युरोपा लिग राउन्डअप : बार्सिलोना र युनाइटेडबीच रोमाञ्चक बराबरी, नान्ट्ससँग रोकियो युभेन्टस

हिमाल प्रेस ५ फागुन २०७९ १०:५६
16
SHARES
युरोपा लिग राउन्डअप : बार्सिलोना र युनाइटेडबीच रोमाञ्चक बराबरी, नान्ट्ससँग रोकियो युभेन्टस

काठमाडौँ- युरोपा लिग प्लेअफको पहिलो लेगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले २–२ को बराबरी खेलेका छन्। बिहीबार राति नै भएको अन्य खेलमा युभेन्टसलाई नान्ट्सले १–१ को बराबरीमा रोक्यो भने एएस रोमा साल्जबर्गसँग १–० ले पराजित भयो।

सन् २००९ र २०११ को च्याम्पियन्स लिग फाइनलमा भिडेका बार्सिलोना र युनाइटेडले क्याम्प नौउमा युरोपेली प्रतिद्वन्द्विता नवीकरण गरेका हुन्। आआफ्ना घरेलु लिगमा बलियो लयमा रहेका यी दुई टिमले पहिलो हाफमा गोल गर्न सकेनन्।

दोस्रो हाफ सुरु भएको पाँच मिनेटपछि भने बार्सिलोनाले मार्कस अलोन्सोको गोलमार्फत अग्रता लिएको थियो। तर दुई मिनेटपछि नै युनाइटेडल खेलमा फर्कियो। पाहुना टिमका लागि मार्कस रासफोर्डले गोल गरेका थिए।

५९ औँ मिनेटमा युन्स कौन्डेले आतघाती गोल गरेपछि युनाइटेड खेलमा अघि बढ्यो। तर अलोन्सोको गोलका लागि असिस्ट गरेका रफिन्हाले यसपटक आफैँ गोल गरेपछि बार्सिलोना हारबाट जोगियो।

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनालाई उसकै मैदानमा रोकेपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हाग प्रसन्न देखिए। ‘यो खेल असाध्यै प्रतिस्पर्धात्मक रह्यो। दुवै टिमले निरन्तर आक्रमण बुनिरहे। मलाई लाग्छ खेल च्याम्पियन्स लिगको भन्दा बढी रोचक थियो। अब हाम्रो लक्ष्य ओल्ड ट्राफोर्डमा दोस्रो लेग जित्ने हुनुपर्छ,’ टेन हागले भने।

उता बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले चाहिँ रेफ्रीप्रति असन्तुष्टि पोखे। ‘हामीले पेनाल्टी पाउनु पर्ने थियो। ह्यान्ड हुँदा पनि रेफ्रीले सिटी बजाएनन्। अचम्म लाग्यो,’ फ्रेडले ह्यान्ड गर्दा रेफ्रीले पेनाल्टी नदिएकोमा जाभीको गुनासो थियो।

अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन युरोपा लिग जित्ने लक्ष्यमा रहेको युभेन्टसलाई फ्रान्सको नान्ट्सले रोक्यो। आफ्नै मैदान आलियान्ज ऐरिनामा युभेन्टसले १३ औँ मिनेटमा अग्रता लिएको थियो। डुसान भ्लाहोभिचले फेडेरिको किएसाको पासमा गोल गर्दा युभेन्टस खेलमा अघि बढेको थियो।

युभेन्टसले गोल थप्ला भन्ने आशा गरिएका बेला दोस्रो हाफमा नान्ट्सले गोल फर्कायो। फ्रेन्च लिगको १३ औँ स्थानमा रहेको नान्ट्सका लागि लुडोभिच ब्लासले गोल गरेका थिए। उसो त आतिरिक्त समयमा युभेन्टसले गोल थप्ने मौका पाएको थियो। तर भीएआरले नान्ट्सका खेलाडीले ह्यान्ड नगरेको निस्कर्ष निकालेपछि युभेन्टस पेनाल्टीबाट विमुख हुन पुग्यो।

सिरी ‘ए’ मा अंक घटुवा भएपछि युभेन्टस हाल इटालेली लिगको नवौँ स्थानमा छ। कम्तीमा चौथो स्थानमा लिग समापन गरी च्याम्पियन्स लिगमा छनोट हुने युभेन्टसको सम्भावना हालका लागि न्यून छ। किनभने चौथो स्थानको रोमा र युभेन्टसबीच १२ अंकको दूरी छ। यस्तोमा युभेन्टससँग भएको विकल्प युरोपा जितेर च्याम्पियन्स लिगमा स्वतः छनोट हुने हो।

सेभियाको जित, रोमाको हार
आतिरिक्त समयमा एक्सल डिसासीले निर्णायक गोल गरेपछि मोनाकोले बायर्न लेभरकुजनलाई ३–२ ले पराजित ग¥यो। लेभरकुजनका गोलरक्षक लुकास ह्राडेकीले आफ्नै पोस्टमा गोल गरेपछि मोनाको नवौँ मिनेटमै १–० को स्थितिमा पुगेको थियो।

तर लेभरकुजनले मौसा डियाबीको गोलमार्फत दोस्रो हाफमा पुनरागमन गरेको थियो। फ्लोरियन विर्जले ५९ औँ मिनेटमा गोल गरेपछि लेभरकुजन २–१ ले अघि बढेको थियो। क्रेपिन डियाटाले ७४ औँ मिनेटमा गरेको गोलले मोनाकोलाई खेलमा फर्काएको थियो। उत्तराद्र्धमा डिसासीको गोलले भने मोनाकोलाई विजयी बनायो।

युद्धग्रस्त युक्रेनको शाख्तार डोनेस्कले तटस्थ मैदानमा फ्रान्सको रेनमाथि २–१ को जित दर्ता गर्‍यो। पोल्यान्डको राजधानी वार्सामा भएको खेलमा शाख्तारलाई जिताउन डिमिट्रो क्रिस्किभ र आर्टेम बोन्डारेन्कोले पहिलो हाफमा एक–एक गोल गरेका थिए। कार्ल टोको इकाम्बीले दोस्रो हाफमा गोल गरे पनि रेन खेलमा फर्कन सकेन।

निकोलस कापाल्डोले ८८ औँ मिनेटमा गोल गरेपछि अस्ट्रियन च्याम्पियन साल्जबर्गले गत सिजनको युरोपा कन्फ्रेन्स लिग विजेता रोमालाई १–० ले निराश बनायो।

युरोपा इतिहासकै सर्वाधिक सफल क्लब सेभियाले भने नेदरल्यान्ड्सको पीएसभी आइन्डहोभनलाई ३–० ले पन्छायो। घरेलु मैदानमा स्पेनी क्लबलाई जित दिलाउन युसुफ एन नेस्री, लुकास ओकाम्पोस र नेमान्जा गुड्लेजले एक–एक गोल गरे।

बिहीबार राति नै भएका अन्य खेलका आयाकस र युनियन बर्लिनले गोलरहित बराबरी खेल्दा स्पोर्टिङ लिस्बन र मिज्जील्यान्डबीचको खेल १–१ को नतिजामा टुंगियो।

च्याम्पियनस लिगको समूह चरणमा आआफ्ना समूहमा तेस्रो र युरोपाको समूह चरणमा दोस्रो भएका टिमबीचको प्लेअफको दोस्रो लेगका खेल आउँदो बिहीबार राति हुनेछन्। प्लेअफ जित्ने टिम युरोपाको अन्तिम १६ मा प्रवेश गर्नेछन्। युरोपाकै समूह चरणमा समूह विजेता बनेका आठ टिमले पहिल्यै अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्।

प्रकाशित: ५ फागुन २०७९ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =