माहुरीको चरन क्षेत्र बन्दै म्याग्दी रत्‍नेचौरको तोरीबारी

हिमाल प्रेस २० माघ २०७९ १५:२३
4
SHARES
माहुरीको चरन क्षेत्र बन्दै म्याग्दी रत्‍नेचौरको तोरीबारी फाइल तस्बिर।

म्याग्दी– रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ। खेतका डिलमा लहरै राखिएका छन् माहुरीका घार। म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने रत्नेचौरको फाँट यतिबेला माहुरीको चरन र मानिसको भीडले ‘भाइरल’ बनेको छ।

यही भाइरल तोरी फाँटमा बेनी-४ सुर्केमेलाका दिल खत्री माहुरी चराउन व्यस्त छन्। उनी रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर माहुरी चराउँछन्। १ दशकदेखि व्यावसायिक रूपमा माहुरीपालन गरेका ४२ वर्षीय खत्री ७० घार माहुरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आएका छन्।

पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा माहुरीको ताँती नै देखिन्छ। ‘मौसमअनुसार आहारा पाइने ठाउँमा माहुरीलाई सार्नुपर्छ, माहुरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ’, उनले भने।

जंगल आसपासका क्षेत्रलाई चरन क्षेत्रका रूपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनाका साथै स्वादिलोसमेत हुने भएकाले समय अनुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उनले बताए। उनी २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया गए। मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर माहुरीपालन गरेका खत्रीले वार्षिक रूपमा माहुरी तथा माहुरीसहितका घार बिक्री गरेर वार्षिक २० लाखको कारोबार गर्ने गरेको बताए।

वार्षिक १ क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक १२ लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ। उनले महका अलवा माहुरीसहित र खाली गरी वार्षिक १ सय माहुरीका घार पनि बिक्री हुने बताए। प्रतिघार माहुरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ। गत वर्ष माहुरीसहितका घार बिक्रीबाट मात्रै उनले १० लाख आम्दानी भएको जानकारी दिए।

यस वर्ष चरन क्षेत्रमा राखेका ७० घार माहुरीबाट दुई सय ५० किलो मह उत्पादन गर्ने अपेक्षा गरेको उनले सुनाए। प्रत्येक घारमा माहुरीले ३देखि चार किलोसम्म मह उत्पादन गर्दछ। ताजा मह १ हजारदेखि १ हजार ५ सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ ।

महका गोला र माहुरीसहितका घार, खाली घार, खाली घार भएका कृषकका लागि माहुरी मात्रै पनि बिक्री गर्ने गरेको उनी बताउँछन्। कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार माहुरीसहित घारको १० हजार, माहुरी मात्रै ५ हजार र खाली घार ३ हजार ५ सयमा बिक्री हुन्छ।

बर्खाको समयमा धान र मकै, हिउँदमा तोरीबारीमा लैजाने गरेकामा पर्याप्त आहारा नपुगेमा माहुरी भाग्ने जोखिम रहेको अर्का कृषक जीवन केसीले बताए। उनले माहुरीको सबैभन्दा पहिलो रोजाइ चिउरी र दोस्रो तोरीबारी रहेको जानकारी दिए। गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फूल फुल्ने सबै बिरुवा अनुकूल भए पनि सबैभन्दा राम्रो तोरी र चिउरी हुने उनको भनाइ छ ।

गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको कृषकहरूको भनाइ छ।

रत्नेचौरको तोरीबारीमा माहुरी चराइरहेका कृषक केसीका अनुसार माहुरीपालनबाट सोचेजस्तै आम्दानी हुने गरेको छ। उनले माहुरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य व्यवसाय गर्न नपर्ने बताए। हरेक मौसममा फरक-फरक ठाउँमा पुर्‍याएर चराउनुपर्ने वाध्यता रहेको उनको भनाइ छ।

बिहान चरन क्षेत्र पुगेका माहुरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिंगाललगायतका किराको आक्रमणले क्षति हुने गरेको कृषकले बताएका छन्।

विगतमा माहुरीले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै माहुरीपालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए। म्याग्दीमा अगुवा कृषकले माहुरी पालनबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन्। एकै ठाउँमा चरन क्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँठाउँमा घार राख्ने गरिएको छ। -राससको सहयोगमा

प्रकाशित: २० माघ २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast