 
                             
                                            सिरहा– धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ। नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि ५ वर्षमुनिका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो।
५ हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए/नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए।
उनका अनुसार कुपोषण जाँचमा पाखुराको नाप लिन प्रयोग गरिएको मुवाक टेपमा हुने तीन वटा रङको सहायताबाट कुपोषण भए/नभएको पत्ता लाग्नेछ।
‘पाखुरा नाप्दा टेपमा भएको हरियो रङ देखिएमा बच्चालाई कुपोषण नभएको, पहेँलो रङ देखिएमा मध्यम अवस्थाको र रातो रङ देखिएमा कडा अवस्थाको कुपोषण हो,’ उनले भने।
आमासमूहको सहायतामा घरघरमा गएर कुपोषण जाँच गरिने स्वास्थ्यकर्मी दिवस कार्कीले बताए।
हालसम्म ५ सय ५० बालबालिकाको जाँच हुँदा १४ जनामा कडा अवस्थाको र २४ जनामा मध्यम अवस्थाको कुपोषण फेला परेका छन्। मध्यम अवस्थाको कुपोषण भएका बालबालिकालाई बेल्जियम सरकारले उपलब्ध गराएको सुपर सिरयलबाट उपचार गरिनेछ।
साथै कडा अवस्थाको कुपोषण देखा परेका बालबालिकालाई स्थानीय नैनपुर अस्पताल र विष्णुपुर अस्पतालमा उपचार गरिने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 