काठमाडौँ- निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ। सातौँ निर्वाचन दिवसका अवसरमा निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन सो मस्यौदा पेस गर्न लागिएको हो।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताएका छन्।
‘फागुन २५ गते र चैत ३ गते हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुनेछन्,’ उनले भने, ‘निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो। लोकतान्त्रिक प्रणाली अन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ।’
उनले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानुन तथा व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिबद्धता जनाए।
उनले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताए। न्युज एजेन्सी नेपालबाट