काठमाडौँ- नेकपा माओवादीकी नेत्रृ विमला वलीले पार्टीबाट राजीनामा दिएकी छन्। आफूलाई माओवादीले वेवास्ता गरेको र ‘युज एन्ड थ्रो’ गरेको गुनासो गर्दै पार्टी परित्याग गरेकी छन्।
उनले पार्टीमा आफूलाई न्याय नभएको बताएकी छन्। ‘मलाई अहिले भूमिकाविहीन पनि बनाइएको छ, त्यसैले मैले पार्टीबाट राजीनामा दिएकी हुँ।’
उनको राजीनामा पत्रमा भनिएको छ, ‘मलाई राजनीतिक चेतना नभएको भन्दै आलोचना गरियो। अनि भूमिका विहीन बनाइयो।’ उनले पार्टी छाडेको र अन्य पार्टीमा नजाने बताएकी छन्। लुम्बिनीमा एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढालेर कांग्रेसका कुलबहादुर केसीको सरकार बन्नुमा वलीको महत्वपूर्ण भूमिका थियो।
उनका श्रीमान तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा विमलालाई पार्टीले टिकट दिएर विजयी भएकी थिइन्। तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाबाट उनी निर्वाचन लडेकी थिइन्।
नेकपा विभाजन हुँदा उनी माओवादीमा लागिन्। एक सांसद अपूग भएकै कारण पोखरेलको सरकार ढलेको थियो। उनी विभिन्न समयमा विवादमा पनि आइरहिन्। केसीको सरकारमा स्वास्थ्यराज्यमन्त्री बनेकी वली माओवादीका एक कार्यकर्तासँग सम्बन्धमा रहेको आरोप लाग्ने गरेको थियो।
उनले २४ माघमै माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामापत्र बुझाएको बताइन्।