चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अपिल

हिमाल प्रेस २९ माघ २०७९ ११:३९
4
SHARES
चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्य उपचारमा जुट्न अनुरोध गरेको छ। माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरअगाडि भएको घटनालाई लिएर नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको प्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

चिकित्सकमाथि आक्रमण भएलगत्तै घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले भनेको छ, ‘उक्त घटनाका विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक संघले उठाएका विषयहरूलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको छ।’

मन्त्रालयले सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरूको स्वास्थ्य सेवामा संवेदनशील बन्न अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चिकित्सक संघले माघ १८ गतेका दिन आह्वान गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकहरूको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सबै संघसंस्थाहरूलाई अनुरोध गर्दछौँ।’

राष्ट्रपतिको सवारीका क्रममा शुक्रबार सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका सर्जन डा. जेनिथ सिंह घाइते भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। राष्ट्रपति भण्डारी संसद्‌बाट बाहिरिएर शीतल निवास जाने क्रममा वीर हस्पिटलअगाडि हिँडिरहेका डा. सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।

चिकित्सकमाथि भएको आक्रमणको नेपाल चिकित्सक संघ र विभिन्न राजनीतिक दलहरूको दबाबपछि घटनामा संलग्न सुरक्षाकर्मी निलम्बनमा परेका छन्। संघले उक्त घटनाको भर्त्सना गर्दै आइतबार देशभरका निजी तथा सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =