चर्चा सुपर लिगको : रियल, बार्सिलोना र युभेन्टस ‘विद्रोही’ लिग ब्युँताउने पक्षमा

हिमाल प्रेस २६ माघ २०७९ १८:०१
16
SHARES
चर्चा सुपर लिगको : रियल, बार्सिलोना र युभेन्टस ‘विद्रोही’ लिग ब्युँताउने पक्षमा

काठमाडौँ- फेरि एकपल्ट युरोपियन सुपर लिग गठनको प्रयास हुने भएको छ। दुई वर्षअघि असफल भएको सुपर लिगको अवधारणालाई स्थापित गर्न पुनः प्रयास गरिने ए२२ ले जनाएको छ। ए२२ सुपर लिग स्पेनी राजधानी म्याड्रिडमा अवस्थित कम्पनी हो, जो सुपर लिग अन्तर्गत छ।

ए२२ ले सुपर लिग अवधारणामा केही परिवर्तन पनि गरेको छ। अब यो लिगमा ६० देखि ८० क्लबलाई सहभागी गराउने योजना बनाइएको छ। श्रेणीगत लिग गराउने र कुनै पनि क्लबलाई एकै श्रेणीको स्थायी सदस्य नबनाउने योजना ए२२ को छ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले वर्षेनी आयोजना गर्ने च्याम्पियन्स लिग जस्तै नयाँ लिग आयोजना गर्ने भनेर अप्रिल, २०२१ मा युरोपका १२ ठूला क्लब तात्तिएका थिए। ती १२ मध्ये अगुवाई रियल म्याड्रिड, बार्सिलोना र युभेन्टसको थियो। च्याम्पियन्स लिगबाट हुने आम्दानीमा क्लबहरूको हिस्सा कम भएकाले क्लबहरू आफैँले युरोपेली प्रतियोगिता आयोजनामा ती क्लब लागेका थिए।

यूईएफए, समर्थक, प्रिमियर लिगलगायतका ठूला लिग आयोजकहरूको विरोधपछि इंग्ल्यान्डका म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी जस्ता क्लब पछि हटेका थिए। तर स्पेनका दुई ठूला क्लब र इटालीको युभेन्टसले भने सुपर लिगको अवधारणालाई मर्न दिएका थिएनन्।

सुपर लिग गठन र आयोजनालाई रोक्न र्यूइएफए युरोपेली अदालत गएको छ। जहाँ मुद्दाको छिनोफानो हुन बाँकी छ। मुद्दाको छिनोफानो हुनुअघि नै ए२२ सुपर लिगको अवधारणालाई संशोधन गरेर फर्किएको हो। उसले युरोपभरका साना–ठूला क्लबहरूसँग सल्लाह गरेको दाबी गरेको छ। युरोपेली क्लब फुटबलमा आर्थिक मन्दी रहेकाले यसलाई बचाउन सुपर लिगको विकल्प नरहेको उसको दाबी छ।

ए२२ ले सुपर लिगमा ६० देखि ८० क्लबलाई सहभागी गराउने त भनेको छ तर लिगको संरचनाबारे केही जानकरी दिएको छैन। सुरुमा जोडिएका क्लब बाहिरिन चाहे तिनको स्थानमा नयाँ क्लबको प्रवेश व्यवस्थापन कसरी गर्ने भन्नेबारे केही भनिएको छैन। सुपर लिगको पुरानो अवधारणा अनुसार १२ क्लबलाई संस्थापक मानिएको थियो। जसमध्ये ६ क्लब प्रिमियर लिगका थिए।

सुपर लिगको प्रस्तावित नयाँ संरचनाबारे रियल, बार्सिलोना र युभेन्टसले गोप्य राखेकाले यसबारे तीन क्लबबाहेक इच्छुक अरु क्लबले संशय व्यक्त गर्ने सम्भावना छ। यद्यपि यसका प्रवर्तक तथा रियलका अध्यक्ष फ्लोरिन्टनो पेरेजले सुपर लिगको आम्दानी सबै क्लबमा बराबरी बाँड्ने बाचा गरेका थिए।

सुपर लिगको अवधारणा ब्युँताउने घोषणा भएपछि स्पेनी ला लिगाबाट प्रारम्भिक प्रतिक्रिया आएको छ। ‘सुपर लिग ब्वाँसो हो। हेर्दा सबैलाई खुुसी बनाउने हजुरआमा जस्तो देखिए पनि यसले युरोपियन फुटबल बिगार्ने प्रपञ्च गर्दैछ। उसका ठूला ठूला दाँत र नाक छन्। चार श्रेणी बनाउने भनिएको छ। माथिल्लो श्रेणीमा को हुन्छ? अवश्य पनि तिनै ठूला क्लब। लिगलाई नियमन गर्ने कसले? फेरि तिनै क्लब,’ ला लिगाका अध्यक्ष जाभियर टेबासले भनेका छन्।

सुपर लिगका विषयमा ए२२ का कार्यकारी अधिकृत बन्र्ड रेइचार्टले जर्मन अखबार वेल्टमा एक लेख लेख्दै युईएफएको आलोचना गरेका छन्। ‘यूईएफएले सञ्चालन गर्ने कुनै पनि लिगमा क्लबहरूलाई महत्त्व दिइँदैन। कुनै निर्णयमा क्लबहरूलाई सोधिँदैन। यूईएफएको विरोध गर्न पनि पाइँदैन किनभने कारबाहीको धम्की दिइन्छ। यसकारण यूईएफएसँगको सम्बन्धले क्लबहरूलाई घाटा छ,’ रेइचार्टले भनेका छन्।

रेइचार्टले लेखमार्फत महिला फुटबलको विकास, घरेलु लिग तथा प्रतियोगिताहरूको प्रवर्द्धन, खेलाडीको स्वास्थ्यलालाई लिएर गम्भिरता, वित्तीय स्थिरता लगायतका विषयमा चर्चा गरेका छन्। यद्यपि यो लिगको सम्भावित आम्दानीबारे भने चर्चा गरेका छैनन्, रेइचार्टले।

सन् २०२१ मा सुपर लिगको अवधारणा सार्वजनिक गर्दा पेरेजबाहेक युभेन्टसका पूर्वअध्यक्ष आन्द्रे आग्नेली र म्यानचेस्टर युनाइटेडका सह–स्वामित्वकर्ता जोएल ग्लेजरलाई केन्द्रमा राखिएको थियो। रियल, युभेन्टस र युनाइटेड यस्ता तीन क्लब हुन् जसले च्याम्पियन्स लिगको नयाँ संरचना तय गर्न मुख्य भूमिका खेलेका थिए।

नयाँ संरचना अनुसार सन् २०२४ पछि च्याम्पियन्स लिगमा ३६ टिम १० समूहमा रहेर समूह चरणको प्रतिस्पर्धामा रहनेछन्। हाल च्याम्पियन्स लिगमा ६ समूहमा २४ टिमले सुरुवाती चरणमा प्रतिस्पर्धा गर्छन्।

च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स लिगबाट हुने आम्दानीमा यूईएफए र युरोपेली क्लब संघको नियन्त्रण हुने गर्छ। आम्दानीमा आफूहरूको हिस्सा बढी हुनुपर्ने सुपर लिगमा संगठित हुने प्रयास गरिरहेका रियललगायतका क्लबहरूको माग रहँदै आएकाे छ।

प्रकाशित: २६ माघ २०७९ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =