अस्ट्रेलियाविरुद्ध भारतले लियो १४४ रनको अग्रता

हिमाल प्रेस २७ माघ २०७९ १७:५६
10
SHARES
अस्ट्रेलियाविरुद्ध भारतले लियो १४४ रनको अग्रता

काठमाडौँ- पहिलो टेस्टको दोस्रो दिन सकिँदा भारतले १४४ रनको अग्रता कायम गरेको छ। नागपुरमा जारी टेस्टमा भारतले पहिलो इनिङ्समा सात विकेट गुमाएर ३२१ रन बनायो।

रोहित शर्माले कप्तानका रुपमा पहिलो पटक शतक प्रहार गरे भने रविन्द्र जडेजा र अक्सर पटेलले अर्धशतक बनाए। समग्रमा रोहितका लागि टेस्ट क्रिकेटमा यो नवौँ शतक थियो। उता इंग्ल्यान्डले पहिलो इनिङ्समा सबै विकेट गुमाउँदा १७७ रन मात्र बटुल्न सकेको थियो।

कप्तान रोहितले १२० रन बनाउँदा उनीसँगै ओपनिङ गरेका केएल राहुल २० रनमा सीमित भएका थिए। मध्यक्रमका चेतेश्वर पुजारा (७), विराट कोहली (१२) र सूर्यकुमार यादव (८) रन बनाएर आउट भएपछि अप्ठ्यारोमा परेको भारतीय इनिङ्स जडेजाले उकासे।

६६ रन बटुलेका जडेजाले अक्सर पटेलसँग ८१ रनको साझेदारी गरे। त्यसअघि उनी र रोहितबीच छैटौँ विकेटका लागि ६१ रनको साझेदारी स्थापित भएको थियो। जडेजा जस्तै अविजित रहेका अक्सरले ५२ रनको योगदान गरे।

अस्ट्रेलियाका लागि पहिलो टेस्ट खेलिरहेका टोड मर्फीले ८२ रन खर्चिएर पाँच विकेट हात पारे। केएल राहुल, रविचन्द्रन आश्विन, चेतेश्वर पुजरा, विराट कोहली र शिखर भरत मर्फीको बलमा आउट भए। कप्तान पाट कुमिन्स र नाथन लियोनले एक–एक विकेट लिए। कप्तान कुसमिन्सले विपक्षी कप्तान रोहितको विकेट लिएका थिए।

टेस्ट करियरमा दोस्रो पटक अर्धशतक प्रहार गरेका अक्सरले आत्मविश्वास नगुमाई ब्याटिङ गरेको प्रतिक्रिया दिए। ‘मलाई लाग्छ एक वर्षयता मैले राम्रो ब्याटिङ गरिरहेको छु। सायद त्यही भएर आज आत्मविश्वासी भएर खेल्न सकेँ। आफ्नो शैलीमा ब्याटिङ गरेँ। सुरुमा त केही अप्ठ्यारो महसुस भयो। तर पिचमा समय व्यतित हुँदै गएपछि लय समातेँ। जडेजा र मैले निरन्तर बात मार्दै खेल्यौँ। ध्यान केन्द्रित गरेर खेल्नुपर्छ भन्ने कुरामा हामी सचेत थियौँ,’ अक्सरले भने।

पाहुना टिमबाट प्रभावशाली प्रदर्शन गरेका मर्फीले जसरी हुन्छ एक विकेट लिने लक्ष्यका साथ खेलेको प्रतिक्रिया थिए। ‘यत्तिको ठूलो खेलमा एक विकेट त लिनैपर्छ भन्ने लागेको थियो। तर पाँच विकेट लिन सकेँ। वास्तवमा भन्दा म अहिले प्रतिक्रियाविहीन छु। किनभने यति चाँडै यत्तिको प्रदर्शन गर्न सक्छु जस्तो लागेको थिएन। टिममा परेको खबर पाएपछि मेरो एउटै लक्ष्य थियो, रमाइलो मानेर खेल्ने। जडेजा, अक्सर, आश्विन जस्ता स्थिर प्रदर्शन खेलाडीलाई आउट गर्न सके। मेरा लागि यो असाधारण सफलता हो,’ २२ वर्षीय मर्फीले भने।

प्रकाशित: २७ माघ २०७९ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =