च्याम्पियन्स लिग : पीएसजीका स्टारसँग नडराउने बायर्नको उद्घोष

हिमाल प्रेस १ फागुन २०७९ १७:११
8
SHARES
च्याम्पियन्स लिग : पीएसजीका स्टारसँग नडराउने बायर्नको उद्घोष

काठमाडौँ- च्याम्पियन्स लिगको नकआउट चरण मंगलबार रातिबाट सुरु हुँदैछ। जर्मन च्याम्पियन बायर्न म्युनिख अन्तिम १६ को पहिलो लेग खेल्न पेरिस पुग्नेछ। फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध भिड्दा बायर्नको लक्ष्य जितबाहेक अर्को हुनेछैन। च्याम्पियन्स लिगमा भर्खर प्रिक्वार्टरफाइनलका खेल हुन लागे पनि बायर्नको नजर उपाधिमाथि छ।

अहिलेबाटै च्याम्पियन्स लिग उपाधिबारे सोच्नु बायर्नका लागि बाध्यता हो। किनभने युरोपियन क्लब फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जित्नु नै बायर्नका लागि सफलताको मानक हो। घरेलु लिग त त्यसै पनि जितिन्छ भन्ने मनस्थितिमा बायर्न छ। लगातार १० सिजन च्याम्पियन बनेको बायर्नले यसरी सोच्नु स्वाभाविक हो।

बुन्डेसलिगामा बायर्नले यो सिजन जम्मा एक खेल हारेको छ। पछिल्ला १३ खेलमा युलियान नागल्सम्यानको टिमलाई कसैले हराउन सकेको छैन। जनवरी २० देखि २८ सम्म भएका तीन खेल बराबरीमा टुंगिएपछि नागल्सम्यान निराश बनेका थिए। तर पछिल्ला दुई खेल बायर्नले सजिलै जितेको छ।

गएको शनिबार बोचुमसँगको खेलमा पनि नागल्सम्यान निराश नदेखिएका होइनन्। लिगको १५ औँ स्थानमा रहेकोे बोचुमविरुद्ध पहिलो गोल गर्न ४१ मिनेट लागेपछि नागल्सम्यान आफ्ना खेलाडीप्रति आक्रोशित देखिन्थे।

‘त्यसबेला मेरा मस्तिष्कमा पीएसजी आइरहेको थियो। यही पाराले पीएसजीलाई हराउन सकिँदैन भनेर सोचिरहेको थिएँ,’ बोचुमलाई हराएपछि नागल्सम्यानले भने।

बोचुमविरुद्ध सुरुबाटै खेलेका खेलाडीलाई उनले घुमाउरो पारामा चेतावनी दिन पनि भ्याए। ‘सब्स्टिच्युसनपछि मात्रै प्रदर्शनमा सुधार आयो। त्यसअघि हामीले तीन अंक ल्याउने गरी खेल्न सकेका थिएनौँ। मंगलबारभन्दा अगाडि नै हामीले आफूलाई सुधार गर्न जरुरी छ,’ नागल्सम्यानले भने।

नागल्सम्यान र क्रिस्टोफर गाल्टियरले सामना गरिरहेको परिस्थितिमा एउटा समानता छ। त्यो हो, सफल दरिन च्याम्पियन्स लिग जित्नुपर्ने। बायर्नले च्याम्पियन्स लिग जित्न नसक्ने प्रशिक्षकलाई बिदाइ गर्ने गरेको छ। निको कोभाच लिग जित्दा पनि बर्खास्त भएका थिए। उनीपछि प्रशिक्षक बनेका हान्सी फ्लिकको प्रशिक्षणमा चाहिँ बायर्न च्याम्पियन्स लिग विजेता बनेको थियो।

च्याम्पियन्स लिगमा भोगेको असफलताका कारण स्थापित प्रशिक्षकले समेत जागिर गुमाएको दृष्टान्त छ। जस्तै, कार्लो एन्सिलोट्टी। समूह चरणमा बायर्न पीएसजीसँग हारेपछि एन्सिलोट्टीलाई हटाइएको थियो।

गएको सिजन बायर्न क्वार्टरफाइनलबाट बाहिरियो। त्यो पनि तुलानात्मक कमजोर मानिएको भिल्लारियलसँग हारेर। लिग जिते पनि च्याम्पियन्स लिगमा भोगेको त्यो हारका कारण बायर्नको निस्कर्ष थियो, यो असफल सिजन हो।

पहिलो सिजन भएकाले नागल्सम्यानको त्यसबेला त्यतिबिघ्न आलोचना भएन। तर यो सिजन भने उनको चर्को आलोचना हुनेछ, यदि बायर्न अन्तिम १६ कटेन भने।

जनवरीको जाडो विश्रामपछि बायर्न स्वाभाविक लयमा फर्कन सकेको छैन। बायर्न लगातार तीन खेलमा बराबरीमा रोकिएपछि युनियन बर्लिनले दूरी एक अंकमा झारेको छ। लिगमा युनियन बर्लिनले दबाब दिइरहे पनि नागल्सम्यान हाल पूर्ण रुपमा च्याम्पियन्स लिगमा केन्द्रित छन्।

उनी कतिसम्म एकाग्र छन् भन्ने उनले पीएसजीबारे दिएको पछिल्लो टिप्पणीले पुष्टि गर्छ। पीएसजीले किलियान एम्बाप्पेले बायर्नसँगको खेल गुमाउन सक्ने सूचना निकालेपछि नागल्सम्यानको टिप्पणी थियो, ‘पीएसजीले माइन्ड गेम खेलिरहेको छ।’

उसो त नागल्सम्यानका खेलाडीहरू पनि पीएसजीलक्षित अभिव्यक्ति दिइरहेका छन्। ‘हामी पीएसजीसँग खेल्न उत्सुक छौँ। प्रिक्वार्टरफाइनलमा पीएसजीको सामना गर्नुपर्ने तालिका सावर्जनिक हुनसाथ हामी उत्साहित भएका थियौँ। हामी मात्र होइन यो खेल पूरै युरोप पर्खिरहेको छ,’ मिडफिल्डर लियोन ग्रोएज्काले भनेका छन्।

बायर्नसँग दुई पटक च्याम्पियन्स लिग जितेका अनुभवी फरवार्ड थोमस मुलरले आफूहरू बायर्नको क्षमता प्रमाणित गर्न आतुर रहेको बताएका छन्। विंगर लेरो सानेले पीएसजीमा ठूला स्टारहरू भए पनि आफू नडराउने दाबी गरेका छन्।

‘म सधै आशावादी रहन्छु। हामीलाई आफ्नो क्षमताबारे थाहा छ। हामी रक्षापंक्तिमा सन्तुलित छौँ, अग्रपंक्तिमा अब्बल छौँ। फेरि बायर्नसँग च्यापियन्स लिगको गहिरो अनुभव पनि छ,’ सानेले भनेका छन्।

प्रकाशित: १ फागुन २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =