युरोपा लिगको परीक्षामा च्याम्पियन्स लिगका पूर्वविजेताद्वय बार्सिलोना र युनाइटेड

हिमाल प्रेस ४ फागुन २०७९ १९:०३
24
SHARES
युरोपा लिगको परीक्षामा च्याम्पियन्स लिगका पूर्वविजेताद्वय बार्सिलोना र युनाइटेड

काठमाडौँ- युरोपियन क्लब फुटबलमा बार्सिलोना र म्यानचेटर युनाइटेडको इतिहास समृद्ध छ। पाँच पटक च्याम्पियन्स लिग जितेको बार्सिलोनाले कुल आठ पटक यो प्रतियोगिताको फाइनल खेलेको छ।

एलेक्स फर्गुसनले युनाइटेडलाई दुई पटक विजेता बनाएका थिए। उनकै पालामा युनाइटेडले थप दुई पटक फाइनल खेलेको थियो। कुल तीन पटक विजेता बनेको युनाइटेड च्याम्पियन्स लिगमा सर्वाधिक दोस्रो सफल इंग्लिस क्लब हो।

अरु त अरु बार्सिलोना र युनाइटेडबीच नै पनि च्याम्पियन्स लिग फाइनलमा प्रतिस्पर्धा भएको छ। त्यो पनि दुई पटक। सन् २००८/०९ र २०१०/११ सिजनमा भएका ती दुई भिडन्तमा विजयी भने युनाइटेड बनेको थियो।

अहिले आएर भने यी दुई टिम दोस्रो श्रेणीको युरोपियन क्लब प्रतियोगितामा आमनेसामने हुन लागेका छन्। युरोपा लिगको अन्तिम ३२ को खेलमा बार्सिलोनाले युनाइटेडलाई बिहीबार राति क्याम्प नौउमा स्वागत गर्दैछ।

लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूह चरण कट्न नसकेपछि बार्सिलोना युरोपामा झरेको हो। उता युनाइटेड भने युरोपाको समूह चरणमा उपविजेता बनेर यहाँसम्म आइपुगेको हो। प्लेअफ पनि भनिने यो खेल जित्ने टिम युरोपाको प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

सन् २०१५ मा च्याम्पियन्स लिग जितेको बार्सिलोना गएको सिजन पनि समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि भने बार्सिलोनाले लगातार १७ सिजन च्याम्पियन्स लिगको नकआउट चरण खेलेको हो। युनाइटेडले भने पछिल्लो पाँच वर्षमा लगातार च्याम्पियन्स लिग खेल्न पाएको छैन।

केही वर्ष यताको परिस्थतिलाई मूल्यांकन गर्ने हो भने, बार्सिलोना र युनाइटेड युरोपियन क्लब फुटबलको खस्किँदो शक्ति हुन्। तर जारी सिजनलाई मात्र ध्यानमा राख्ने हो भने यो दाबी गलत हुन्छ।

किनभने बार्सिलोना हाल ला लिगाको शीर्षस्थानमा छ। अनि युनाइटेड चाहिँ प्रिमियर लिगको तेस्रो स्थानमा। यसकारण के भन्न सकिन्छ भने, बार्सिलोना र युनाइटेड युरोपियन क्लब फुटबलको सतहमा फर्किरहेका छन्।

केही वर्ष यताको परिस्थतिलाई मूल्यांकन गर्ने हो भने, बार्सिलोना र युनाइटेड युरोपियन क्लब फुटबलको खस्किँदो शक्ति हुन्। तर जारी सिजनलाई मात्र ध्यानमा राख्ने हो भने यो दाबी गलत हुन्छ।

बार्सिलोना र युनाइटेड पछिल्लो पटक सन् २०१९ मा आमनेसामने भएका थिए। त्यो यस्तो बेला थियो, जब बार्सिलोना संक्रमणकालीन अवस्थाबाट गुज्रिँदै थियो। युनाइटेड भने फर्गुसनको अभावमा कमजोर बनेको थियो। यी दुईबीचको त्यो भिडन्तमा बार्सिलोना सजिलै विजयी बन्यो। र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्यो।

त्यो खेल खेलमा बार्सिलोनाको पहिलो एघारमा परेका खेलाडीमध्ये गोलरक्षक मार्क आन्द्रे स्टेगन मात्र युनाइटेडविरुद्ध मैदान उत्रने सम्भावना छ। अग्रपंक्ति सम्हालेका लियोनल मेस्सी, लुइस स्वारेज र फिलिप्पे कौउटिन्होमध्ये कोही पनि बार्सिलोनामा बाँकी छैनन्। त्यसयता बार्सिलोनाले आफ्नो टिममा निकै परिवर्तन ल्याएको छ। जबकि सीमित आर्थिक आम्दानीका कारण बार्सिलोना अप्ठ्यारोमा छ।

गएको सिजन युरोपा लिग खेल्नु परेपछि बार्सिलोनाको निकै आलोचना भयो। च्याम्पियन्स लिगबाट झर्नु नपरोस् भनेर बार्सिलोनाले केही स्टार खेलाडी भित्र्यायो। जस्तै, रोबर्ट लेवान्डोस्की। जुल्स कौन्डे र आन्द्रेस क्रिस्टियन्सन जस्ता नयाँ रक्षकले बार्सिलोनालाई बलियो बनाएका छन्।

जारी ला लिगामा बार्सिलोनाले जम्मा सात गोल खाएको छ। २१ खेलमध्ये १६ मा गोल नखाएको बार्सिलोना सबैखाले प्रतियोगितामा गरी १६ खेलमा अपराजित छ। पूर्वमिडफिल्डर जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोना स्पेनकै सबैभन्दा सन्तुलित टिम बनेको छ। सन् २०१९ यता ला लिगा जित्न नसकेको बार्सिलोनाले यसपालि रियल म्याड्रिडसँग ११ अंकको दूरी कायम गरिसकेको छ।

‘जाभी बार्सिलोना फर्किएको एक वर्ष भयो। उनको आगमनसँगै धेरै परिवर्तन महसुस गरेका छौँ। हामी खेलाडीको मानसिकता पनि फेरिएको छ। जाभीले चाहे जस्तो तरिकाले खेल्न अलिक बढी समय लागेको होला। तर नतिजा भन्ने वित्तिकै आइहाल्दैन,’ टेर स्टेगनले भनेका छन्।

जसरी जाभीले बार्सिलोनामा सुधार ल्याएका छन्, त्यही शैलीमा एरिक टेन हागले युनाइटेडलाई बलियो बनाएका छन्। टेन हागले यो सिजन केही नयाँ खेलाडी अनुबन्ध गरेका छ। त्यसमध्ये एक हुन्, कासिमिरो। जो बार्सिलोनाको प्रतिद्वन्द्वी रियलबाट युनाइटेड पुगेका हुन्। आयाक्सबाट एन्टोनी र लिसान्द्रो मार्टिनेज खरिद गरेर युनाइटेडले आफूलाई थप सबल बनाएको छ।

युनाइटेडसँगको यात्रामा टेन हागले सुरुवाती अप्ठ्यारा भोग्नु नपरेको होइन। क्रिस्टियानो रोनाल्डोसँगको सम्बन्ध, ब्राइटन र ब्रेन्टफोर्डसँगको हार लगायतका कारणले डच प्रशिक्षक टेन हागलाई अप्ठ्यारोमा पारेको थियो। त्यसपछि भने टेन हाग युनाइटेडमा स्थापित भएका छन्।

जसरी जाभीले बार्सिलोनामा सुधार ल्याएका छन्, त्यही शैलीमा एरिक टेन हागले युनाइटेडलाई बलियो बनाएका छन्। टेन हागले यो सिजन केही नयाँ खेलाडी अनुबन्ध गरेका छ। त्यसमध्ये एक हुन्, कासिमिरो।

विश्वकप चलिरहँदा रोनाल्डोको युनाइटेड बहिगर्मन सम्पन्न भएको थियो। उनको अनुपस्थितिले युनाइटेडको प्रदर्शनमा असर परेको छैन। युनाइटेडले पछिल्ला १७ खेलमध्ये एकमा मात्र पराजय भोगेको छ। युनाइटेड बलियो लयमा रहनुका एक कारण मार्कस रासफोर्ड हुन्। जसले गएका १५ खेलमा १३ गोल गरेका छन्।

टेन हागले युनाइटेडलाई लिग कपको फाइनलमा पुर्‍याइसकेका छन्। त्यसैगरी यो क्लबले एफए कपको पाँचौँ चरणमा स्थान पक्का गरेको छ। सन् २०१७ मा युरोपा लिग जितेयता उपाधिविहीन रहेको युनाइटेडले यो सिजन कुनै न कुनै प्रतियोगिता जित्छ भनेर विश्वास गर्नेको संख्या निकै छ।

कप्तान ह्यारी मग्वायर टिममा नहुँदा टिमको नेतृत्व गर्ने ब्रुनो फर्नान्डेज टेन हागले युनाइटेडलाई आत्मविश्वासी टिममा रुपान्तरण गरेको बताउँछन्। ‘पहिले हामी सबैको आत्मविश्वास कमजोर थियो। तर टेन हागको आगमनपछि हामी कोहीसँग नडराई खेल्ने भएका छौँ। सोचे अनुसारको नतिजा आइरहेका कारण पनि हामी उत्साहित भएका हौा,’ फर्नान्डेजले भनेका छन्।

बार्सिलोना र युनाइटेड दुवै क्लब पुनरुत्थानको चरणमा छन्। यसकारण युरोपा लिगमा सकेसम्म टाढाको यात्रा गर्ने लक्ष्यमा उनीहरू छन्। यो लक्ष्यमा दुईमध्ये एक क्लब मात्र सफल हुनेछ। दुर्भाग्यवश असफल हुने टिमको फेरि एकपटक चर्को आलोचना हुनेछ।

प्रकाशित: ४ फागुन २०७९ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =