वन्यजन्तुबाट तरकारी जोगाउनै मुस्किल

हिमाल प्रेस २६ माघ २०७९ ७:१०
4
SHARES
वन्यजन्तुबाट तरकारी जोगाउनै मुस्किल

काठमाडौँ- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन्। निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ।

निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पुर्‍याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताए। उनले तरकारी जोगाउन खेतमा जाग्राम बस्न बाध्य भएको बताए।

विसं २०६३ देखि तरकारी खेती गर्दै आउनुभएका रानाले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको सुनाए। ‘निकुञ्जका वन्यजन्तुले खेती नष्ट गरिदिन्छन्।’ तरकारी लगाएको खेतको छेउमा रहेको झुपडी देखाउँदै उनले भने, ‘झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ।’

निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उनले बताए। ‘जंगलबाट हात्ती आउने डर हुन्छ, राति डरैडरले बस्नुपर्छ’, उनले भने, ‘गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँकै एक जनालाई आक्रमण गरेको थियो।’

रानाले १५ कठ्ठामा खेती गर्दै आएका छन्। ‘तरकारी खेती गरेरै घर खर्च र छोराछोरीको पढाइ खर्च चलाइराखेको छु’, उनले भने, ‘वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ।’

यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जीविकोपार्जन गरिरहेका सुदामा रानाले बताए। ‘यहाँ सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका छौँ’, उनले भने, ‘अन्य बालीभन्दा तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुन्छ।’

प्रकाशित: २६ माघ २०७९ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =