रास्वपाको राजनीतिमा आइन् भरतमोहनकी छोरी लीमा

देशबाट लिन नभई दिन राजनीतिमा आएको घोषणा

हिमाल प्रेस १ फागुन २०७९ २१:२६
18
SHARES
रास्वपाको राजनीतिमा आइन् भरतमोहनकी छोरी लीमा

काठमाडौँ– वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी पनि सक्रिय राजनीतिमा आएकी छन्। विगतमा नेकपम एमाले फुटेर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) मा संलग्न रहेकी उनले उक्त पार्टी परित्याग गरेकी छन्।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गर्दा उनको नाम पनि परेको छ।

नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहन र भरतमोहन अधिकारी दाजुभाइको योगदान उल्लेखनीय छ। २५ वर्षअघि सरकारमा पुग्दा दाजुभाइले सुरु गरेको वृद्धभत्ता कार्यक्रम अहिले हरेक दलको महत्त्वपूर्ण चुनावी एजेन्डा बनिरहेको छ।

नेपालमा पहिलो पटक कम्युनिस्ट दललाई सरकारमा पुर्‍याएको श्रेयको प्रमुख भागीदार यी अधिकारी दाजुभाइको परिवारका कोही सदस्य पनि अहिले पूर्णकालीन राजनीतिमा छैनन्।

भरतमोहनकी माइली छोरी लीमा अधिकारी व्यवसायसँगै थोरै भए पनि पार्टी गतिविधिमा संलग्न हुँदै आएकी थिइन्। तर, उनको राजनीति एमालेमा, एमाले विभाजनपछि ०७८ सालमा बनेको नेकपा एकीकृत समाजवादीहुँदै अब गत चुनावबाट उदाएको रास्वपाबाट सुरु भएको छ।

रास्वपामा जोडिनु अगाडि उनी नेकपा एसको बागमती प्रदेश कमिटी सदस्यसहित पार्टीनिकट अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारीमा थिइन्।

लीमा त्यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव हुन्। अधिकारीले आफ्नो ठूलोबुवा पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी र स्वर्गीय बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन सक्रिय राजनीतिमा आएको बताएकी छन्।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्वजस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ,’ अधिकारीले भनेकी छन्,‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्। त्यसैले राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ।’

राजनीति दूषित बन्दै गएको बताउँदै उनले ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा लागेको बताएकी छन्। लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन्। लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेट व्यवसायमा संलग्न छ।

उनका श्रीमान् सुदीप आचार्य कामाना सेवा विकास बैंकका अध्यक्ष तथा डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक हुन्। सुदीपका पिता कृष्ण आचार्य ६२/०६३ को जनआन्दोलनपछि पुर्नस्थापित प्रतिनिधिसभामा व्यवसायीकातर्फबाट अन्तरिम विधायक थिए।

आचार्य हाल स्वतन्त्र ऊर्जा उत्पादहरूको संस्था (इपान) का अध्यक्ष छन्।

प्रकाशित: १ फागुन २०७९ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =