साफ अन्डर-२० महिला च्याम्पियनसिप फाइनल : उत्साही नेपाल, आत्मविश्वासी बंगलादेश

हिमाल प्रेस २६ माघ २०७९ १३:०३
4
SHARES
साफ अन्डर-२० महिला च्याम्पियनसिप फाइनल : उत्साही नेपाल, आत्मविश्वासी बंगलादेश

काठमाडौँ- नेपाल सन् २०१८ को साफ अन्डर–१८ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। उमेर समूहको साफ महिला च्याम्पियनसिपमा हालसम्म नेपालले हासिल गरेको सबैभन्दा ठूलो सफलता त्यही फाइनल हो। जहाँ नेपाललाई बंगलादेशले पराजित गरेको थियो।

त्यही बंगलादेशसँग नेपाल फेरि एकपल्ट उपाधिका लागि बिहीबार साँझ आमनेसामने हुँदैछ। यो प्रतियोगिताका पछिल्ला दुई संस्करण १८ वर्षमुनि र एक संस्करण १९ वर्षमुनिको थिए। यसपालि भने यसलाई २० वर्षमुनिको बनाइएको छ।

गत वर्ष भारतले आयोजना गरेको यो प्रतियोगिता नेपालका लागि बिर्सनलायकको रहेको थियो। भारत र बंगलादेशसँग एकै समूहमा परेको नेपालले दुवै खेल त हार्‍यो नै, १८ गोल पनि खायो। भारतसँग मात्रै नेपालले सात गोल खाएको थियो।

यसपालि भने त्यही भारतमाथि पुनरागमन जित हासिल गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो। ढाकाको बीएसएसएस मोस्तफा कमल रंगशालामा पहिलो हाफमै गोल खाएको नेपालले लगातार तीन गोल फर्काएको थियो।

प्रतियोगिताको इतिहासकै दोस्रो सफल टिमलाई हराएपछि नेपाल अब सर्वाधिक सफल टिमतिर केन्द्रित छ। दुई पटकको च्यामिपयन बंगलादेशलाई हराउन पछिल्ला खेलमा भन्दा फरक शैलीमा खेल्ने नेपालका मुख्यप्रशिक्षक यामप्रसाद गुरुङको भनाइ छ।

‘बंगलादेशले हामीभन्दा राम्रो प्रदर्शन गरिरहेको छ। उसलाई घरेलु समर्थकको साथ रहनेछ। यी कारणले बंगलादेश हाम्रा लागि कठिन विपक्षी हो। तर हामीलाई बंगलादेशको सबलसँगै कमजोर पक्ष पनि थाहा छ। यसकारण हामीलाई रणनीति बनाउन सहज हुनेछ,’ गुरुङलाई उदृत गर्दै बंगलादेशी अखबार द डेली स्टारले लेखेको छ, ‘फाइनल भएकाले यो फरक खालको खेल हुनेछ। हामी फरक शैली र रणनीतिमा खेल्नेछौँ।

ढाकामा जारी प्रतियोगितामा नेपाल र बंगलादेश दोस्रो पटक भिड्न लागेका हुन्। राउन्डरोबिन पद्धतिमा भइरहेको प्रतियोगिता अन्तर्गत बंगलादेशसँगको पहिलो भेटमा नेपाल ३–१ ले हारेको थियो। पहिलो हाफको तेस्रो मिनेटमै गोल खाएको नेपालले १३ औँ मिनेटमा दोस्रो गोल खान पुग्यो। २४ औँ मिनेटमा गोल फर्काए पनि दोस्रो हाफको उत्तरार्द्धमा थप एक गोल खाँदै नेपालले निराशाजनक हार व्यहोरेको थियो।

सुरुवात कमजोर भए पनि दोस्रो खेलमा भुटानलाई ४–० ले पाखा लगाएपछि भने नेपालले फाइनल सम्भावनालाई जीवित राखेको थियो। भुटानमाथि आर्कषक जित दर्ता गर्दा पनि मुख्यप्रशिक्षक गुरुङ पूर्ण रुपमा सन्तुष्ट देखिएका थिएनन्। कृत्रिम मैदानमा खेल्नु परेकै कारण खेलाडी घाइते भएको उनको गुनासो थियो। त्यस खेलमा नेपालले कुसुम खतिवडालाई गुमाएको थियो।

मैदानसँगै बलबारे असन्तुष्टि पोखेका गुरुङले आफ्ना खेलाडीले स्तर अनुसारको प्रदर्शन गर्न नसकेको बताएका थिए। विशेषगरी अग्रपंक्तिले निरन्तर गल्ती गरेको उनको भनाइ थियो।

भारतसँगको खेलपछि पनि गुरुङले खेलाडीको प्रदर्शनलाई लिएर असन्तुष्टि दोहोर्‍याए। ‘खेलाडीले शतप्रतिशत मेहनत गरेनन्। आशा छ फाइनलमा यो पक्षमा सुधार हुनेछ। त्यसो भएमा बंगलादेशलाई हराउन सकिनेछ,’ गुरुङले भनेका थिए।

बंगलादेशका मुख्यप्रशिक्षक गोलाम रब्बानी छोटोनले फाइनल प्रतिस्पर्धात्मक हुने अनुमान गरेका छन्। नेपाल सजिलो विपक्षी नभएको स्वीकार गरेका छोटोनले विगतका नतिजा पनि सम्झिए। बंगलादेशल नेपालसँग कहिल्यै हारेको छैन।

सन् २०१८ मा नेपाल समूह चरणमै बंगलादेशसँग २–१ ले हारेको थियो। त्यसको तीन वर्षपछिको खेल बराबरीमा टुंगिए पनि गत वर्ष भने नेपाल बंगलादेशसँग ४–२ ले पराजित भयो।

‘यसपालि पनि हामीले नेपाललाई हराइसकेका छौँ। त्यस खेलमा हामीले निकै अवसर सिर्जना गर्‍यौँ। तर फिनिसिङ कमजोर हुँदा गोल अन्तर बढाउन सकिएन। फिनिसिङ सुधार्न हामीले अभ्यासमा मेहनत गरेका छौँ। आशा छ फरवार्डहरूले राम्रो प्रदर्शन गर्नेछन्,’ छोटोनले भने।

लामो समयदेखि बंगलादेशको महिला रािष्ट्रय टिमका साथै उमेर समूहका टिमलाई प्रशिक्षक दिइरहेका छोटोनका लागि नेपाल नौलो विपक्षी होइन। गत सेप्टेम्बरमा नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिप च्याम्पियन बन्दा छोटोन नै प्रशिक्षक थिए।

प्रकाशित: २६ माघ २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =