बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

हिमाल प्रेस ३ फागुन २०७९ ८:२२
6
SHARES
बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

गलकोट- अत्याधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन्। बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ। नदीले बहाव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररूपमा हुँदै आएको छ।

कालीगण्डकीले मालढुंगास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ । उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ। अवैधरूपमा दोहनका कारण कालीगण्डकीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुंगामा तटबन्ध कार्य थालिएको हो।

कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ। मालढुंगा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तारजालीसमेत हाल्न थालेको छ।

चालु आर्थिक वर्षमा मालढुंगाको तटीय बस्ती, मालढुंगा प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । रु ६५ लाख खर्च गरी पक्की पर्खाल बनाइएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए।

‘जिल्लामा संघीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकारअन्तर्गतका २० योजना सञ्चालित छन्’, उनले भने। कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदीखोलालगायतका नदीको कटान रोकी नदीलाई आफ्नै धारमा बगाउन तटबन्ध गरिँदै आएको छ।

यस्तै बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ।

चालु आवमा संघीय र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। चालु आवमा नदी नियन्त्रणका लागि संघीय सरकारले दुई करोड ५० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारले दुई करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: ३ फागुन २०७९ ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =