काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिबाट हुन सक्ने अराजनीतिक गतिविधि रोक्न ढोक्सा थापेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै पौडेलले पार्टीको ‘रबरस्ट्याम्प’ राष्ट्रपतिको विकल्पमा आफूहरूले ढोक्सा थापेको बताएका हुन्। केही दिनअघि ओलीले राष्ट्रपतिमा ढोक्सा नथाप्न कांग्रेसलाई चेतावनी दिएका थिए।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा पौडेलले सांकेतिक रूपमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रबरस्ट्याम्प र आवश्यक पर्दा सचिव लुकाउन सक्ने राष्ट्रपति बनाउन खोजेको आरोप लगाए। ‘यहाँ राष्ट्रपति चाहिएको हैन, रबरस्ट्याम्प र आवश्यक परे सचिव लुकाउने राष्ट्रपति चाहिएको छ,’ उनले भने, ‘त्यसको विरोधमा हामीले ढोक्सा थापेको भनिन्छ भने, हामी त्यो ढोक्सा थाप्न तयार छौँ।’
सत्ता गठबन्धन भत्काउने आफूहरूको चाहना नरहेको उनको भनाइ छ । उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कारण गठबन्धन भत्किएको कि जगै हल्लिएर गठबन्धन भत्किएको भन्दै प्रश्न गरे।
‘यो संसद्मा ढोक्सा भन्ने शब्द पूर्वप्रमले चर्चित बनाउनुभयो। हामी ढोक्सा थाप्न हैन, संसद् प्रभावकारी बनाउन उभिएको हो,’ उनले भने, ‘उहाँसँग दिन के छ र हामीले ढोक्सा थाप्नु? हतारहतारमा प्रसाद थाप्न बालकोटमा बनेको सहमति कस्तो छ, हामीले किन ढोक्सा थाप्नुपर्यो?’
संसद् विघटन सही छ भन्ने बनाउन ओलीले पटक-पटक दोहोर्याएको विषयमा पनि उनले आपत्ति जनाए।
‘संसद्मा सम्बोधन गर्दा विघटनको महिमागान शीर्ष नेताबाट भयो। संसद् विघटन कायरता थियो, त्यसलाई छोप्न बहादुरी प्रस्तुत गरियो। म चुनौती दिन्छु, अब कायरता दोहोरिन दिने छैन,’ उनले भने, ‘सर्वोच्च अदालत पार्टीको कानुन विभाग बनाउन खोजेजस्तो देखिएको छ। विघटनको भोक र सनक मेटाउन खोजेको पाइयो। यो विषमया हामी गम्भीर भएर संसद् उभिन जरुरी देखिन्छ।’