काठमाडौँ- आज विश्व सिमसार दिवस। हरेक फेब्रुअरी २ का दिन मनाइने यो दिवस मनाइन्छ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ। झट्ट हेर्दा पानीले ढाकेका कतिपय जमिन उपयोगविहीन जस्ता देखिन्छन् तर, त्यसको महत्त्व भने एकदमै धेरै छ।
सिमसार क्षेत्र अर्थात् पानी मिसिएको जमिनले प्राणी जगत् र जैविक विविधता संरक्षणमा ठूलो भूमिका खेलिरहेको हुन्छ। हिजोआज यस्ता सिमसार क्षेत्र विस्तारै पुरिँदै जान थालेका छन्।
बढ्दो सहरीकरण र अव्यवस्थित विकासले सिमसार क्षेत्रहरू मासिँदै गएका हुन्। सिमसार मासिँदा विभिन्न देशबाट आउने पाहुना चराको लस्कर पनि आउन छाडेका छन्।
साना तालतलैया, दलदल, पोखरी र सेपिलो पानी पाइने क्षेत्रलाई सिमसार भन्ने गरिन्छ। जैविक विविधता र जीवनोपयोगी स्रोत मानिने यी सिमसार विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र फिरन्ते पक्षीहरूका लागि उत्तम आश्रयस्थलका रूपमा लिइन्छ।
साथै पानीको सतही र भूमिगत स्रोतको संरक्षण गर्न तथा पहिरो रोकथाम गर्न सिमसारको महत्त्वपूर्ण भूमिका हुने गर्छ। कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसार क्षेत्र उपयोगी छ।
वातावरणविद् प्राध्यापक डा. देवेन्द्रबहादुर लामिछाने सिमसार क्षेत्र हराउँदै गएको र सँगैसँगै जैविक विविधता एवं कृषिमा पनि त्यसको असर परेको बताउँछन्। सिमसार क्षेत्रको महत्त्व नबुझी व्यक्ति आफ्नै स्वार्थमा तल्लीन हुँदा जलाधार क्षेत्रमा रहने प्राणीको अस्तित्व हराउँदै गएको उनको भनाइ छ।
‘सिमसार बिना पूर्ण मानव सभ्यताको कल्पना गर्न सकिँदैन। सिमसार क्षेत्र पारिस्थितिकीय मात्र नभई सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्यको दृष्टिकोणबाट पनि अति महत्त्वपूर्ण छ। कसरी बुझाउने खै यसको महत्त्व ?,’ उनी भन्छन्। सिमसार क्षेत्रमा बकुल्ला र पानी हाँसहरू आजभोलि देखिन छाडेका उनको अनुभव छ।
उपयुक्त आश्रयस्थल र यथेष्ट आहार प्राप्त हुने हुँदा जीवजन्तु सिमसारमा रमाएका हुन्छन्। सिमसारलाई जैविक विविधताको संरक्षण, वैज्ञानिक शोध, पर्यटन प्रवर्द्धन र मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय संरक्षणको महत्त्वपूर्ण अंगको रूपमा पनि लिइन्छ।
इरानको रामसार सहरमा सन् १९७१ फेब्रुअरी २ मा भएको सम्मेलनबाट सिमसार क्षेत्रको संरक्षणका लागि रामसार महासन्धि पारित गरिएको थियो।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ।
सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो।
नेपाल घुम्न आउने पर्यटकमध्ये ५० प्रतिशत सिमसार क्षेत्र पुग्ने गरेको तथ्यांक छ। नेपालका २१ आदिवासी समुदाय जीविकोपार्जनका लागि सिमसारमै आश्रित छन्। नेपालका करीब ३० प्रतिशत सिँचाइ सुविधाको स्रोत सिमसार क्षेत्रबाट बगेर आउने पानी हुने गर्छ।
सिमसार संरक्षणका लागि बनाइएका नीतिगत व्यवस्थाको अस्पष्टता, अतिक्रमण, विकासका नाममा भैरहेका विनाश, खेतबारीमा प्रयोग हुने गुणस्तरहीन रसायन र विषादीको निर्वाध आयात र प्रयोग सिमसार क्षेत्रको दिगो व्यवस्थापन र संरक्षणका लागि चुनौती बन्दै गइरहेको लामिछानेको भनाइ छ।
तालतलैया, दह, कुण्ड, पोखरी एवं सिमसारहरूको संरक्षण तथा पर्यटन प्रवर्द्धनबारे थुप्रै गोष्ठी र अन्तक्रिया हुँदै आए पनि सिमसार क्षेत्रको संरक्षण, प्रवर्द्धन र उपयोगको सवालमा भने प्रभावकारी काम भएको पाइँदैन।
सिमसार जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिकस्थल हो। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ।
विश्व संरक्षण संघ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान पनि हो। सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ।
नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्। यसै गरी नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन्।
त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन्। यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको छ। सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ।
मासिँदै सिमसार
पछिल्लो सयम सिमसार क्षेत्र संरक्षण अभावमा मासिँदै गएका छन। सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुंगी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्त्वपूर्ण योगदान रहेको बताए। ‘तालतलैया, पोखरीको सांस्कृतिक महत्त्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ, कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायतका क्रियाकलाप भइरहेका हुन्छन्,’ उनले भने।
सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्। प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए।
उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए। ‘निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छौँ ताल पुरिने समस्या छ, निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ,’ उनले भने। उनले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताए।
सिमसारमा हुने घाँसको तत्त्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन्।
निर्विकल्प संरक्षण
सिमसारको दिगो उपयोग एवं प्रयोजनका लागि यसको संरक्षण तथा व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो।
कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर, भावी सन्तानको सुन्दर भविष्यका लागि सुन्दर पृथ्वी हस्तान्तरण गर्न महत्त्व बोकेको सिमसार क्षेत्रको पहिचान, अस्तित्व र महत्त्वलाई सबैले बुझ्नु जरुरी छ।
यसरी द्रुतगतिमा बढ्दो सहरी जनसंख्याले सहरी योजनाकार तथा व्यवस्थापकमा चुनौती थपेको छ। अबको सहरी व्यवस्थापनले बसोबास, यातायात, पानी र अत्यावश्यक भौतिक सुविधाको अतिरिक्त तिनको सुरक्षा, बासयोग्यता र वातावरणमैत्री सूचंकलाई समेत सुनुश्चित गर्नुपर्दछ।
यसरी बढ्दो सहरीकरणसँगै बढ्दै गइरहेको उद्योग कलकारखाना र वन विनाशले जलवायु परिवर्तन दिनानुदिन बढ्दै गइरहेको विज्ञहरू बताउँछन्। भौतिक विकासका क्रियाकलापलाई वातावरणमैत्री कायम गर्दै सिमसारहरूको संरक्षण गरिनु अपरिहार्य देखिएको छ। राससको सहयोगमा