काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन कार्यान्वयन गर्न अझै बाँकी रहेकी बताएकी छन्। उनले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रहसमेत गरेकी छन्।
उनले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै भनिन्, ‘संविधान र कानुनले प्रत्याभूत गरेका विषय पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी छ।’ सरकारले सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम तत्काल नतिजा आउने गरी कार्यान्वयनमा लैजाने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।
उनले भनिन्, ‘वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको छ। ती विषय कार्यान्वयन गर्न सरकारले समयवद्ध कार्ययोजना पनि बनाइसकेको छ। यसलाई नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजानेछ भन्ने मेरो विश्वास छ।’
यस्तै उनले नागरिकको समृद्धि र विकासप्रतिको आकांक्षा पूरा गर्न तीन वटै तहका सरकारका सबै संयन्त्र एक आपसमा समन्वय र हातेमालो गर्दै प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरेकी छन्।
उनले भनिन्, ‘सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गर्दछु।’
साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विगतमा झैं आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने उनको विश्वास छ। राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।
उनले भनिन्, ‘मेरो कार्यकालमा सहयोग पुर्याउने नेपाल सरकार, राजनीतिक दल, राष्ट्रसेवक एवं शुभेच्छाकर्मी सञ्चारमाध्याम तथा सञ्चारकर्मीलगायत आमनेपाली नागरिकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।’