काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको शृंखलाका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय टिमले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छानेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान सन्दीप लामिछाने पनि परेका छन्।
क्यानले माघ १३ गते २८ खेलाडी डाकेर पहिलो चरणको बन्द प्रशिक्षण सुरु गरेको थियो। त्यस सूचीमा नपरेका सन्दीप बिहीबार थपिएका थिए। साँझ सार्वजनिक गरिएको नयाँ सूचीमा भने उनलाई राखिएको छ।
बलात्कारको आरोप खेपिरहेका सन्दीपको मुद्दाको छिनाफानो नहुँदै क्यानले निलम्बन फुकुवा गरेर उनलाई प्रशिक्षणमा सहभागी गराएको हो। फिटनेस परीक्षण हुने र त्यसमा पास भए सन्दीप राष्ट्रिय टिमबाट खेल्न फेरि एकपल्ट तयार हुने बताइएको छ। यद्यपि टिममा राख्ने नराख्ने निर्णय गर्न जिम्मा प्रशिक्षकलाई दिइएको क्यानको भनाइ छ। हाल मोन्टी देशाईले प्रशक्षण गराइरहेका छन्।
नेपालले फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्दैछ। त्यसका लागि नामिबिया र स्कटल्यान्ड नेपाल आउनेछन्। लिग २ मा नेपालले कुल नौ शृंखला खेल्ने तालिका छ। यो नेपालले खेल्न लागेको सातौँ शृंखला हो। यसपछि नेपालले घरेलु मैदानमै संयुक्त अरब इमिरेट्स र पपुवा न्युगिनीविरुद्ध खेल्नेछ। अन्तिम शृंखलाका लागि भने नेपाल पपुवा न्युगिनी जानेछ।
बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडी :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम शार्की, प्रतिस जीसी, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद।