काठमाडौँ- के भनिन्थ्यो भने चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नो देशलाई विश्व फुटबलको नयाँ शक्ति बनाउन चाहन्छन्। कुनै दिन चीन विश्वकप आयोजक बनेको हेर्न चाहन्छन्। यति मात्र होइन, फुटबल समर्थक राष्ट्रपति सीको इच्छा चीनलाई विश्वकप विजेता बनाउने हो।
तर सी र उनको देशको सपना पूरा हुने छाँटकाट देखिएको छैन। कम्तीमा अहिलेको स्थितिमा। यसको मुख्य कारण हो, चिनियाँ फुटबल भ्रष्टचार र अनियमितताले गाँजिनु।
केही वर्षअघि मात्र हो, चिनियाँ क्लबहरुले महँगो लिगको छवि निर्माण गरेको। युरोपका ठूला ठूला लिग खेलिरहेका खेलाडीहरूलाई चिनियाँ क्लबहरूले भनेजति रकम दिएर अनुबन्ध गरे। तर यो सिलसिला धेरै समय टिकेन। त्यसबेला विश्व फुटबलमा चिनिएका खेलाडी अनुबन्ध गर्ने दर्जनभन्दा बढी चिनियाँ क्लब अहिले अस्तित्वमा छैनन्।
चिनियाँ फुटबलका पहिलो र दोस्रो श्रेणीका लिग खेल्ने दर्जनौँ क्लब आर्थिक संकटका कारण बन्द भएका छन्। कोभिड–१९ महामारीका कारण पनि ती क्लबहरूको सञ्चालनमा कठिनाई आयो। कोभिड महामारीकै कारण चीनको आर्थिक वृद्धिदर कम हुँदा क्लबहरूबाट लगानीकर्ताले हात झिके।
राष्ट्रपति सीको भ्रष्टचारविरोधी अभियानका कारण पनि चिनियाँ फुटबल प्रभावित बनेको छ। त्यहाँका सञ्चारमाध्यमका अनुसार चिनियाँ फुटबलमा महत्त्वपूर्ण ओहोदामा रहेका कयौँलाई भ्रष्टचारको अभियोग लगाइएको छ। अरु त अरु चिनियाँ फुटबल संघ (सीएफए) कै अध्यक्ष चेन सुयुयानमाथि नै छानबिन भइरहेको छ। उनीमाथि अनुशासन र नियम उल्लंघन गरेको आरोप छ।
गत वर्ष राष्ट्रिय टिमका प्रशिक्षक ली टाईमाथि पनि छानबिन भएको थियो। इंग्लिस प्रिमियर लिग खेलेका आधा दर्जन चिनियाँ खेलाडीमध्येका एक हुन्, ली।
यसअघि चिनियाँ फुटबलमा योस्तरको छानबिन बिरलै भएको बताउँछन्, बेइजिङमा फुटबल ‘कन्सल्टेन्ट’ भएर काम गरिरहेका विलियाम बी। उसो त एक दशकअघि पनि चिनियाँ फुटबलमा भ्रष्टचार विरोधी अभियान चलाइएको थियो। जसको उद्देश्य थियो, म्याच फिक्सिङ, सट्टेबाजी, अनियमितता लगायतबाट चिनियाँ फुटबललाई मुक्त गराउने। त्यसबेलाभन्दा अहिलेको अभियान झनै बृहत र प्रभावकारी रहेको बताइन्छ।
निशानामा उच्च पदाधिकारी
सीएफएका अध्यक्ष चेनको उदय नाटकीय छ। उनी कुनै समय सांघाईको बन्दरगाहमा सामान्य कामदार थिए। सीएफएको अध्यक्ष बनेपछि देशकै ध्यान तान्ने योजना सार्वजनिक गरे। चिनियाँ फुटबलको छवि मजबुत बनाउने भन्दै लिगलाई व्यवस्थित र अनुशासित बनाउने बाचा गरे।
तर चेनले बाचा गरेको परिवर्तन भएन। खराब वित्तीय व्यवस्थापनका कारण थलिएका चिनियाँ लिग उठ्न सकेनन्। न त राष्ट्रिय टिमको प्रदर्शनमा सुधार आयो। विश्वकप २०२२ छनोटमा चीनको प्रदर्शन बिर्सनलायकको रह्यो।
फिफा वरीयतामा ७९ औँ स्थानमा रहेको चीनले अहिलेसम्म एकपल्ट मात्र विश्वकप खेल्न पाएको छ। सन् २००२ को त्यो विश्वकपमा चीनले तीनै खेल हारेको थियो। त्यो पनि एक गोल नगरी।
विश्वकप २०२२ को निर्णायक छनोटमा जम्मा एक खेल मात्र जितेपछि ली बर्खास्तीमा परेका थिए। चीनका लागि सर्वाधिक पटक खेलेका ली सन् २००० को दशकमा प्रिमियर लिगको एभरटनका लागि खेल्थे।
चिनियाँ फुटबलले उत्पादन गरेका विख्यात खेलाडीमध्येका एक ली गत नोभेम्बरमा छानबिनमा तानिएका थिए। सीएफएका दुई पदाधिकारी चेन योङलियाङ र लिय यीमाथि भने जनवरीमा अनुसन्धान सुरु भएको थियो। तर छानबिनमा परेका अध्यक्ष चेनसहित चारबारे औपचारिक रुपमा केही भनिएको छैन। उनीहरूले कस्ता नियम उल्लंघन गरे भनेर पनि जानकारी दिइएको छैन।
चीनमा अन्य खेलभन्दा फुटबलको व्यावसायीकरण सुरुमा भएको थियो। जसकारण यो खेल अरुभन्दा सम्वृद्ध छ। ‘जब कुनै पनि खेलमा अत्यधिक पैसा हुन्छ, त्यहाँ भ्रष्टचारले स्वतः जरा गाड्छ,’ बेलायतको बेडफोर्ड्ससायर विश्वविद्यालयमा ‘स्पोर्ट्स सोसियोलोजी एन्ड मिडिया स्टडिज’ का लेक्चर पिङ उ भन्छिन्।
गिर्दो साख
भ्रष्टचार विरोधी अभियान सुरु हुनुअघि नै चिनियाँ फुटबल अप्ठ्यारो स्थितिमा थियो। कुनै समय ओस्कार, हल्क, कार्लोज टेभेज जस्ता अन्तर्राष्ट्रिय स्टार अनुबन्ध गरेका चिनियाँ क्लबहरू आर्थिक संकटमा परिसकेका थिए।
कोभिड महामारी नियन्त्रणका लागि ल्याइएको नियमसँगै घरेलु फुटबलको तालिकामा हेरफेर भयो। खाली रंगशालामा लिग सञ्चालन हुँदा क्लबहरूले आम्दानी गर्न सकेनन्। एसिया कप जस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोतिा कोभिड नियमकै कारण आयोजना गर्न नसक्दा सीएफएले घाटा व्यहोर्नु प¥यो।
आजभन्दा सात वा आठ वर्षअघि चिनियाँ फुटबल यो स्थितिमा आइपुग्ला भनेर सायदै कसैले सोचेको थियो।
पेरिसस्थित स्केमा बिजनेस स्कुलमा खेलकुद तथा भूराजनीति अर्थतन्त्रबारे पढाउने प्राध्यापक सिमोन चाड्विक चिनियाँ फुटबलमा भ्रष्टचारबाहेक अन्य ठूला संरचनागत तथा संस्थागत समस्या रहेको बताउँछन्। राज्यको असीमित हस्तक्षेप र शंकास्पद लगानीकर्ताका कारण चिनियाँ फुटबलको विकास हुन नसकेको उनको ठम्याई छ।
‘कुनै पनि देशले फुटबलमा उच्चस्तरको सफलता छोटो समयमा प्राप्त गर्न सक्दैन। यसका लागि वर्षौसम्म लगानी गर्नुपर्छ। जग बसाल्नु पर्छ। अल्पकालिन योजना, छोटो समयमा सफलता प्राप्त गर्ने महत्त्वकांक्षा, आफूले चाहेको समय सफलता प्राप्त नभए तुरुन्त चालिने प्रतिक्रियात्मक कदमले फुटबल सुधार्दैन, बरु बिगार्छ,’ चाड्विक भन्छन्।
विश्वकप आयोजक बन्ने सम्भावना
लेक्चर पिङ उ चिनियाँ फुटबलको भविष्यलाई लिएर आशावादी छिन्। ‘भ्रष्टचार संकट हो। तर भ्रटचार निवारणका लागि हुने छानबिन संकट होइन। अहिलेको अभियानले के देखाउँछ भने, चीन सरकार त्यहाँको फुटबललाई सफा बनाउन चाहन्छ,’ पिङ उ भन्छिन्।
चिनियाँ राष्ट्रिय टिमको प्रदर्शन खस्किएको भए पनि विश्व फुटबलमा चीनको स्थान कमजोर नबनेको पिङ उको जिकिर छ। उनका अनुसार यसको कारण हो, विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा चीन प्रायोजक बनिरहनु।
पिङ उ के पनि आस गर्छिन् भने सन् २०२६ को विश्वकपका लागि चीन छनोट हुनेछ। अनि निकट भविष्यमै विश्वकप आयोजना अधिकार पाउनेछ।
भविष्यमा विश्वकप आयोजना अधिकारका लागि लड्ने तयारी चीनको छ। यसका लागि आफूसँग पर्याप्त रंगशाला र अन्य आवश्यक पूर्वाधार रहेको चीनको भनाइ छ।
‘सन् २००८ को समर ओलिम्पिक्स र २०२२ को विन्टर ओलिम्पिक्स आयोजना गर्दा चीनले आफूलाई धेरै खेलको विश्व शक्तिमा रुपान्तरण गरेको छ। फिफा विश्वकप आयोजना गर्न पाए चीनको फुटबलमा ठूलो टेवा पुग्नेछ,’ पिङले आश व्यक्त गरिन्।