सोरुका स्थानीयलाई जीर्ण पुल तिर्नुपर्ने बाध्यता

हिमाल प्रेस १० फागुन २०७९ १८:२१ | Wednesday, February 22, 2023
सोरुका स्थानीयलाई जीर्ण पुल तिर्नुपर्ने बाध्यता फाइल तस्बिर।

मुगु- मुगुको सोरु गाउँपालिकाको कुलाहास्थित झोलुंगे पुल जीर्ण अवस्थामा छ । तर पनि स्थानीय जोखिम मोलेर सोही पुल तर्न बाध्य छन् । उक्त पुलमार्फत् खनाया, जिमा, पुरुमुरुका बासिन्दाले ओहोरदोहोर गर्छन्। मुगुको कर्णाली नदीमा २०३९ सालमा निर्मित कुलाहा झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ।

यहाँका खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको करिब १ दशक बिते पनि मर्मत नभएको गुनासो गरे। पुलमा बिछ्याइएका पाता सबै उप्किएका छन् वरपरको तारजाली खिया लागेर चुँडिएको छ। ‘टाढाबाट हेर्दा पुल डरलाग्दो छ’ उनले भने, ‘एकजना भन्दा बढीले पुल तर्न सक्ने अवस्था छ।’ बाध्य भएर पुल तरिरहेका स्थानीय कुन बेला नदीमा खसिन्छ भन्ने त्रासमै ओहोरदोहोर गरिरहेका छन्।

क्षतविक्षत भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए। उनका अनुसार हिँउद लागे पनि कर्णाली नदीको बहाब नघटेकाले अहिले पनि नदी तर्न सकिँदैन। स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गरिन्छ।

योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकको काममा र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए। उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छाड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैले चासो नदिएको स्थानीयको गुनासो छ।

सोरु गाउँपालिकास्थित नेरघाट झोलुंगे पुल पनि लामो समयदेखि जीर्ण छ। गत वर्षायाममा माथिबाट ढुंगा खस्दा पुलमा क्षति भएको हो। विसं २०५२ मा निर्माण गरिएको उक्त पुलको झन्डै आठ महिनादेखि मर्मत गरिएको छैन। उक्त पुल जीर्ण भएपछि नेर र हुम्लाको जैरगाउँका बासिन्दालाई वारिपारि गर्न समस्या भएको छ।

बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भए पनि कम बजेट हुँदा समस्या भएको सोरुका अध्यक्ष धर्मबहादुर शाहीले बताए। उनले पालिकाभरका मर्मत गर्नुपर्ने पुलको तथ्यांक संकलन गरिरहेको बताए। गत असोजमा भएको वर्षाका कारण जिल्लाभरका १३ पुलमा क्षति पुगेको थियो। पञ्चायतकालदेखि अहिलेसम्म जिल्लामा रहेका विभिन्न खोला र नदीमा ६५ झोलुंगेपुल निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले बताए। रासस

प्रकाशित: १० फागुन २०७९ १८:२१ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast