मिलानसँग हारेपछि कोन्टेले भने : टोटनहमका खेलाडीमा आत्मविश्वासको कमी छ

हिमाल प्रेस ३ फागुन २०७९ १२:२७
14
SHARES
मिलानसँग हारेपछि कोन्टेले भने : टोटनहमका खेलाडीमा आत्मविश्वासको कमी छ

काठमाडौँ- च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको पहिलो लेगमा एसी मिलानसँग हार व्यहोरेपछि एन्टोनियो कोन्टेले टोटनहमका खेलाडीहरूमा आत्मविश्वासको कमी रहेको प्रतिक्रिया दिएका छन्।

मंगलबार सान सिरोमा मिलानले टोटनहममाथि १–० को जित दर्ता गरेको थियो। घरेलु मैदानमा मिलानलाई जिताउन ब्राहिम डियाजले निर्णायक गोल गरेका थिए।

सान सिरोमा टोटनहमले गोलका अवसर खासै सिर्जना गर्न सकेन। इंग्लिस प्रिमियर लिगमा गत शनिबार लेस्टर सिटीसँग ४–१ को पराजय भोगेको टोटनहमका लागि मिलानविरुद्धको खेल लयमा फर्कने अवसर थियो।

तर इटालियन लिग सिरी ‘ए मा संघर्षरत मिलानसँगको हारले आफ्ना खेलाडीहरूमा अझै आत्मविश्वासको कमी देखिएको कोन्टेको भनाइ थियो। ‘विशेषगरी अग्रपंक्तिका खेलाडीमा आत्मविश्वास देखिएन। उनीहरूमा आत्मविश्वास भर्ने काम मेरो हो। अब आउँदा खेलमा सुधार गर्ने प्रयास गर्नुको विकल्प छैन,’ कोन्टेले भनेका छन्।

केही मुख्य खेलाडी घाइते भएकाले पनि टोटनहमको बलियो लय समात्न संघर्षरत छ। मंगलबारको खेलमा पनि कोन्टेले रोड्रिगो बेन्टान्कर र यभेस बिसुमालाई उपयोग गर्न पाएनन्। घाइते रहेका यी दुई खेलाडीको स्थानमा कोन्टेले कम अनुभवी ओलिभर स्किप र पापे माटर सारलाई खेलाएका थिए।

यी दुई युवा खेलाडीको प्रदर्शनमा कोन्टे सन्तुष्ट देखिए। बेन्टान्कर यो सिजनभर र बिसुमा पनि लामो समय मैदानबाहिर रहने भएको स्थितिमा स्किप र सारको खेलले आफू केही हदसम्म ढुक्क भएको बताए।

‘च्याम्पियन्स लिगको खेल, त्यो पनि सान सिरोमा, स्किप र सारले यो स्तरको प्रदर्शन गर्नु तारिफयोग्य छ। यी खेलाडी नभएको हामीले पूरा सिजन जम्मा तीन मिडफिल्डर मात्र खेलाउनु पर्थ्यो। अब चाहिँ म केहीहदसम्म ढुक्क भएको छु,’ कोन्टेले भने।

जितका बाबजुद मिलानका प्रशिक्षक स्टेफियानो पियोली भने पूर्ण रुपमा सन्तुष्ट देखिएनन्। चालर्स डे केटेलाएरे र मालिक थियले मौका खेर फालेका कारण पियोली असन्तुष्ट बनेका हुन्।

‘जित अन्तर २–० भएको भए अझ राम्रो हुने थियो। घरेलु मैदानमा सकेजति बढी गोल गर्दा अवे खेलका लागि सजिलो हुन्छ। दोस्रो लेग टोटनहमको रंगशालामा हुँदैछ। त्यो खेल असाध्यै कठिन हुनेछ,’ पियोलीले भने। दोस्रो लेग मार्च ९ मा हुने तालिका छ।

प्रकाशित: ३ फागुन २०७९ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =