रोकिएनन् रासफोर्ड, सिटीलाई हालान्डकाे चिन्ता

हिमाल प्रेस १ फागुन २०७९ १२:२९
6
SHARES
रोकिएनन् रासफोर्ड, सिटीलाई हालान्डकाे चिन्ता

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सहरका दुवै क्लब विजयी भए। म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ पन्छाउँदा म्याचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि २–० को जित दर्ता गर्‍यो।शनिबारको नतिजापछि दोस्रो स्थानको सिटीसँग अब २२ खेलबाट ४८ अंक भएको छ। सिटीभन्दा एक खेल बढी खेलेको युनाइटेड दुई अंकले पछडि छ।

भिल्लामाथिकाे जितपछि सिटीले सम्हालिन खोजेको सन्देश दिएको छ। पछिल्लो खेलमा टोटनहमसँग हार व्यहोरेको सिटी मध्य जनवरीमा युनाइटेडसँग पराजित भएको थियो। यी दुई हारपछि सिटी आर्सनलभन्दा निकै पछि पर्ला कि भन्ने संशय थियो।

तर आर्सनलले गएका दुई खेलमध्ये एकमा हार र अर्कोमा बराबरी भोगेपछि सिटीसँगको दूरी कम भएको छ।

भिल्लालाई पराजित गर्न सिटीका रोड्री गुन्डोगन र रियाद माहरेजले एक–एक गोल गरे। भिल्लाबाट ओली वाट्किन्सले एक गोल फर्काए। अग्रपंक्ति सम्हालेका एर्लिङ हालान्डले गोल गर्न नसके पनि असिस्ट भने दर्ता गरे। २१ खेलमा २५ गोल गरिसकेका हालान्डका लागि यो चौथो असिस्ट थियो।

सिटीका लागि यो जित महत्त्वपूर्ण थियो। तर जित सिटीका लागि महँगाे साबित भयाे। किनभने हालान्डले तिघ्राको चोटका कारण दोस्रो हाफ खेल्न सकेनन्। उपाधि दौड थप प्रतिस्पर्धात्मक बन्दै जाँदा मुख्य स्ट्राइकरको चोटले सिटीलाई चिन्तित बनाएको हुनुपर्छ।

किनभने आउँदो बुधबार सिटीले आर्सनलको सामना गर्ने तालिका छ। यो खेल आर्सनलको मैदानमा हुनेछ।

जित सिटीका लागि महँगाे साबित भयाे। किनभने हालान्डले तिघ्राको चोटका कारण दोस्रो हाफ खेल्न सकेनन्। उपाधि दौड थप प्रतिस्पर्धात्मक बन्दै जाँदा मुख्य स्ट्राइकरको चोटले सिटीलाई चिन्तित बनाएको हुनुपर्छ।

‘पहिलो हाफ सकिनै लाग्दा हालान्डले आफूलाई असहज भइरहेकाे बताए। यसकारण उनलाई मैदानबाट निकालियो। विस्तृत जाँच भएपछि मात्र उनको चोटबारे थप जानकारी दिन सकिनेछ। आउँदा खेलका लागि उनी उपलब्ध नभए हामी अर्को खेलाडीलाई खेलाउनेछौँ। हामीले गर्नसक्ने यही हो,’ ग्वार्डिओलाले भने।

पछिल्लो समय उसै पनि सिटीले अप्रिय खबर सुन्नु परिरहेको छ। प्रिमियर लिगले सिटीमाथि करिब एक सयपल्ट वित्तीय नियम उल्लंघन गरेको आरोप लगाएको छ। यी आरोप प्रमाणित भएमा सिटीमाथि लिग घटुवासम्मको कारबाही हुनसक्छ।

सिटीमाथि कारबाही हुन्छ वा हुँदैन, भइहाले के कारबाही होला, अहिलेका लागि यी सबै अनुमानका विषय हुन्। बीचमा के पनि भनियो भने, सिटीमाथि कारबाही भए, पेप ग्वार्डिओलाले प्रशिक्षकको पदबाट राजीनामा दिनेछन्।

यद्यपि ग्वार्डिओलाको पछिल्ला अभिव्यक्तिले यस्तो संकेत गरिरहेका छैनन्। बरु उनले लिगका अरु क्ललबमाथि उल्टै आरोप लगाएका छन्, ‘हाम्रा प्रतिद्वन्द्वीहरूलाई हामी सफल भएको ठिक लागेको छैन।’

भिल्लासँगको खेल सुरुहुनुअघि प्रिमियर लिगको धुन बजाइँदा सिटीका समर्थकले होहल्ला गरेका थिए। प्रिमियर लिगले लगाएका आरोप सार्वजनिक भएपछि सिटी समर्थकले निरन्तर नियामक निकायको आलोचना गरेका छन्।

सिटीमा सबै कुरा ठिकठाक नभइरहेका बेला सहरी प्रतिद्वन्द्वी युनाइटेड भने उत्साहित बन्दै गइरहेको छ। जनवरीको अन्तिम साता आर्सनलसँग हारेको युनाइटेड त्यसपछिका तीन खेलमा अपराजित छ। गत बुधबार लिड्ससँग बराबरीमा रोकिएको युनाइटेडले त्यही विपक्षीलाई दोस्रो पल्ट खेल्दा पराजित गर्‍यो। गत शनिबार युनाइटेडले क्रिस्टल प्यालेसलाई पन्छाएको थियो।

यी तीनै खेलमा मार्कस रासफोर्डले गोल गरे। उसो त यी २५ वर्षीय स्ट्राइकरले लगातार चार खेलमा गोल गरेका छन्। मध्य जनवरीमा पनि युनाइटेड प्यालेससँग भिडेको थियो। त्यो खेल बराबरीमा सकिँदा रासफोर्डले गोल गर्न सकेका थिएनन्। तर त्यसअघिका चार खेलमा भने रासफोर्ड गोलकर्ता रहे।

विश्वकपपछि बलियो लयमा रहेका रासफोर्डले लिगका २३ खेलमा १२ गोल गरिसकेका छन्। लगातार गोल गरिरहेका रासफोर्ड युरोपियन क्लब फुटबलका उत्कृष्ट स्ट्राइकर हुन्? यो प्रश्न युनाइटेडका प्रशिक्षक एरिक टेन हागलाई सोधियो।

‘अवश्य पनि। उनी प्रतिभाशाली छन्। स्ट्राइकरमा आवश्यक पर्ने कौशल उनीसँग छ। म त सुरुको दिनबाटै उनको कौशलसँग विश्वस्त भइसकेको थिएँ। उनले अझ धेरै गोल गर्न सक्छन्,’ टेन हागको जवाफ थियो।

विश्वकपपछि बलियो लयमा रहेका रासफोर्डले लिगका २३ खेलमा १२ गोल गरिसकेका छन्। लगातार गोल गरिरहेका रासफोर्ड युरोपियन क्लब फुटबलका उत्कृष्ट स्ट्राइकर हुन्? यो प्रश्न युनाइटेडका प्रशिक्षक एरिक टेन हागलाई सोधियो।

उत्तरी इंग्ल्यान्डका युनाइटेड र लिड्स एकअर्कालाई प्रतिद्वन्द्वी मान्छन्। कुनै पनि खेलमा यी दुई टिम भिड्दा समर्थक एकअर्कामाथि खनिने गर्छन्। आइतबार राति पनि एलान्ड रोडमा लिड्सका समर्थकले प्रतिद्वन्द्वी टिमका समर्थकलाई लक्षित गरेर नारा लगाइरहे। सन् १९५८ को म्युनिख हवाइ दुर्घटनामा युनाइटेड समर्थक मारिएको विषयमा पनि लिड्सका समर्थकले नारा लगाए।

दुवै क्लबले यस नाराबाजीको भर्त्सना गरेका छन्। प्रिमियर लिगले पनि यो विषयमा छानबिन गर्ने बताएको छ।

पछिल्ला नौ खेलमध्यै एकै खेल नजितेको लिड्स प्रशिक्षकबिनै प्रतिद्वन्द्वी युनाइटेडसँग भिड्यो। गत सोमबार जेसी मार्सलाई बर्खास्त गरेको लिड्स नयाँ प्रशिक्षकको खोजीमा छ। हाल माइकल स्कुबालाले प्रशिक्षण सम्हालिरे पनि लिड्स चाँडोभन्दा चाँडो नयाँ प्रशिक्षक नियुक्त गर्न चाहन्छ।

तर उसले अनुबन्ध गर्न चाहेको प्रशिक्षक एन्डोनी एराओलालाई राए भाएकानोले क्लब छाड्न नदिन बताइसकेको छ। डच क्लब फियोनार्डका प्रशिक्षक आर्ने स्लोट र वेस्टब्रुमका कार्लोस बोरबेरानमाथि पनि लिड्सको नजर छ। तर दुवैले लिड्सको प्रस्ताव स्वीकार नगर्ने बताएका छन्।

प्रकाशित: १ फागुन २०७९ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =