अर्जेन्टिनासहित चार दक्षिण अमेरिकी देशले विश्वकप २०३० आयोजनाकाे प्रस्ताव राख्ने

हिमाल प्रेस २५ माघ २०७९ १९:५७
6
SHARES
अर्जेन्टिनासहित चार दक्षिण अमेरिकी देशले विश्वकप २०३० आयोजनाकाे प्रस्ताव राख्ने

काठमाडौँ- अर्जेन्टिनाले चिली, उरुग्वे र पाराग्वेसँग मिलेर विश्वकप २०३० आयोजनाका लागि संयुक्त प्रस्ताव पेश गर्ने भएको छ। मंगलबार अर्जेन्टिनामा एक समारोहमा दक्षिण अमेरिकाका चार देशले विश्वप आयोजनाको प्रस्ताव फिफासमक्ष पेश गर्ने औपचारिक जानकारी दिएको हो।

उरुग्वेको राजधानी मोन्टेभिडियोले सन् १९३० मा विश्वकपको पहिलो संस्करण आयोजन गरेको थियो। त्यसको एक सय वर्षपछि उरुग्वे आफ्ना छिमेकीहरूसँग मिलेर विश्व फुटबलका् सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्न तम्सिएको छ।

‘पहिलो पटक विश्वकप एक सय वर्षअघि आयोजना गरिएको थियो। दक्षिण अमेरिकाले आयोजना गर्ने सौभाग्य पाएको थियो। त्यो सुन्दर विश्वकप हामीले बिर्सिएका छैनौँ। त्यसबेला विश्वकप आयोजना गर्न खटिएका सबैजनाको सम्झनामा फिफाले सन् २०३० को विश्वकप आयोजना गर्न दक्षिण अमेरिकालाई दिनुपर्छ,’ दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) का अध्यक्ष अलेहान्द्रो डोमिन्गेजले भनेका छन्।

विश्वकप २०३० को आयोजना अधिकारका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। दक्षिण अमेरिकी टोलीबाहेक युरोपका स्पेन, पोर्चुगल र युक्रेन पनि विश्वकप आयोजनाका लागि इच्छुक छन्। उता साउदी अरबले इजिप्ट र ग्रिससँग मिलेर विश्वकप आयोजना प्रस्ताव राख्ने तयारी गरिरहेको छ।

डोमिन्गेजले यसअघि फिफाले पेले र म्याराडोना जस्ता विश्वविख्यात दक्षिण अमेरिकी खेलाडीहरूको सम्मानका लागि भए पनि विश्वकप २०३० आयोजना गर्ने जिम्मा आफूहरूलाई दिनुपर्ने बताएका थिए।

विश्वकप पहिलो संस्करणको आयोजक उरुग्वे च्याम्पियन पनि बनेको थियो। कुल १३ टिमसम्मिलित त्यस विश्वकपको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले पराजित गरेको थियो।

आउँदो विश्वकप चाहिँ अमेरिका, मेक्सिको र क्यानडा मिलेर आयोजना गर्दैछन्। यो विश्वकपमा पहिलो पटक ४८ टिमले भाग लिँदैछन्। सन् २०३० को विश्वकप आयोजक फिफा अधिवेशनमा मतदानद्वारा चुनिनेछ।

प्रकाशित: २५ माघ २०७९ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =