एलपीएलमा लिग चरणका खेल सम्पन्न

हिमाल प्रेस २ फागुन २०७९ १६:३४
4
SHARES
एलपीएलमा लिग चरणका खेल सम्पन्न

धनगढी– कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)मा लिग चरणका खेल सम्पन्न भएका छन्। मङ्लबार लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले शारदा विद्या निकेतन धनगढीविरुद्ध सान्त्वना जित दर्ता गरेको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ७ विकेट क्षतीमा ११६ रन बनायो। शारदाको ब्याटिङमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए। गोविन्द विष्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए।

सैनिकका बलर सागर चन्द र रवीन्द्र कार्कीले २/२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप विस्टले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो।

सैनिकका ओपनिंग ब्याटर सन्दीप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे। उनी प्लेयर अफ द म्याच घोषित भए। विशाल ऐरले २३ रन बनाए। शारदाको बलिङतर्फ नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २/२ विकेट लिए।

प्रतियोगिताअन्तर्गत दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन्। पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबिच तथा दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बालबाटिका बौनियाबीच हुनेछ। फाइनल खेल शनिबार हुने छ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २ फागुन २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =