काठमाडौँ- इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले शीर्षस्थानको नापोलीसँगको दूरी १५ अंकमा झारेको छ। शनिबार राति उडिनेजेलाई ३–१ ले पराजित गरेपछि इन्टरको दोस्रो स्थानमाथिको पकड पनि कायम रह्यो। उपाधितर्फ लम्किरहेको नापोलीको २३ खेलबाट ६२ र इन्टरको ४७ अंक छ।
इन्टरलाई सहरी प्रतिद्वन्द्वी एसी मिलानले पछ्याइरहेको छ। शनिबार नै मोन्जामाथि १–० को साँघुरो जित दर्ता गरेको मिलानको ४४ अंक छ। २२–२२ खेल खेलेका एटलान्टा, एएस रोमा र लाजियो त्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्।
आइतबार राति लेसेलाई हराए एटलान्टाले मिलानसँगका अंक बराबरी गर्नेछ। आइतबार राति नै रोमा र लाजियोले पनि आआफ्ना खेलमा हेल्लास भेरोना र सालेरनिटानाको सामना गर्ने तालिका छ।
सान सिरोमा इन्टरलाई जित दिलाउन रामेलु लुकाकु, हेनरिक मिखितार्यन र लाउटारो मार्टिनेजले एक–एक् गोल गरेका थिए। उडिनेजेबाट सान्डी लोभ्रिचले एक गोल फर्काए।
‘उडिनेजे शारीरिक रुपमा बलियो टिम हो। यो टिममा प्रावधिक रुपमा निपुण धेरै खेलाडीको संख्या धेरै छ। यसकारण उडिनेजेसँग खेल्न सजिलो हुँदैन। यसअघिको भेटको नतिजाले पनि यो कुरा पुष्टि भइसकेको छ। यस्तोमा यो जित हाम्रा लागि महत्त्वपूर्ण छ,’ इन्टरका प्रशिक्षक सिमोने इन्जाघीले भने। उडिनेजेले आफ्नो मैदानमा इन्टरलाई ३–१ कै अन्तरमा पराजित गरेको थियो।
लुकाकुले २० औँ मिनेटमा इन्टरलाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए। डेन्जेल डमफ्राइसलाई उडिनेजेका वालेसले पेनाल्टी बक्समा लडाएपछि इन्टरले पेनाल्टीको अवसर पाएको थियो।
लुकाकुको पेनाल्टी प्रहार उडिनेजेका गोलरक्षक माको सिल्भेस्ट्रीले रोकेका थिए। तर रिबाउन्डमा आएको बल प्रहार गर्नबाट लुकाकुलाई बाधा पु¥याएपछि रेफ्रीले बेल्जियन स्ट्राइकरलाई दोस्रो पटक पेनाल्टी प्रहार गर्ने मौका दिए। जसलाई लुकाकुले गोलमा परिणत गरे।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा लोभ्रिचले गोल गरेपछि उडिनेजे खेलमा फर्कियो। त्यसपछि इन्टर उडिनेजेको रक्षापंक्ति तोड्न असफल भइरह्यो। एडिन जेकोले कयौँ अवसर खेर फाले। तर ७३ औँ मिनेटमा मिखितार्यनले गोल गरेपछि इन्टर समर्थकले राहत महसुस गरेका थिए। खेलको उत्तरार्द्धमा सब्स्टिच्युट मार्टिनेजले गोल गरेपछि इन्टर ३–१ ले विजयी बन्यो।
यो जितसँगै इन्टरले लिगमा आफ्नो अपराजित शृंखलालाई चौथो खेलसम्म पुर्याएको छ। आउँदो बुधबार राति च्याम्पियन्स लिगमा एएफसी पोर्टोसँग भिड्न लागेको इन्टरलाई यो जितले उत्साहित बनाएको मिखितार्यनको भनाइ छ।
‘घरेलु मैदानमा पाएको यो जितले पक्कै पनि हामीलाई ऊर्जा दिन्छ। पोर्टो हाम्रा लागि कठिन विपक्षी हो। उसको सबल पक्षबारे हामी जानकार छौँ। यो खेलका लागि हामी हरेक हिसाबले तयार हुनुपर्छ,’ मिखितार्यनले भने।
जनवरी र फेब्रुअरीमा लगातार तीन खेल हारेको मिलानले सिरी ‘ए’ मा मोन्जालाई हराएर बलियो लयमा फर्कन खोजेको सन्देश दिएको छ। जुनियर मेसियासले ३१ औँ मिनेटमा गोल गरेपछि मिलानले लिगमा सरासर दोस्रो जित दर्ता गरेको हो। सन् २०२३ लागेपछि एक्कासी खस्किएको मिलानका लागि मोन्जामाथिको जित यो वर्षको तेस्रो जित मात्र हो।
‘गोल अन्तर बढाउन हामीले पर्याप्त मौका पाएका थियौँ। तर दुर्भाग्यवश गोल थप्न सकेनौँ। कठिन समयमा तीन अंक बटुल्न सकेकोमा हामी खुसी हुनुपर्छ। अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन हामीले सकेको मेहनत गर्नुपर्छ,’ गत सिजन मिलानलाई लिग च्याम्पियन बनाएका स्टेफानो पियोलीले भने।
मिलानले गत साता च्याम्पियन्स लिगमा टोटनहमलाई पराजित गरेको थियो। जारी सिजनको च्याम्पियन्स लिगको दाबेदार नमानिएको मिलान सिरी ‘ए’ को शीर्ष चारभित्र टिक्न संघर्षरत छ।
मिलान सहर भएको लोम्बार्डी क्षेत्रकै भएकाले मोन्जालाई एसी मिलानको प्रतिद्वन्द्वी मानिन्छ। मिलानसँगको हारसँगै मोन्जाको आठ खेलको जित शृंखला अन्त्य भयो।