वैश्विक परिदृश्य दिनप्रति दिन जटिल बन्दै गएको छ। कोभिड-१९ महामारी, रुस-युक्रेन युद्ध तथा मुद्रास्फितिलगायत आर्थिक गतिविधिमा उत्पन्न व्यवधानका कारण विश्वव्यापी रूपमा आर्थिक वृद्धि सुस्ताइरहेको छ। चालु वर्ष सन् २००९ र २०२० को विश्वव्यापी मन्दीपछि तीन दशकयताकै सबैभन्दा खराब हुने पनि विश्व बैंकले औँल्याएको छ।
हालै संयुक्त राष्ट्रसंघले ‘सन् २०२३ विश्व अर्थतन्त्रको स्थिति र दृष्टिकोण’ प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि गति घटेर १.९ प्रतिशत हुने अनुमान गरिएको छ। यस्तो पृष्ठभूमिमा चीनको अर्थतन्त्रको वृद्धि गति भने ४.८ प्रतिशत पुग्ने उल्लेख छ। यसबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ‘विश्व अर्थतन्त्र आउटलुक प्रतिवेदन’ले पनि चालु वर्ष चीनको आर्थिक वृद्धि दर ५.२ प्रतिशत पुग्ने अनुमान गरेको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले फेब्रुअरी १ मा आयोजित पत्रकार सम्मेलनमा पनि मोर्गन स्टान्ली, गोल्डम्यान साचलगायत बहुराष्ट्रिय लगानी संस्थानले सन् २०२३ मा चीनको आर्थिक वृद्धि गतिको प्रक्षेपणलाई परिमार्जन गरेको बताइन्। प्रवक्ता माउले चीन आफ्नो आर्थिक विकासको भविष्यप्रति आशावादी रहेको तथा चालु वर्षमा चीनले विश्व अर्थतन्त्रलाई निरन्तर रूपमा विश्वास र शक्ति थप्ने पनि औँल्याइन्।
साथै विश्व बैंकले यस वर्ष चीनको अर्थतन्त्र ४.३ प्रतिशतले बढ्ने र सन् २०२४ मा ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। चीनको कोभिड-१९ प्रतिको नीति नयाँ चरणमा प्रवेश गरेपछि यस्तो प्रक्षेपण गरिएको हो। कोभिड-१९को स्थितिमा आएको सुधार, खोप मात्रामा वृद्धि र व्यापक रूपमा भाइरस नियन्त्रण र रोकथामको अनुभव सँगालेपछि चीनले जनवरी ८ मा कोभिड-१९ को व्यवस्थापनलाई ‘ए’ बाट वर्ग ‘बी’ मा वर्गीकरण गर्दै झारेको थियो। (‘बी’ मा वर्गीकृत सरुवा रोग त्यस्ता रोग हुन्, जुन सजिलै सर्दैन साथै कतिपय रोगको उपचारसमेत उपलब्ध छ। एड्स, क्षयरोग, कोभिड-१९ सहित २८ वटा रोग यसमा समावेश छन्।)
विश्व बैंकले जनवरी १० मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स रिपोर्टमा भनिएको छ, ‘महामारीसँग सम्बन्धित प्रतिबन्धहरू खुकुलो हुँदै जाँदा सन् २०२३ मा चीनको आर्थिक वृद्धि दर बलियो हुने सम्भावना छ। साथै उक्त अर्धवार्षिक प्रतिवेदनमा चीनबाहेक अरू सबै प्रमुख अर्थतन्त्र र क्षेत्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को विस्तार सुस्त हुने प्रक्षेपण गरिएको छ।
यस्तो नैराश्य वैश्विक आर्थिक दृश्यमा चीन यसपटक पनि आशाको किरण बनेर आएको छ। हालै सम्पन्न चिनियाँको वसन्त चाडले यस्तो आशा जगाइदिएको हो।
चिनियाँहरूले कोरोना महामारीको तीन वर्षपछि नयाँ खरायो वर्षलाई धुमधाम रूपमा मनाउँछन्। यो चिनियाँको महत्त्वपूर्ण चाड हो। सात दिन लामो यो पर्व पारिवारिक पुनःमिलन, उत्सव र यात्राको समय हो। चाडका बेला चीनभित्रको आर्थिक चलायमानले विश्वको खुम्चिँदो अर्थतन्त्रलाई अक्सिजन दिएको छ।
जनवरी २१ देखि २७ सम्म चलेको एक साता लामो बिदाको अवधिमा चीनको उपभोगसँग सम्बन्धित क्षेत्रको बिक्री आय गत वर्षको तुलनामा १२.२ प्रतिशतले बढेको छ। चीनको आन्तरिक तथा पर्यटन बजारले पछिल्लो तीन वर्षयताको अवस्थामा व्यापक सुधार ल्याएको छ।
कोभिड-१९ नीति खुकुलो बनाएपछि घरेलु आकर्षण तथा गन्तव्य सहज रूपमा सञ्चालन भएका छन्। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार देशका १० हजार ७ सय ३९ स्थलमध्ये करिब ७४ प्रतिशत ‘ए’ रेटिङ भएका पर्यटकीयस्थल बिदाको समयमा सर्वसाधारणका लागि खुला गरिएका थिए। वसन्त चाडको बिदामा पर्यटन क्षेत्र नयाँ उचाइमा पुगेको छ। घरेलु र बाह्य दुवै यात्राको संख्या तथा ‘रिर्जभेसन’ गत वर्षको तुलनामा चार गुणाले बढेको छ।
चिनियाँले आन्तरिक पर्यटन, विश्व पर्यटनसँगै आन्तरिक बजारलाई पनि चलायमान बनाएका छन्। विभिन्न उत्पादन र सेवाको मागको विस्तारले यो बिदाको अवधिमा खुद्रा बजारको प्रवर्धन व्यापक भएको छ।
संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांकअनुसार एक साता लामो बिदामा करिब ३० करोड ८० लाख आन्तरिक भ्रमण भएका छन्। जुन गत वर्ष वसन्त चाडको बिदाको तुलनामा २३.१ प्रतिशतले बढी हो। सन् २०१९ को सोही बिदाको तुलनामा ८८.६ प्रतिशत बढी हो। आन्तरिक पर्यटन आय ३ खर्ब ७५ अर्ब ८४ करोड ३० लाख चिनियाँ युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढेको छ।
सात दिनको अवधिमा रेल र सडक यात्राको संख्या क्रमशः ५०.१७ मिलियन र १६२ मिलियन पुगेको छ। जबकि जलमार्ग र हवाईयात्राको संख्या लगभग ४.८७ मिलियन र ९.०१ मिलियन पुगेको छ।
अनलाइन ट्राभल एजेन्सी ‘ट्रिप डटकम’को तथ्यांकअनुसार यस वर्ष चाडमा पर्यटन आरक्षण गत वर्षको तुलनामा चार गुणाले बढेको छ। पछिल्लो तीन वर्षमा घरेलु र बाह्य दुवै यात्राको संख्याले नयाँ उचाइ छोएको छ।
धेरैभन्दा धेरै चिनियाँ पर्यटक विदेश भ्रमणमा गएका छन्। अध्यागमन १२०.५ प्रतिशतले बढेको छ। वसन्त चाडमा अवधिमा विदेश घुम्ने चिनियाँको माग गत वर्षको तुलनामा ६४० प्रतिशतले बढेको छ। लाखौँलाख चिनियाँ पर्यटक विश्वका विभिन्न कुनामा पुगेपछि होटेल, पर्यटन उद्योग, वाणिज्य उद्योग स्थिर रूपमा पुनःउत्थान हुन थालेको विश्वका विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जनवरी ३० मा आयोजित पत्रकार सम्मेलनमा चालु वर्षको वसन्त चाडमा विदेश घुम्न गएका चिनियाँ पर्यटकको संख्यामा स्पष्ट रूपमा वृद्धि भएको बताइन्। प्रवक्ता माउकाअनुसार चिनियाँ नयाँ वर्षमा विदेश गएका चिनियाँहरूको संख्या तथ्यांकमा हेर्दा २८ लाख ७० हजारभन्दा बढी पुगेको छ।
यसले चिनियाँ नयाँ वर्षमा विश्व अर्थतन्त्रलाई निकै प्रोत्साहित भएको प्रस्ट पारेको छ। यो त सम्भावित समाधान बनेर आएको छ। यसरी धाँजो परेको विश्व पर्यटनलाई चिनियाँ पर्यटकले मलजल गरेका छन्।
नेपालका सम्बन्धित निकायले पनि यसतर्फ ध्यान दिनुपर्छ। नेपाललाई पर्यटन गन्तव्य मुलुकको सूचीमा समावेश गर्न चीनलाई आग्रह गरिनुपर्छ। साथै चिनियाँहरूका लागि पर्यटकमैत्री वातावरण बनाउन नेपाल तयार रहेको सन्देश पनि दिइनुपर्छ।
यसरी चिनियाँले आन्तरिक पर्यटन, विश्व पर्यटनसँगै आन्तरिक बजारलाई पनि चलायमान बनाएका छन्। विभिन्न उत्पादन र सेवाको मागको विस्तारले यो बिदाको अवधिमा खुद्रा बजारको प्रवर्धन व्यापक भएको छ। इकमर्स जायन्ट जेडी डटकमको तथ्यांकअनुसार गत वर्षको सोही बिदाको अवधिको तुलनामा सेवाको कारोबार ३०२ प्रतिशतले बढेको छ। खरायोमा आधारित गहनाको बिक्री १० गुणाभन्दा बढीले भएको छ। वसन्त चाडको कुल स्टक मार्केट ६ अर्ब ७५ करोड ८० लाख चिनियाँ युआन पुगेको छ। गत वर्षको तुलनामा यो ११.८९ प्रतिशतले बढेको हो।
यसैगरी बिदाको क्रममा चीनका रेस्टुरेन्टहरूमा डाइनिङ अर्डर सन् २०२२ को तुलनामा ५३ प्रतिशतले बढेको छ। सन् २०२३ मा चीनमा प्रतिव्यक्ति उपभोग खर्च अघिल्लो वर्षको तुलनामा ८ देखि १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। उपभोग्य वस्तुको कुल खुद्रा बिक्री वार्षिक रूपमा ७ देखि ११ प्रतिशतले बढ्ने अनुमान छ।
चीनका सिनेमाघरले यस वर्षको वसन्त चाडमा दर्शक भव्य स्वागत गरे। थुप्रै ब्लकबस्टर पाए। यस अवधिमा १२ करोड ९० लाख टिकट बिक्री भएको थियो। यसबाट ६ अर्ब ७६ करोड युआन (करिब ९९ करोड ८५ लाख अमेरिकी डलर) आम्दानी भएको थियो। यो सन् २०२२ मा ११.८९ प्रतिशतले बढी हो। यो बक्स अफिस अहिलेसम्मको दोस्रो सबैभन्दा बढी कमाइ गर्ने बनेको छ।
महामारी नियन्त्रणपछिको यो पहिलो वसन्त चाड हो। उल्लिखित तथ्यांकले चीनको बढ्दो खपत सम्भावना देखाएको छ। यसरी चीनको नयाँ वर्षमा समग्र विश्व अर्थतन्त्रको दह्रो सुधारको बलियो संकेत दिएको छ।
हुन त गत वर्षको चौथो त्रैमासिक अवधिदेखि नै धेरै अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले सन् २०२३ मा चीनको आर्थिक वृद्धिको अपेक्षा गरेका थिए। गत डिसम्बरदेखि कोभिड-१९ प्रतिबन्धलाई व्यवस्थित रूपमा खुकुलो पारेदेखि सम्भावना जीवित भएर आएका छन्। साथै विश्व बैंकले ‘सकारात्मक आश्चर्य’ को रूपमा अपेक्षा गरेको चीनको छुनयुन थियो। जुन वसन्त चाडको ४० दिनको यात्रा अवधि हो।
यसरी चीनको वसन्त चाडको सातदिने बिदामा उपभोग र सेवाको बलियो माग देखियो। त्यस्तै ४० दिने (फेब्रुअरी १५ सम्म) छुनयुनमा चीनको अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन र लचिलोपनका कारण सन् २०२३ मा चीनको आर्थिक वृद्धि दरको विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले आफ्नो पूर्वानुमान परिमार्जन गरेका छन्।
यसर्थ अन्तर्राष्ट्रिय वातावरणमा केही जटिलता देखिए तापनि चीनको आर्थिक पुनःउत्थानको आधारमा समग्र विश्वमा आर्थिक सुधारको प्रयास गरिनुपर्छ। चीन आफ्नो आर्थिक वृद्धि दरलाई बढाउनेमा विश्वस्त देखिन्छ। यो आशालाग्दो सुरुवात हो। शीत लहरमा रहेको विश्व अर्थतन्त्रलाई पारिलो घाम बनेर आएको छ चीन अर्थात् बिरामी अर्थतन्त्रका लागि अक्सिजन बनेर आएको छ।