सिकारी पर्खँदै ढोरपाटन सिकार आरक्ष

हिमाल प्रेस ५ फागुन २०७९ १३:२१ | Friday, February 17, 2023
सिकारी पर्खँदै ढोरपाटन सिकार आरक्ष

बागलुङ- ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकारयाम सुरु भएको छ। २०७९ फागुन–२०८० वैशाखका लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएसँगै सिकार आरक्ष सिकारी पर्यटकको पर्खाइमा छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिहीबार प्रतिस्पर्धाबाट सिकार गराउन दरभाउ पत्र आह्वान गरेको हो। १५ दिनभित्र पेस हुने प्रस्तावबाट बढीबढाउका आधारमा सिकार कम्पनीले नाउर, झारल र वनेलको सिकार अनुमति पाउने छन्।

विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको सिकार गरिने भएको छ। यसका लागि व्यक्ति तथा संघ संस्थाले निवेदन दिनसक्ने विभागले जनाएको छ।

आरक्षमा यस आव २०७९/८० को दोस्रोयामका लागि १२ नाउर, आठ झारलको सिकार कोटा तोकिएको छ। यस सिजनमा नेपाली नागरिकका लागि सात बँदेल र विदेशी नागरिकका लागि चार बँदेल गरी जम्मा ११ वटा बँदेल सिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए।

ढोरपाटन नेपालको एक मात्र सिकार आरक्ष हो। यहाँ कात्तिक-मङ्सिर र फागुन-वैशाख गरी दुई सिजनमा सिकारको अनुमति दिइन्छ।

आरक्षले सिकारको अनुमति दिएको संख्या, पर्यटक र उनीहरूको गतिविधिलाई नियमनको काम गर्छ। नेपालमा दुई सिजनामा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको सिकार हुने गरेको छ।

आरक्षमा कुल ६ वटा ब्लक छन्। ब्लकअनुसार मूल्य फरकफरक पर्छ। पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग भने आफ्नो मुलुक लैजान पाउँछन्।

विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको थियो। तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो। अघिल्लो सिकार याममा सिकार हुन नसकेका नाउर र झारल समेतलाई थप गरेर वर्षको दोस्रो याममा सिकार अनुमति दिन लागिएको हो।

पहिलो सिकार याममा कुनै पनि नेपाली र विदेशीले सिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा बँदेलको सिकारका लागि प्रस्ताव आह्वान गरिएको छ। ‘अनुमति लिएका विदेशीले निःशुल्क बँदेलको सिकार गर्न पाउँछन्, नेपालीलाई पनि सामान्य शुल्क लिएर सिकारका लागि अनुमति लिन प्रस्ताव आह्वान गरिए पनि अहिलेसम्म कोही पनि अनुमति लिन आएका छैनन्,’ उनले भने,  ‘आशा गरौँ यो मौसममा बनेको पनि सिकार हुनेछ।’

आरक्षमा रहेका बँदेल आसपासका बस्तीमा पसेर किसानको बाली मास्ने गरेका छन्। आरक्षमा बँदेलको संख्या उच्च रहे पनि सिकारीले चासो नदेखाएका हुन्। सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ।

प्रकाशित: ५ फागुन २०७९ १३:२१ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast