साफ अन्डर–२० चम्पियनसिप : फेरि च्याम्पियन बन्यो बंगलादेश, नेपाल सजिलै पराजित

हिमाल प्रेस २६ माघ २०७९ १९:४८
12
SHARES
साफ अन्डर–२० चम्पियनसिप : फेरि च्याम्पियन बन्यो बंगलादेश, नेपाल सजिलै पराजित

काठमाडौँ- नेपाललाई हराउँदै बंगलादेशले बिहीबार साफ अन्डर–२० चम्पियनसिपको उपाधि जितेको छ। ढाकास्थित बीएसएसएस मोस्तफा कमाल रंगशालामा भएको उपाधि भिडन्तमा नेपालमाथि ३–० को जित दर्ता गरेपछि बंगलादेश च्याम्पियन बनेको हो।

विजेता बंगलादेशका लागि शाहिदा अक्तेर रिपाले ४२ औँ मिनेटमा गोलको खाता खोलेकी थिइन्। पहिलो हाफ सकिनै लाग्दा कप्तान शामशुन्नाहारले अग्रता दोब्बर बनाइन् भने दोस्रो हाफको ८७ औँ मिनेटमा उन्नोती खातुनले तेस्रो तथा अन्तिम गोल गरिन्।

बंगलादेशले उमेर समूहको महिला साफ च्यामिपयनसिप तेस्रो पटक जितेको हो। यसअघि बंगलादेशी टिमले सन् २०१८ र २०२१ मा यो प्रतियोगिता जितेको थियो। सन् २०१८ मा उपाधि उचाल्दा बंगलादेशले नेपाललाई हराएको थियो। गत वर्ष भने बंगलादेशलाई पछि पार्दै भारत विजेता बनेको थियो।

बंगलादेशका तीनै गोल नेपाली खेलाडीले गल्ती गर्दा सम्भव भए। नपाली रक्षक रक्षक कुमारी तामाङले बल राम्रोसँग क्लियर गर्न नसकेपछि घरेलु टिमले पहिलो गोल गरेको थियो।

पहिलो गोलको मुभ बंगलादेशकी सप्ना रानीको लामो क्रसबाट सुरु भएको थियो। उनको क्रस शाहिदा अक्तेर रिपाले नियन्त्रणमा लिने प्रयास गरिन्। उनले राम्रोसँग टच लिन नपाउँदै बल मोस्ट अक्लिमा खातुनले भेटिन्। खातुनले प्रहार गर्नै लाग्दा प्रतीक्षा चौधरीले ट्याकल गरिन्। त्यसपछि कुमारीले बललाई मिडफिल्डतिर फर्काउने प्रयास गरिन्। तर बल रिपाले नै भेटिन् र लामो प्रहार गर्दै गोलमा परिणत गरिन्।

बंगलादेशी रक्षापंक्तिबाट आएको बल प्रतीक्षाले क्लियर गर्न खोजिन्। तर उनको फितलो प्रयासपछि बल बंगलादेशकी खातुनले भेटिन्। उनीबाट कप्तान शामशुन्नाहारले लिँदै प्रहार गरिन्। जसलाई बक्समा एक्लै रहेकी नेपाली गोलरक्षक कविता बिकले रोक्न सकिनन्।

तेस्रो गोल बंगलादेशले फ्रिकिकमा सिर्जना ग¥यो। शामशुन्नाहारलाई प्रतीक्षाले फउल गरेपछि बंगलादेशले फ्रिकिक पाएको थियो। फरवार्ड रिपाले पेनाल्टी बक्सको बाहिरबाट गरेको प्रहारबाट आएको बललाई एफिदा उन्नोती खातुनले हेड गर्दै गोलमा परिणत गरिन्।

उमेर समूहको महिला साफ च्याम्पियनसिपमा नेपाल चौथो पटक हारेको हो। नेपाल सन् २०१८ संस्करणको समूह चरणमै २–१ ले पराजित भएको थियो। त्यसको तीन वर्षपछिको खेल बराबरीमा टुंगिए पनि गत वर्ष भने नेपाल ४–२ ले हा¥यो। यसपालि राउन्डरोबिनमा बंगलादेशले नेपाललाई ३–१ ले पराजित गरेको थियो।

प्रकाशित: २६ माघ २०७९ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =