सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगर पहिलेदेखि नै व्यापारिक, प्रशासनिक र प्राकृतिक रूपमा हराभरा रहेको बताएकी छन्। सुर्खेतमा जारी कर्णाली उत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन्।
१२औँ/१६औँ शताब्दीतर्फ फर्किएर हेर्दा यो क्षेत्र व्यापारिक, प्रशासनिक केन्द्र रहेको र उल्लेख्य मात्रामा वनजंगल रहेको उनको भनाइ छ।
‘सुर्खेत कालापानीका रूपमा पनि चिनिन्थ्यो। १९५० को दशकदेखि १९७० सम्म जग्गाहरू दर्ता हुने क्रम सुरु भयो। उत्तरतर्फ भएका डाँडामा मान्छेको बसोबास बढ्दै गयो,’ उनले स्मरण गरिन्, ‘०२२ सालमा सुर्खेत उपत्यकाबाट औलो उन्मुलन भयो। ०२९ सालमा अध्यादेशमार्फत नगर विकास ऐन ल्याइयो।’
पहिलेको प्लान अहिलेका लागि पनि उपयुक्त भएको उनले बताइन्। ३४औँ अध्यक्षको रूपमा उपत्यका नगर विकास समितिको प्लानलाई बिग्रन दिएको अवस्था छैन।
‘अहिले फोहोर व्यवस्थापको समस्या छ। सडकहरू जथाभावी बनाइएका छन्। बुलबुले ताल सुकेनाश लागेजस्तो भएको छ। जनता काकाकुल छन्। सहरमा यातायात सेवा अव्यवस्थित छ,’ उनले भनिन्।
सरकारी जग्गा संरक्षण पहिलो प्राथमिकता
नगरपालिकाले सरकारी जग्गा संरक्षण अभियानलाई संरक्षण गर्ने पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिइन्। सरकारी जग्गा अतिक्रमण हटाएर सवारी साधन पार्किङलाई व्यवस्थित गर्ने नगरपालिकाको योजना रहेको उनले बताइन्।
‘पार्किङ जोन तोकिएको क्षेत्र व्यवस्थित गर्ने, वीरेन्द्रनगर थप अध्ययन गरेर योजना बनाइने छ,’ उनले भनिन्। सिमसार क्षेत्रसहित बुलबुले तालको संरक्षण गर्ने योजना रहेको पनि उनले बताइन्।
‘ताल संरक्षण र विस्तारको प्रयास भइरहेको छ। दलदल भएकाले पानी सुकाएर पानी विस्तार गर्न खोजिएको छ। केही समयपछि परिवर्तन भयो भन्ने लाग्ने छ। विकास गतिशील छ,’ उनले भनिन्।
‘जुन योजनाका लागि दिइएको छ, त्यहीका लागि दिने र भट्टी पसलको अतिक्रमण रोक्छौँ। अस्तव्यस्त पार्किङ व्यवस्थित गर्छौं,’ नगर विकास समितिले अधिग्रहण गरेको २ सय ३२ विघा जग्गा समितिले आफ्नो नियन्त्रणमा राख्छ कि रक्सी भट्टी सञ्चालनका लागि भाडामा दिन्छ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्।
सडक अतिक्रमणलाई रोक्न प्रयास भइरहेको बताउँदै उनले व्यवसायिक प्रयोजनका लागि सटर भाडा दिनुपरेमा बिचौलियाले ठाउँ नपाउने तरिकाले राजस्व आउने गरी दिइने उनले उल्लेख गरिन्।
जब चिफ प्लानरको रूपमा माधवभक्त माथेमालाई सुर्खेत पठाइयो
चिफ प्लानरको रूपमा माधवभक्त माथेमालाई सुर्खेत पठाइयो। ३५ वर्षपछि उत्सवमा सहभागी हुन उनी सुर्खेत आए। सहरी योजना विषयमा अमेरिकाको ओहियो स्टेट युनिभर्सिटिबाट स्नातोकोत्तर, ४८ वर्षसम्म पेशागत अनुभव संगालेका, २८ वर्षसम्म सरकारी सेवा गरेका उनले सुर्खेतका विभिन्न कार्यक्रमहरूमा जोडिएर १३ वर्ष काम गरेका छन्।
‘अहिले धेरै फरक भएछ, अहिले धेरै घरहरू बनेछन्। दक्षिणतर्फ पनि धेरै घरहरू बनेको रहेछ, मैले चिन्नै सकिनँ,’ माथिबाट सुर्खेत हेर्दा उपत्यका कस्तो देख्नुभयो? भन्ने प्रश्नमा उनले भने, ‘रुख विरुवा देख्दा आनन्द पनि लाग्यो। ती रुख विरुवामा हाम्रो सम्बन्ध पनि गाँसिएको छ। सहरीकरण तीव्र रूपमा बढ्दा विभिन्न समस्या आउनु सामान्य हो।’
उनले ०२९ सालमा सुर्खेतमा आएको स्मरण गरे। अमेरिकाबाट सहरी विकासमा मास्टर्स गरेर वीरेन्द्रनगरको प्लानिङ बनाउन आउँदा उनको उमेर २८ वर्षको थियो।
‘वीरेन्द्रनगर कहाँ छ भन्ने नै थाहा थिएन। राष्ट्रिय योजना आयोगमा स्वः डा. हर्क गुरुङलाई सोध्दा पश्चिममा छ भन्नुभयो। युएनडीपीले सानो प्लेन राखेको थियो। ४/ ५ जना मात्रै अट्ने त्यहाँको पाइलटलाई १५ हजार दिएर ४ जना सुर्खेत आएका थियौं,’ उनले भने।
५०/६० हजारमै घडेरी
सो समय सुर्खेतमा ५०/६० हजारमा घडेरी आउने उनले बताए। नगर योजना सुरु गरेर ३ चरणमा बाँडिएको थियो। ढोडेखालीसम्म नगर विस्तार गर्ने योजना रहेको पनि उनले उल्लेख गरे।
उनले सुर्खेतमा ठूलो जहाज आउने गरी विमानस्थल बनाउँन भौगोलिक रूपमा कठिनाइ रहेको बताए। ‘यहाँ ठूलो जहाज आउने खालको एयरपोर्ट बनाउन गाह्रो छजस्तो मलाई लाग्छ,’ उनले भने।