उपाधि दाबेदारी नवीकरण गर्दै आर्सनल, खर्चालु चेल्सीलाई शीर्ष चारको चिन्ता

हिमाल प्रेस २० माघ २०७९ १२:३५
8
SHARES
उपाधि दाबेदारी नवीकरण गर्दै आर्सनल, खर्चालु चेल्सीलाई शीर्ष चारको चिन्ता

काठमाडौँ- जनवरीभर खुला रहने खेलाडी सरुवा बजारमा चेल्सीको जगजगी रह्यो। इंग्लिस प्रिमियर लिग युरोपियन क्लब फुटबलको सबैभन्दा खर्चालु लिग बन्दा चेल्सी एक्लैले ३० करोड पाउन्डभन्दा बढी खर्च गर्‍यो। एक महिनामा आठ नयाँ खेलाडी अनुबन्ध गरेको चेल्सी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नछाउने कुरै भएन।

अब फेरि चर्चा चेल्सीकै सुरु भएको छ। यसपालि चाहिँ प्रशिक्षकको भविष्य र टिमको प्रदर्शनलाई लिएर। शुक्रबार राति चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहमको सामना गर्दैछ। यो खेलअघि के भनिँदैछ भने ग्राहम पोर्टरका लागि आफ्नो जागिर बचाउन धेरै समय बाँकी छैन।

गत सेप्टेम्बरमा चेल्सीको जिम्मेवारी पाएका पोर्टरले सोचे जत्तिको नतिजा दिलाउन सकेका छैनन्। नयाँ सिजनका ६ खेलमा ब्राइटनलाई प्रशिक्षण दिएपछि पोर्टर चेल्सी सरेका थिए। उनको नेतृत्वमा चेल्सीले १४ खेल खेलिसकेको छ। जसमध्ये पाँच खेलमा चेल्सी पराजित भयो। फलतः चेल्सी प्रिमियर लिग अंक तालिकाको १० औँ स्थानमा अड्किएको छ।

यो साता पोर्टरका लागि मात्र होइन, सिन डाइच र योर्गन क्लपका लागि पनि महत्त्वपूर्ण छ। फ्रान्क लाम्पार्ड बर्खास्तीमा परेपछि प्रशिक्षक बनेका डाइचको प्रशिक्षणमा एभरटनले पहिलो खेल खेल्दैछ। त्यो पनि शीर्षस्थानको आर्सनलविरुद्ध। आफ्नै मैदानमा हुने यो खेलमा लिग लिडरलाई रोक्दै एभरटन मध्यसिजनमा नयाँ सुरुवात गर्न चाहन्छ।

लिग कपबाट पनि बाहिरिएको लिभरपुल अब प्रिमियर लिग र च्याम्पियन्स लिगमा केन्द्रित छ। अर्को सिजन पनि च्याम्पियन्स लिग खेल्ने भए लिभरपुल यो सिजन कम्तीमा चौथो हुनैपर्छ। तर यो लक्ष्य लिभरपुलका लागि त्यति सजिलो हुने देखिएको छैन।

योर्गन क्पलको लिभरपुल भने उल्भरह्याम्पटनको भ्रमणमा निस्किनेछ। लिगमा पछिल्ला तीनमध्ये दुई खेल हारेको लिभरपुलले यो सिजन उल्भरह्याम्पटनसँग दुई खेल खेलिसकेको छ। तर ती दुवै खेल एफए कपका थिए। गत सिजन यो प्रतियोगिता जितेको लिभरपुल यसपालि ब्राइटनसँग पराजित हुँदै चौथो चरणबाटै बाहिरिसकेको छ।

लिग कपबाट पनि बाहिरिएको लिभरपुल अब प्रिमियर लिग र च्याम्पियन्स लिगमा केन्द्रित छ। अर्को सिजन पनि च्याम्पियन्स लिग खेल्ने भए लिभरपुल यो सिजन कम्तीमा चौथो हुनैपर्छ। तर यो लक्ष्य लिभरपुलका लागि त्यति सजिलो हुने देखिएको छैन।

चेल्सीको क्रान्ति
यो सिजन सुरु हुनुअघि नै २७ करोड पाउन्ड खर्च गरेको चेल्सीलाई लिग उपाधि दाबेदार मानिएको थियो। तर जर्मन प्रशिक्षक थोमस टुकलको नेतृत्व चित्त नबुझेपछि पोर्टरलाई टिमको जिम्मा लगाइएको हो। यसकारण उनीमाथि दबाब छ, चेल्सीलाई जतिसक्दो चाँडो शीर्ष चारमा फर्काउने।

दबाबमा परेका पोर्टरको नजर अब टिमका नयाँ सदस्यहरूमाथि छ। नयाँ सदस्यमध्ये इन्जो फर्नान्डेजले शुक्रबार राति डेब्यु गर्ने सम्भावना छ। प्रिमियर लिग इतिहासकै महँगा खेलाडीका रुपमा दर्ज भएका फर्नान्डेजलाई चेल्सीले बेनफिकाबाट १० करोड सात लाख पाउन्डमा खरिद गरेको हो।

चेल्सीका अर्का महँगा खेलाडी मिखाइलो मुड्रिक पनि ‘वेस्ट लन्डन डर्बी’ खेल्न मैदान उत्रनेछन्। गत साता लिभरपुलविरुद्धको दोस्रो हाफ खेलेका युक्रेनी विंगर स्टाम्फोर्ड ब्रिजमा पहिलो पटक खेल्न लागेका हुन्।

टोड ब्होली नेतृत्वको समूहले स्वामित्व लिएपछि चेल्सीले खेलाडी सरुवा बजारमा ५० करोड पाउन्ड खर्च गरिसकेको छ। विश्व फुटबलका नयाँ स्टारहरूले भरिएको चेल्सीलाई सम्हाल्नु आफ्ना लागि चुनौतीपूर्ण भएको पोर्टरले स्वीकार गरिसकेका छन्।

‘यो टिममा स्वास्थ्य प्रतिस्पर्धा हुन जरुरी छ। यसका लागि वातावरण बनाउनु छ। ताकि सबै खेलाडी एकअर्कालाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्न सकुन्,’ पोर्टरले भनेका छन्, ‘एकपल्टमा ११ खेलाडीलाई मात्र खेलाउन सकिन्छ। जो खेल्न पाउँदैनन्, उनीहरू असन्तुष्ट हुने नै छन्। तर आखिरमा सबैले पालैपालो खेल्न पाउनेछन्। किनभने हामीले खेल्न बाँकी थुप्रै खेल बाँकी छन्।’

चेल्सी र फुलहम गत महिना पनि भिडेका थिए। क्याराभान कटेजमा फुलहम विजयी भएको थियो। फुलहमका लागि त्यो जित किन पनि विशेष रह्यो भने फुलहमले सन् २००६ यता पहिलो पटक सहरी प्रतिद्वन्द्वीलाई हराउन सकेको थिएन।

फुलहम फेरि विजयी भए यो आफैँमा कीर्तिमान हुनेछ। किनभने फुलहमले चेल्सीलाई कुनै पनि सिजनमा दुई पटक पराजित गर्न सकेको छैन।

डाइचको डेब्यु
शनिबार गुडिसन पार्कमा दुई टिमका समर्थक फरक फरक मनस्थितिमा उपस्थित हुनेछन्। सन् २००४ यता पहिलो पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलका समर्थक उत्साहित हुनेछन् भने एभरटन समर्थकलाई रेलिगेसनको चिन्ता छ।

च्याम्पियन म्यानचेस्टर सिटीलाई एक खेल कम खेलेर पाँच अंकले पछि पारेको आर्सनल १३ खेलमा अपराजित छ। लिग उपाधि दौडमा आफूलाई थप बलियो बनाउन आर्सनलले जनवरीमा कम्तीमा दुई खेलाडी थप्न खोजेको थियो। तर उसले अनुबन्ध गर्न चाहेका मुड्रिक चेल्सी गए भने ब्राइटनले मोइसेस काइसेडो बेच्न मानेन। यस्तोमा आर्सनलले चेल्सीका अनुभवी मिडफिल्डर जर्जिन्होलाई भित्र्याएको छ।

जर्जिन्होअघि लेस्टर सिटीबाट लियान्द्रो ट्रोसार्ड इमिरेट्स पुगिसकेका थिए। यी दुई खेलाडीले आर्सनललाई अझ मजबुत बनाएको मिकेल आर्टेटाको ठम्याई छ।

उता एभरटनले भने जनवरीमा नयाँ खेलाडी अनुबन्ध गरेन। प्रिमियर लिगमा नयाँ खेलाडी नभित्र्याउने एक्लो क्लब बनेको एभरटनका प्रशिक्षक सिन डाइचलाई थाहा छ, बाँकी सिजन कम चुनौतीपूर्ण छैन।

प्रिमियर लिगबाट कहिल्यै रेलिगेट नभएका ६ क्लबमध्येको एक हो, एभरटन। यद्यपि एभरटनको यो कीर्तिमान धरापमा परेको छ। किनभने अहिले एभरटन १९ औँ स्थानमा छ। ‘मलाई थाहा छ, एभरटनले ठूलो चुनौती पार गर्नु पर्नेछ। यसका लागि म तयार छु। मलगायत सबैजना एभरटनमा अहिलेको परिस्थिति परिवर्तन गर्न चाहन्छौँ। हामी नयाँ तरिकाले काम गर्ने सुरमा छौँ। यो यस्तो तरिको जसले हामीलाई रेलिगेसनको खतरा टार्न सहयोग गर्नेछ,’ डाइचले भनेका छन्।

ग्वार्डिओलाको शैली
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफूलाई सही लागेको निर्णय लिन हिच्किचाउँदैनन्। यसको उदाहरण हो, जाओ कान्सेलको स्थातरण। पोर्चुगलका फुलब्याक कान्सेलो गत साता सिटीबाट बार्यन म्युानिख पुगे।

सिटी पछिल्ला दुई सिजन लगातार च्याम्पियन बन्दा कान्सेलो त्यस टिमका महत्त्वपूर्ण खेलाडी थिए। तर यो सिजन उनको प्रदर्शनमाथि प्रश्न उठिरहेको थियो। आर्सनललाई भेट्न नसकिरहेको सिटीमा कान्सलो मात्र होइन अरु कयौँ खेलाडीले पनि स्वाभाविक प्रदर्शन गर्न सकिरहेका छैनन्।

कान्सेलोको बहिगर्मनसँगै फुलब्याक पोजिसनमा ग्वार्डिओलासँग अब थोरै विकल्प मात्र बाँकी छन्। राइट वा लेफ्टब्याक बनेर खेल्नसक्ने कान्सेलोको स्थानमा ग्वार्डिओलाले पटक पटक नाथन आकेलाई खेलाउँदै आएका थिए। दुई सेन्ट्रल डिफेन्डरको सट्टा तीन जनालाई पनि खेलाउने ग्वार्डिओलाले बाँकी खेलमा कस्तो रणनीति अख्तियार गर्छन्, हेर्न बाँकी छ।

यस्तोमा ग्वार्डिओलाका लागि आइतबारको खेल कठिन परीक्षा हुनेछ। टोटनहमविरुद्धको यो खेलमा सिटी अनिवार्य जित चाहन्छ। किनभने हारले आर्सनलसँगको दूरी आठ अंकमा पुर्‍याउनेछ। उता टोटनहम भने प्रशिक्षक एन्टोनियो कोन्टेबिना मैदान उत्रनेछ। हालै शल्यक्रिया गराएका कोन्टे आराम गरिरहेका छन्।

प्रकाशित: २० माघ २०७९ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =