काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलोपटक संघीय संसद्मा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भएको बताएका हुन्।
नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। उनले संसद्मा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए।
‘मलाई यो संसद् होकि, चुनावी सभा हो? छुटयाउन गाह्रो भइरहेको छ। कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन? सबैको नजर केन्द्रित भएर संसद्मा झुटो बोल्नु हुँदैन। यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ।’
नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।