काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १० अर्ब ३० करोड अमेरिकी डलर सञ्चिति रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
गत असारसम्म कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो। ६ महिनाको अवधिमा ८ प्रतिशतले वृद्धि भएको हो। नेपाली रुपैयाँमा पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड सञ्चिति रहेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ छ। राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थामा १ खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.४ महिनाको वस्तु तथा ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।