भावना र उद्देश्य लिएर नेपाली क्रिकेटमा आएको छु : मुख्यप्रशिक्षक देशाई

हिमाल प्रेस २३ माघ २०७९ १९:४२
48
SHARES
भावना र उद्देश्य लिएर नेपाली क्रिकेटमा आएको छु : मुख्यप्रशिक्षक देशाई

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टी देशाईलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको छ। गत नौ दिनदेखि प्रशिक्षण गराइरहे पनि भारतका देशाईलाई सोमबार मात्र औपचारिक रुपमा मुख्य प्रशिक्षक भनेर चिनाइएको हो। राष्ट्रिय खेलकुद परिषद् राखेप र खेलकुद मन्त्रालयबाट स्वीकृति ढिलोगरी आएकाले औपचारिक घोषणा गर्न पनि ढिलो भएको क्यानको भनाइ छ।

गत मंसिर २९ गते मनोज प्रभाकरले राजीनामा दिएपछि राष्ट्रिय टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो। क्यानले पुस २४ गते मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो। जसमा कुल २४ प्रशिक्षकले आवेदन दिएको र अन्ति सूचीमा पाँच प्रशिक्षकलाई परेका थिए।

नेपालकै पूर्वमुख्यप्रशिक्षकडेभ ह्वाटमोर, श्रीलंकाका धम्मिका प्रसाद, दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिंगो र न्युजिल्यान्डका ग्लेन पोकलनसँगै देशाईले पनि अन्तरवार्ता दिएका थिए। आखिरमा देशाईलाई छानिएको हो। अफगानिस्तान, वेस्टइन्डिज, संयुक्त अरब इमिरेट्स (यूएई) का लागि ब्याटिङ प्रशिक्षक भएर काम गरेका देशाईको नेपालसँगको नाता पुरानो छ।

नेपालको राष्ट्रिय तथा युवा टिमका लागि ब्याटिङ सल्लाहकार रहिसकेका देशाई अब दुई वर्षका लागि मुख्यप्रशिक्षकको पदमा रहनेछन्। दुई वर्षको सम्झौता पूरा गरेपछि तेस्रो वर्षका लागि समेत सम्झौता नवीकरण गर्न सकिने क्यान र देशाईको भनाइ छ।

नेपाली क्रिकेट कठिन परिस्थितिमा रहेका बेला देशाई मुख्यप्रशिक्षकको जिम्मेवारी सम्हाल्न काठमाडौँ ओर्लिएका छन्। आईसीसी विश्वकप लिग–२ का शृंखलामा लगातारको खराब प्रदर्शनले मात्र होइन पूर्वकप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपका कारण पनि नेपाली क्रिकेट अस्तव्यस्त देखिएको छ।

केही समयअघि सकिएको नेपाल टि२० लिगमा स्पट फिक्सिङ भएको आरोप लागेकाले क्यान नेतृत्व तह आलोचित भइरहेको छ। सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएकामा पनि क्यानको चौतर्फी विरोध भइरहेको छ।

मुख्यप्रशिक्षक देशाई भने मैदानबाहिरका कुराले ड्रेसिङ रुमलाई असर पर्न नहुनेमा सचेत रहेको बताउँछन्। ‘म नेपाली टिमको ड्रेसिङ रुम खुसी तुल्याउन चाहन्छु। सबै खेलाडी एकबद्ध भएको हेर्न चाहन्छु,’ देशाईले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा भने।

सन्दीपलाई टिममा राख्नैपर्छ भन्ने छैन : क्यान अध्यक्ष
नेपालले लिग २ मा तीन शृंखलाका १२ एकदिवसीय खेल खेल्न बाँकी छ। तीन शृंखलामध्ये दुई नेपाल आफैँले आयोजना गर्दैछ। यही फेब्रुअरीमा हुने शृंखलामा नेपालले नामिबिया र युएईको सामना गर्नु तालिका छ। यो शृंखला देशाईका लागि पहिलो परीक्षा हुनेछ।

घरेलु मैदानमा हुने शृंखलाका लागि तयारी गर्न माघ १३ गते २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसबेला सन्दीपलाई टिममा राखिएको थिएन। तर जब दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको सूची सार्वजनिक भयो, त्यसमा सन्दीप पनि परे।

सन्दीपलाई प्रशिक्षणमा बोलाइएकोमा चौतर्फी विरोध भइरहेको छ। उसो त क्यानले माघ १८ गतेको बोर्ड बैठकमा उनको निलम्बन फुकुवा गर्दा नै आलोचना भएको थियो। अदालतले बलात्कारको मुद्दा छिनोफानो नगरेकै अवस्थामै उनलाई प्रशिक्षणमा सामेल गराउनु ठिक नभएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भयो।

तर यी कुराले क्यानलाई फरक पारेको देखिएको छैन। उनलाई प्रशिक्षणमा बोलाउँदा कानुन उल्लंघन नहुने भएकैले आफूले त्यस्तो निर्णय लिएको क्यानको भनाइ छ। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई टिममा राख्नै पर्छ भनेर आफूहरूले प्रशिक्षकलाई दबाब नदिएको बताए।

‘सन्दीपलाई टिममा राख्ने वा नराख्ने निर्णय छनोट समिति र मुख्यप्रशिक्षकले गर्ने हो। हामीले उनलाई टिममा राख्न दबाब दिएका छैनौँ,’ अध्यक्ष चन्दले भने।

उता देशाईले सबै प्रक्रिया पालना गरेरै सन्दीपलाई प्रशिक्षणमा सहभागी गराइएको प्रतिक्रिया दिए। ‘म क्रिकेटको भाषा बुझ्छु। मलाई ज्ञान क्रिकेटकै छ। तर सन्दीपलाई सबै प्रक्रिया पालना गरेरै टिममा बोलाइएको हो। उनी दिनहुँ अभ्यास गरिरहेका छन्। यो टिम सेपमा आइरहेको छ,’ राष्ट्रिय टिममा सन्दीप पर्ने सम्भावना नखुलाई देशाईले जवाफ दिए।

सन्दीपलाई प्रश्क्षिणमा देख्दा आफूलाई खुसी लागेको र उनले प्रशिक्षणमा आफ्नो स्वाभाविक क्षमता देखाइरहेको पनि देशाईको भनाइ थियो।

देशाई लामो समय बस्छन् भन्ने क्यानको आश
पछिल्लो समय नेपाली क्रिकेटमा देखिएका कयौँ समस्यामध्येको एक हो, मुख्यप्रशिक्षक चाँडै राजीनामा दिएर हिँड्नु। यही वर्ष मात्र पनि दुई मुख्यप्रशिक्षकले नेपाली राष्ट्रिय टिम छाडे। अन्तै अवसर पाएपछि यो वर्ष पुबुदु दासनायके र गएको वर्ष डेभ ह्वाटमोरले क्यानलाई राजीनामा दिएका थिए।

यसकारण देशाई कति समय बस्लान्, यो आम समर्थकको चासोको विषय बन्नु स्वााभाविक हो। यो संशय हटाउने प्रयास देशाईले गरे। ‘मैले क्यानसँग दुई वर्षको सम्झौता गरेको छुँ। तेस्रो वर्षका लागि नवीकरण गर्न सकिनेछ। म आफ्नो सम्झौताकाल पूरा गर्न प्रतिबद्ध छु,’ देशाईले भने।

राष्ट्रिय टिमका व्यवस्थापक विनोद दास देशाईको बसाइलाई लिएर आशावादी देखिए। ‘उहाँ आफैँले सुरुमै तीन वर्षको सम्झौता गरौँ भन्नु भएको थियो। यसले पनि उहाँ नेपाली क्रिकेटप्रति प्रतिबद्ध हुनुहुन्छ भन्ने देखाउँछ,’ दासले भने, ‘उहाँको उपस्थितिलाई नेपाली क्रिकेटले भरपूर फाइदा उठाउने प्रयास गर्नेछ। हामी दुई पक्षबीच घरेलु क्रिकेटका विषयमा पनि कुरा भइरहेको छ। केही प्रतियोगिता थपिन सक्छन्। योजना अनुसारको काम भए, क्रिकेटमा गहिरो परिवर्तन हुनसक्छ।’

विगतमा केही प्रशिक्षकसँग आपसी समझदारीमा सम्झौता अन्त्य गरेको र केहीले चाहिँ व्यक्तिगत कारणले राजीनामा दिएको दासको भनाइ थियो। ‘कुनै प्रशिक्षक हामीसँग काम गर्न चाहनु हुन्न भने त जबरजस्ती गर्ने कुरा आएन,’ दासले भने।

लक्ष्य स्थिर प्रदर्शनको
पूर्वमुख्यप्रशिक्षकहरूले जस्तै देशाईले पनि नेपाली खेलाडीहरूको सक्दो प्रशंसा गरे। ‘यी खेलाडीहरूसँग कौशल छ। मेहनत गरेर खेल्छन्। सही योजना र रणनीति हुँदा नेपालको प्रदर्शन राम्रो हुनेछ,’ देशाईले भने।

तत्कालका लागि लक्ष्य स्थिर प्रदर्शन रहेको र दिर्घकालिन योजना भने क्रिकेट क्यालेन्डर प्रस्ट भएपछि मात्र बनाउने देशाईको भनाइ थियो। ‘म चाहन्छु, बाँकी एकदिवसीय शृंखलामा स्थिर प्रदर्शन होस्। एसिया कप छनोट पनि खेल्नुछ। दिर्घकालिन योजनाबारे कुरा दुई वर्षको क्यालेन्डर अध्ययन गरेपछि गरौँला,’ देशाईले भने।

लिग–२ मा नेपालले २४ खेल खेलेको छ। तीमध्ये आठमा मात्र जित हासिल गरेको नेपाल हाल छैटौँ स्थानमा सीमित छ। कुल सात टिम रहेको लिग–२ मा शीर्ष पाँचमा रहे मात्र नेपालको एकदिवसीय मान्यता जोगिनेछ। शीर्ष तीनभित्र परेर सिधैँ विश्वकप छनोट खेल्ने सम्भावना सकिइसकेकाले अब नेपालको ध्यान एकदिवसीय मान्यता जोगाउनेतिर छ। यसका लागि नेपालसँग भएको विकल्प हो, बाँकी सबै खेल जित्ने।

नेपाली क्रिकेटको अबको यात्रा अनिश्चितताले घेरिएको देशाई स्वीकार गर्छन्। ‘एकहिसाबले भन्दा अब के हुन्छ भन्ने थाहा छैन। तर पनि हामी उत्साहित छौँ। उत्साहित भएरै तयारी गरिरहेका छौँ। यात्रा चुनौतीपूर्ण छ,’ देशाईले भने, ‘नेपाली खेलाडी प्रतिभावान् भएको कुरा मलाई पहिल्यैबाट थाहा थियो। पुराना खेलाडीले नेपाललाई यहाँसम्म ल्याईपुर्‍याए। अब पालो युवा खेलाडीको हो। अहिले हामीले सात–आठ दिन अभ्यास गरेका छौँ। यसकारण म के भन्न सक्छु यी खेलाडीमा प्रतिभाको कमी छैन। मात्र हामीले एकबद्ध भएर स्थिर प्रदर्शन गर्नुछ।’

पत्रकार सम्मेलनमा देशाईले आफू ‘इमोसन, प्यासन र प्रपोज’ लिएर नेपाल आएको बताइरहे। नेपाली क्रिकेटमा तुलानात्मक रुपमा कम स्रोत भए पनि यहाँका खेलाडीको प्रतिभाका कारण आफू प्रभावित भएको उनको भनाइ थियो।

‘पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी जस्ता खेलाडीको खेल हेरेको छु। नेपालमा प्रतिभा र प्रतिबद्धताको कमी छैन। नेपाली क्रिकेटसँग भावनात्मक नाता छ। म यहाँ इमोसन, प्रपोज र प्यासजनका साथमा आएको छु,’ देशाईले भने।

प्रकाशित: २३ माघ २०७९ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =