नभए पनि बाथले गर्दा शरीरको हड्डी बाङ्गो हुन्छ। मुख, आँखा, ढाड शरीरका कुनै पनि अंगमा हुन सक्छ। आँखा सुख्खा हुनु पनि बाथरोग नै हो। जे खाँदा पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुख्खा हुनु पनि बाथ हो। धेरैलाई बाथ जोर्नीहरूमा मात्र बाथ हुन्छ भन्ने छ। तर त्यो सत्य होइन। बाथ सबै मानिसलाई एकै खालको नभएर भिन्न–भिन्न किसिमको हुन्छ।
बाथरोगको उपचारमा चिकित्सकले बिरामी जाँच्नु र औषधि दिनुमात्र पर्याप्त हुँदैन। यसबाट भएका हाडजोर्नी र छालाका समस्यामात्र निको पारेर पनि हुँदैन। यो रोगले अन्य रोग र समस्या निम्त्याउन सक्छ। त्यसैले बाथरोग भएमा यसको विशेषज्ञबाटै उपचार गराउनुपर्छ।
बाथले कुनै एउटामात्रै रोग नभएर विभिन्न रोगको संकलनलाई बुझाउँछ। विशेष गरी बाथ ‘अटो इम्युन डिजिज’मा पर्छ । गठिया, लुपस, मेरुदण्डको बाथ, स्पनेला आदि। अर्को भनेको मेरुदण्ड खिइने बाथ, कुरकुरे हड्डी खिइने बाथ हो। अर्को मांसपेसीको बाथ हुन्छ, मेटाबोलिक डिजिज। एक सयभन्दा बढी किसिमका बाथ हुन्छन्।
बाथका लक्षण
बाथ सयौँ प्रकारको हुने भएकाले यसका लक्षण पनि भिन्नभिन्न हुन्छन्। तर सामान्य लक्षण भनेको जोर्नी दुखाइ नै हो। जुन ९० प्रतिशत बाथरोगीमा हुन्छ। जोर्नी दुखाइमा हातखुट्टाका साना– ठूला जोर्नी सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि वा दिन ढल्दै गइसकेपछि सहज हुने आदि बाथका मुख्य लक्षण हुन्।
छालामा विभिन्न प्रकारका डाबर आउने, घाममा जाँदा पोल्ने, घाउ हुने, निको नहुने घाउ बारम्बार आइरहने हुन्छ। कसैकसैलाई चायापोतो पनि आउने गर्छ। चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, नीलो वा पहेँलो हुने पनि बाथकै लक्षण हो।
मेरुदण्ड बाथमा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाइ सुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने मेरुदण्डको बाथ हो। मांसपेसीको बाथको कुरा गर्दा मांसपेसी जताजता छ, त्यहाँत्यहाँ दुख्ने, मांसपेसी कटकट खाने, बिहान उठेदेखि जाँगर नचल्ने, मासु अरट्ठ भएर बसेको जस्तो हुने, बारम्बार टाउको दुख्ने यस्तो प्रकारको लक्षण हुन सक्छन्।
बाथले कुनै पनि अंग समात्न सक्ने हुनाले आँखा समात्यो भने आँखा रातो हुने, दुख्ने, आँखा सुख्खा हुनेलगायत हुन सक्छ। मुख सुख्खा हुने, बारम्बार प्यास लाग्ने, किड्नीमा असर गरेमा पिसाबमा प्रोटिन जाने हुन सक्छ। त्यस्तै रगत सञ्चालनमा असर पुर्याए ‘बास्कोलाइटिस’ हुन सक्छ । बास्कोलाइटिस भयो भने फरक शरीरका विभिन्न अंकले राम्ररी काम नगर्न सक्छन्। हातखुट्टा झम्झमाउने, पोल्ने, नसासम्बन्धी समस्या हुने, फोक्सोमा समस्या देखियो भने लामो समयसम्म खोकी लाग्ने, स्वाँस्वाँ हुने, दम बढ्ने हुन्छ। मुटुमा पानी जमेमा छाती दुख्ने, दम हुने, खुट्टा सुन्निने जस्ता विभिन्न लक्षण देखिन्छन्।
बाथरोगीले चिसोबाट जोगिनुपर्छ। जाडोयाममा वा चिसो वातावरणमा बाथका लक्षण बढ्छन्। जोेर्नी दुखाइ बढ्छ, हातको नीलोपन बढ्छ, मेरुदण्डको अरट्ठोपन बढ्छ। त्यसैले चिसोबाट जोगिनुपर्छ। धूम्रपान गर्नु हुँदैन। सुर्तीजन्य पदार्थ प्रयोग गर्नु हुँदैन। लुपसका बिरामी घामको किरणबाट जोगिनुपर्छ। बाथअनुसार उपचार र केके बार्नुपर्ने हो ती कुरामा ध्यान दिनुपर्छ।
बाथ विभिन्न कारणले हुन सक्छ। गठिया, मेरुदण्डको लुपस बाथ अटो इम्युनिटीको कारणले हुने गर्छ। शरीरमा जुन रोग प्रतिरोधात्मक क्षमता हुन्छ, त्यो क्षमतामा गडबढी आउँदा शरीरका कोशिकाहरूले आफ्नै अंगलाई बिगार्न थाल्छन्। बाथबाट जोगिन सकिँदैन तर भइसकेपछि केही सावधानी अपनाउन सकिन्छ। बाथ वंशानुगत हुँदैन।
बाथ जुनसुकै उमेरकालाई हुन सक्छ। गर्भमा भएको बच्चादेखि वृद्धवृद्धासम्मलाई हुनसक्छ। बच्चाहरूलाई पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपस बढी हुने गर्छ। ४० कटिसकेकालाई प्रायः जसो हड्डी खिइने बाथ देखिन्छ। गठिया बाथ युवावस्थामा देखिन्छ। त्यस्तै महिलाहरूमा पनि बढी देखिन्छ। ४० कटिसकेका महिलालाई यसले बढी दुःख दिने गर्छ। ३५ वा ४० भन्दा माथिको पुरुषमा युरिक एसिडको बाथ देखिने गर्छ।
बाथ हुनै नदिन त गाह्रो छ। किनभने यो अटो इम्युन डिजिज हो। तर बाथ भइसकेका बिरामीले यसलाई बढ्नबाट चाहिँ रोक्न सक्छन्। त्यसका लागि चिसोबाट जोगिने, चुरोटको धुवाँबाट जोगिने, थाहा पाए समयमै उपचार सुरु गर्नुपर्छ। उपचार सुरु गरिसकेपछि त्यसलाई निरन्तरता दिनुपर्छ।
बाथको सबैभन्दा जटिल रूप यसले सबै भित्री अंग बिगार्न सक्ने भएकाले यतातिर ध्यान दिन आवश्यक छ। समयमै विशेषज्ञबाट सही उपचार गरी यस रोगबाट जोगिन सकिन्छ। बाथका रोगीले चिसोबाट जोगिनुपर्छ। त्यसैले जाडोमा घाम लागिसकेपछि व्यायाम गर्नु राम्रो हुन्छ। व्यायाम, अभ्यास बाथरोगीको लागि धेरै नै राम्रो हो। तर चिसोबाट बचेर। धेरै चिसो भइरहेको बेलामा बाहिर नजाने। जानै परेमा पञ्जा, मोजा, बाक्लो लुगा लगाएर निस्किनुपर्छ।
युरिक एसिडको बाथ अथवा गाउट प्रायःजसो पुरुषमा हुन्छ। ४० वर्ष कटेका पुरुषमा यो बढी देखिने गर्छ। हिजोआज ४० वर्षमुनिका पुरुषमा पनि यो समस्या देखिन थालेको छ। कतिपयलाई त २० वर्षको उमेरबाटै सुरु हुन्छ।
त्यसो हुनुको मुख्य कारण खानपिन र व्यायामको अभाव हो। जंकफुड, चिसो पेय पदार्थ अहिले खानपिनको हिस्सा नै बनेका छन्। तिनकै कारण युरिक एसिडको बाथ बढी देखिन्छ।
व्यस्त दिनचर्याका कारण धेरैले व्यायाम गर्दैनन्। त्यस कारणले पनि युरिक एसिडको बाथ हुने गर्छ। त्यसका लागि हामी आफ्नो जीवनशैली सुधार्न जरुरी छ। स्वस्थ्यकर खानेकुरा खानुपर्छ। मद्यपान, धूम्रपान गर्नु हुँदैन। जंकफुड, चिसो पेय पदार्थ आदि कम खानुपर्छ। नियमित अभ्यास गर्नुपर्छ। पानी प्रशस्त खाएको राम्रो। कम्तीमा दिनको तीन लिटर खानुपर्छ। त्यस्तै सागतरकारी र दूध बढी खानुपर्छ।
युरिक एसिड बाथ मधुमेह, उच्च रक्तचाप, मोटोपनलगायत रोगसँग जोडिने गर्छ। त्यसैले खानपिन, व्यायाम आदिमा ध्यान दिएर यसलाई बढ्नबाट रोक्नुपर्छ। नेपालमा ३० प्रतिशतलाई कुनै न कुनै हाडजोर्नी तथा मांसपेसीको समस्या हुने गर्छ। लगभग ३० लाख नेपालीलाई बाथरोग हुन सक्ने सम्भावना छ।
सही समयमा बाथको पहिचान गरी त्यसको उपचार गर्न सकिए बाथ निको पनि हुन सक्छ। गठिया बाथ र मेरुदण्डको बाथको उपचार तीनदेखि छ महिनाभित्रमा गर्न सकियो भने निको हुन सक्ने सम्भावना ३० प्रतिशतसम्म रहन्छ।चिकित्सकको सल्लाहअनुसार निरन्तर रूपमा औषधि खाइरहनुपर्छ। सुरुवाती चरणमा थाहा पाउन सके एक वर्षभित्रमा बाथ निको हुन सक्छ। त्यो भनेको शरीरबाट नै बाथ गायब हुने होइन, तर बिनाऔषधि नियन्त्रणमा राख्न सकिन्छ। [नकर्मी बाथरोग विशेषज्ञ हुन्।]
न्युज एजेन्सी नेपालको सहयोगमा