स्याङ्जा : बसाइँ सर्नेको लर्को

हिमाल प्रेस २८ माघ २०७९ ९:२०
10
SHARES
स्याङ्जा : बसाइँ सर्नेको लर्को

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाइँ सरेर अन्यत्र जानेको संख्या बढेका छन्। गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाइँ सरेर गएका हुन्।

उक्त घरधुरीका दुई हजार आठ सय ९८ जना बसाइँ सरेका नगरपालिकाको पञ्जीकरण शाखाका अपरेटर पदम पराजुलीले जानकारी दिए।

विसं २०७८ मा वालिङबाट दुई सय ४६ घरधुरीका नौ सय ४४ जना बसाइँ सरेर अन्यत्र गएकामा यस वर्षको हालसम्म दुई हजार आठ सय ९८ जना गइसकेका छन्। बसाइँ सरेर अन्यत्र जानेको तुलनामा अन्यत्रबाट बसाइँ सरेर आउने पनि छन्।

बसाइँ सरेर आउनेभन्दा जानेको संख्या बर्सेनि बढ्दो क्रममा रहेको छ। गत वर्ष एक सय १६ घरधुरीका चार सय ३७ जना र २०७९ को हालसम्म दुई सय ९४ घरधुरीका एक हजार एक सय १६ जना बसाइँ सरी आएका तथ्यांक रहेको उनले जानकारी दिए।

चौधवटा वडा रहेको नगरपालिकाका केही वडामा बजार विस्तार हुने क्रम बढ्दो छ। केही वडा ग्रामीण र विकट छन्। ग्रामीण भेगका वडाबाट बजारतिर बसाइँ सर्ने क्रम बढ्दै गएको छ। बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको संख्या पनि उत्तिकै छ।

यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट एक सय ४३ घरधुरीका पाँच सय ७९, वडा नं १४ बाट एक सय ३६ घरधुरीका चार सय ९९ जना बसाइँ सरेर गए । यस वर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाइँ सरे।

विसं २०७८ मा वडा नं १४ का ३८ र १२ का ३६ घरधुरी बसाइँ सरेर गए । १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाइँ सरेका उनले जानकारी दिए।

स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन्।

ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने धारणा उनको छ।

बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाइँ जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाइँ सरेर जाने गरेका छन्।

प्रकाशित: २८ माघ २०७९ ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast