पृथ्वीको सृष्टिदेखि नै समय अनवरत रूपमा अघि बढिरहेको छ। समयलाई कसैले रोक्न सक्दैन। समय जति बलवान् अरू केही, कोही छैन। समयले जस्तोसुकै घाउ पनि बिस्तारै निको पार्न सक्छ। त्यसैले समयको महिमा अपरम्पार छ। समयले कसैलाई पर्खँदैन भन्ने उक्ति हरेक समाजमा व्याप्त छ। समयको महत्त्व बुझी कार्य गर्नेहरू जिन्दगीमा सफल हुन्छन् भने समयलाई चिन्न नसकेकाहरूले जिन्दगीमा ठूलो झापड खाइरहेका उदाहरण पनि छन्। समयसँग मानवसहित चराचर जगतको जीवन चलिरहेको हुन्छ।
समयको प्रवाहसँगै धर्तीमा अनेकन् थरीका दिव्यपुरुष वा महिलाको जन्म भई तिनीहरूको अतुलनीय योगदानबाट मानव जाति लाभान्वित भएका छन्। समयकै खेलअनुसार पृथ्वीमा अनेकन् प्रकारका तानाशाह जन्मेर मानव जगतलाई कलंकित पारिरहेका छन्। समय कति बलवान् छ भन्नेबारे केही उदाहरण हेरौँ-
हेले सेलासी इथियोपियाका सम्राट् थिए। अफ्रिकी महादेशको एक प्रमुख देशका बादशाहे सेलासीलाई सम्राट्हरूको पनि सम्राट् भनिन्थ्यो। लामै समय राजकाज गरेका थिए उनले। सन् १९७४ मा सेलासीलाई आफ्नै प्रधानमन्त्रीले सैन्य कु गरी पदच्युत गरिदिए। परिवारका सदस्य मारिए। उनी नजरबन्दमा परे। उनको समय खराब रहेछ। अन्ततोगत्वा एक दिन उनलाई सिंह राख्ने खोरमा थुनेर राजधानी अदिस अबाबा सहर घुमाइयो। त्यत्रा सम्राट् जनतासामु निरीह भई उपहासको पात्र बन्नुपर्यो।
अर्काे उदाहरण- पच्चीस सय वर्षदेखि अनवरत शासन गर्दै आएको इरानको पहलवी राजसंस्थाका राजा रेजा पहल्वी सन् १९७९ मा अयोतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा भएको जनविद्रोहको कारण देश छाडेर भाग्नुपर्यो। विभिन्न मुलुकमा पुगे तापनि कसैले शरण नदिएका कारण जिन्दगीको अन्तिम दिन उनका लागि निकै कहालीलाग्दो भएको थियो।
राज्यको शासनसत्तामा रहँदा रजगज गरेका शाहलाई कसैले स्वागत गरेन। न त बस्न दियो। त्यत्रो पर्सियन ‘इम्पाएर’ का शासक अन्तमा मृत्युवरण गर्दा लास गाड्ने ठाउँसम्म पनि कुनै मुलुकले नदिएर निकै समस्या परेको थियो। सन् १९८० जुलाई २७ मा निधन भएका शाहको शव बडो मुस्किलले कायरोमा* समाधिस्थ गरिएको थियो।
त्यस्तै अर्काे उदाहरण छ, फिलिपिन्सका तानाशाह शासक फर्डिनान्ड मार्काेसको। उनी निकै कडा शासकमा गनिन्छन्। उनी लामो समयसम्म राष्ट्रपति भए। तर जनताले विद्रोह गरेपछि उनी आफ्नो देश छाडेर भाग्न पर्यो। शरण पाउन निकै मुस्किल पर्यो। विदेशमै गतिहीन अवस्थामा उनले मृत्युवरण गरेका थिए।
केही वर्षअगाडि पनि इराकका तानाशाह सद्दाम हुसेन र लिबियाका तानाशाह कर्नेल गद्दाफीको पनि समयकै कारण निकै दुःखद अन्त्य हुन पुग्यो। युगान्डाका राक्षसरूपी तानाशाह इदी अमिन तथा सेन्ट्रल अफ्रिकन रिपब्लिकका राष्ट्रपति जिन बेदेल बोकासाले स्वयम्लाई सम्राट् घोषणा गरी अत्याचारको सिमाना नाघेका थिए। तर समयको अगाडि केही लागेन। उनीहरू अस्ताए।
समयलाई चिन्नुपर्छ। समय अति महत्त्वपूर्ण हुन्छ। यही समयका बारेमा केही चर्चा गर्ने जमर्को गर्दैछु।
कामकाजको सिलसिलामा मैले विश्वका धेरै मुलुक घुमफिर गर्ने अवसर पाएँ। विकसित, अविकसित वा विकासोन्मुख मुलुकमा पनि पुगेँ। सबै देशको आआफ्नै खालका परिवेश छन्। अधिकांश देश समयअनुसार चलेका छन्।
विकसित मुलुकमा जनता बढी शिक्षित हुन्छन्। त्यसैले समयका बारेमा विशेष चनाखो भएका हुन् कि! त्यस्तै विकासोन्मुख मुलुकका जनतामा शिक्षा तथा सचेतनाको कमीले गर्दा समयको ख्याल नगर्ने प्रवृत्ति बढी छ।
अन्य देशका नागरिकभन्दा जापानीहरू समय पालनामा अति सचेत हुन्छन्। जापानमा मानिसको जीवनशैली तथा अन्य सबै कुराहरू निर्दिष्ट समयअनुसार चल्छ। जापानमा परिवार, मित्रहरू, कम्पनीहरू वा सरकारी निकायहरू जता होस् समयलाई अति पालन गरिन्छ।
केही दिनअघि जापानी मन्त्रिपरिषद्का एक जना मन्त्रीले क्याबिनेट बैठकमा तीन मिनेट ढिलो पुगेका कारण पदबाट राजीनामा दिएका थिए। त्यहाँ निर्दिष्ट समयभन्दा केही समय ढिलो हुने भयो भने पहिल्यै जनाउ दिने चलन छ। यसो गर्दा पर्खिराखेका व्यक्तिले समय सदुपयोग गरी अन्य कार्य गर्न सक्दछ।
जापानमा बच्चैदेखि समयको महत्त्वबारे सिकाइन्छ। समयको ख्याल नगर्ने व्यक्तिसँग जापानी रिसाउँछन्। त्यस्तै परे सधैँका लागि सम्बन्ध तोड्न पनि पछि पर्दैनन्। मैले एउटा लेख पढेको थिएँ। कुनै समयमा युरोपमा दुई देशबीच युद्ध भएको थियो। फ्रेन्च सैनिकहरू युद्धमैदानमा ६ मिनेट ढिला पुग्दा पराजित हुनुपरेको थियो। यसो विचार गर्दा ६ मिनेट लामो समय हुँदै होइन। तर युद्धमा यति छोटो समयको निकै ठूलो महत्त्व हुँदो रहेछ।
एउटा अर्को अनुभव – शिष्टाचार महापालको पदमा कार्यरत रहँदा अगस्ट २००९ मा नेपालका प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा गएका थिए। नयाँदिल्लीको एक भव्य होटलमा हाम्रा प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि भारतका गृहमन्त्री आए। घडी हेर्दा निर्दिष्ट समयभन्दा १ मिनेट जति ढिलो भएको थियो। ती मन्त्रीले निकै आतंकित भएजसरी ‘ओहो! म त १ मिनेट ढिला भएको छु’ भनेर हस्याङफस्याङ गर्दै लिफ्ट चढेको दृश्य मेरो आँखासामु आइरहन्छ।
अब हाम्रो आफ्नै परिवेशको कुरा गराैँ। नेपालमा समयको ख्याल गरिँदैन। नेपाली समय भनेको निर्दिष्ट समयभन्दा ढिला हुनुलाई लिइन्छ। चाहे त्यो मिनेट होस् वा घण्टामा। जापानी मित्रले हामीलाई गिज्याउने एउटा मुख्य कारण समयको पालना नगर्नु पनि हो। नेपालीहरू समयमा आउँदैनन्। ढिला आएर पनि सरी भन्न जान्दैनन्। ढिला हुने भए उपयुक्त माध्यमबाट खबर गर्नुपर्छ भन्ने बानी धेरै कममा मात्र देखिन्छ।
सबै नेपालीले समयको ख्याल राख्नु जरुरी छ। समयको ख्याल नराख्दा क्षति हुन सक्छ। घरपरिवार वा समाजमा जहाँ पनि समयलाई महत्त्व दिई ख्याल राखिनुपर्छ। यसो भएमा समाजमा राम्रो प्रभाव पर्छ। काम पनि राम्ररी सम्पन्न हुन्छ।
म ठिक १० बजे होटलमा पुगेँ। कार्यक्रमस्थलमा पुग्दा कोही पनि थिएन। एकछिन त अकमक्क परेँ। केही गल्ती भयो कि भनेर फेरि निमन्त्रणा कार्ड हेरेँ। सबै ठिक छ।
लामो समय जापानमा काम गर्दा मलाई पनि जापानी समयको बानी परिसक्यो। कुनै कार्यक्रम वा ‘एप्वाइन्टमेन्ट’मा जाँदा म समयमै पुग्छु। कुनै कारणले ढिला हुने भएमा समयमै खबर गर्दछु। यो कुनै ठूलो कुरा पनि हैन। सामान्य एउटा कलबाट हुने काम हो। तर खै धेरै नेपालीमा यस्तो बानी अझै विकास भएको छैन।
केही समयअगाडि एउटा नेपाली कम्पनीको कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा प्राप्त भयो। कार्डमा समय ठिक बिहानको १० बजे र स्थान याक एन्ड यती होटल लेखिएको थियो।
म ठिक १० बजे होटलमा पुगेँ। कार्यक्रमस्थलमा पुग्दा कोही पनि थिएन। एकछिन त अकमक्क परेँ। केही गल्ती भयो कि भनेर फेरि निमन्त्रणा कार्ड हेरेँ। सबै ठिक छ। बल्ल एक जना मानिस भेट्टाएँ र उनलाई सोधेँ, ‘आज यहाँ १० बजे कार्यक्रम हुने भनेको हैन? उनले जवाफ फर्काए, ‘हो सर।’ ‘अनि खोइ त?’ उनले भने, ‘अब सर नेपाली टाइम हो, पाहुनाहरू आउँदै होलान् नि।’ मलाई त साह्रै नमज्जा लाग्यो। तैपनि पर्खेँ। बिस्तारै पाहुना आउन थाले। हल भरिन थाल्यो।
प्रमुख अतिथि पनि आउनुभयो। आफ्नो सिटमा बस्नुभयो। तर पनि कार्यक्रम सुरु भएन। अलि समयपछि उहाँले पनि अप्ठेरो महसुस गर्नुभयो र आयोजकलाई कार्यक्रम सुरु गर्न आग्रह गर्नुभयो। झण्डै पौने १२ बजेतिर कार्यक्रम सुरु भयो।
यसरी कसरी हुन्छ? पाहुना बोलाएपछि समयमै कार्यक्रम सुरु गर्नुपर्यो नि। सोहीअनुसारको बन्दोबस्त हुनुपर्छ नि। निमन्त्रणा गर्नेले पनि सम्झेरै बोलाएको हुन्छ। पाहुनाले पनि सम्झिएर पुगेको हुन्छ। तर अस्तव्यस्त व्यवस्था तथा हेलचेक्र्याइँले गर्दा समयको बर्बाद हुन्छ। यो भनेको सबैको नोक्सान हो। निर्दिष्ट समयअनुसार चलेमा सबैको कल्याण हुन्छ। नेपालका केही नेताहरूमा मात्र समयको महत्त्व बुझेर चल्न सक्ने क्षमता देखिन्छ।
१९-२० वर्षअगाडि टोकियोमा कार्यरत रहँदाको एउटा घटना याद आउँछ। जापानमा केही नेपाली भिसाबिना गैरकानुनी रूपमा बसिरहेका थिए। कुनै दिन एउटा सामाजिक संस्थाले वार्षिक कार्यक्रमका लागि दूतावासलाई निमन्त्रणा पठाएको थियो।
गैरकानुनी रूपमा बसोबास गरी बसेकाहरूको संगठन भएकाले दूतावासबाट जान नहुने कुरा निस्क्यो। त्यसअघि पनि कोही जाने गरेका थिएनन्। तर मैले राजदूतलाई ‘उहाँहरू गैरकानुनी रूपमा बसे तापनि हाम्रो देशका नागरिक हुन्। नेपालमा परिवारजनले सरकारलाई तिर्नुपर्ने कर तिरिराखेका हुन्छन्। निमन्त्रणा कार्ड पठाएपछि कोही त जानु उपयुक्त हुन्छ’ भनेर सहमत गराएँ। राजदूत सरले ल ठिक छ, तपाईँ नै जानुहोस् भनेर स्वीकृति दिनुभयो।
म समयमै पुगेँ। हल खचाखच भरिएको थियो। समय हुन लाग्दा पनि कार्यक्रम सुरु हुने संकेत देखिएन। केहीबेर पर्खेँ। यसो बाहिर निस्केर हेरेको त कोही गफमा मस्त थिए। कोही यताउता गरिरहेका र कोही बियर पिइरहेका थिए। मलाई अचम्म लाग्यो। टोकियोको महत्त्वपूर्ण स्थानमा आयोजना हुने कार्यक्रममा समय भइसके तापनि कार्यक्रम सुरु हुने कुनै संकेत थिएन।
अति भएपछि मैले आयोजक समितिका सभापतिलाई भेटेँ। कार्यक्रम सुरु नगर्ने हो भने मलाई अर्काे ठाउँमा जानु छ भनेर घुर्की देखाएपछि सबै हतारहतार हलभित्र प्रवेश गरी कार्यक्रम सुरु गरेका थिए। सधैँ यस्तो नहोला। सबैले त्यस्तो नगर्लान्। तर मलाई त्यो घटना याद आइरहन्छ। किनभने जापान जस्तो समयलाई अति महत्त्व दिइने देशमा वर्षौँदेखि बस्दै आए पनि नेपालीले आफ्नो पारा छाडेका छैनन्। यसरी समयलाई ख्याल नराख्नु जायज हुन्छ र!
नेपालमा समयलाई ध्यान नदिइनुमा एउटा किंवदन्ती प्रचलनमा छ। कुनै बेला एउटा राजाले दूधको पोखरी बनाउने मनसुवाले जनतालाई आदेश दिएछ- सबै घरबाट एकएक लोटा दूध पोखरीमा हाल्नू। राजाको आदेश सुनेपछि एउटा घरमा बूढाबूढीले सल्लाह गरेछन्। बूढाले प्रस्ताव गरे- ‘सबैले दूध हालिहाल्छन्, हामीले एक लोटा पानी हालाैँ न। पानी त दूधमा मिसिइहाल्छ। हामीले पानी हालेको कसरी थाहा हुन्छ र?’ कुराकानी मिलेछ। उनीहरूले पोखरीमा दूधको सट्टा पानी खन्याइदिए।
राजा भोलिपल्ट पोखरी हेर्न आए। उनले दूधको पोखरीको सट्टा पानीको पोखरी पो देखे। भएको के रहेछ भने सबै घरमा तिनै बूढाबूढीको जस्तै सल्लाह भएछ। सबैले अरूलाई छक्याउन भनेर दूधको सट्टा पानी हालेछन्। पानीको पोखरी बनेछ।
त्यसैले अहिल्यै सोचौँ, हामीले समयलाई ख्याल नराखी कतै दूधको सट्टा पानीको पोखरी बनाइराखेका त छैनौँ। समयको ख्याल राखी आआफ्नो इमानदारी देखाएमा सबैले समयको महत्त्व बुझ्नेछन्। आफ्ना मात्र नभई अरूको समयको पनि ख्याल राख्नु जरुरी छ। समयको पर्वाहसँग चल्नुपर्दछ। समयले कसैलाई पर्खँदैन। समय पैसा हो पनि भन्दछन्। सबैले आआफ्नो कल्याण गर्नुछ भने सबभन्दा पहिला समयको महत्त्व चिनौँ। समयमा चल्ने बानी बसालौँ। यसैमा सबैको भलो हुन्छ।
*सच्च्याइएको। सं.
पोखरी खनेर माछा पालन गरी माछा मरेपछि पोखरी पुरेको कागजमा देखाई पैसाहजम गर्ने हाम्रो देश को नागरिकलाई सचेत गराऊनु। भैसि को अगाडि बिन बजाऊनु जस्तै हो ।
Very illustrated story about Panchuality which Nepalise have to learn it
समयले परिवरतन ल्याउनेछ। समयले यस्ता बेथितीहरूकाे उपचार गरनेछ।