 
                             
                                            काठमाडौँ- साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले आफ्नो कार्यकाल ६ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको साझा प्रकाशनले जनाएको छ।
साझा प्रकाशन स्रोतका अनुसार पोखरेल सञ्चालक समितिको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका थिए। संस्था अगाडि बढाउन सरकार र सञ्चालक समिति सक्रिय नभएपछि आफू बसिरहनुको औचित्य नरहेको भन्दै उनले राजीनामा दिएको बताइएको छ। साझा प्रकाशनमा महाप्रबन्धक कार्यकारी प्रमुख रहने व्यवस्था छ।
सञ्चालक समितिका सदस्यहरूले उनलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको साझाका कर्मचारीहरूको भनाइ छ। एक कर्मचारीले भने, ‘पोखरेल केही गरौँ भन्ने भावनाका साथ सक्रिय हुनुहुन्थ्यो। तर सञ्चालक समितिका पदाधिकारीरूले झिनामसिना कुरालाई लिएर अप्ठ्यारो वातावरण बनाउन थालेपछि उहाँ अलग हुनुभएको हो।’
साझाका कर्मचारीहरूले उनलाई नियमावली बनाउन दबाब दिँदै आएका थिए। महाप्रबन्धक पोखरेल कर्मचारीका पक्षमा रहे पनि सञ्चालक समितिले त्यसमा विमति जनाएपछि उनले राजीनामा दिएको बताइएको छ। पोखरेलले दिएको राजीनामा अध्यक्ष विजय सुब्बाले स्वीकृत गरेका छन्।
पोखरेलले भने आफूले स्वेच्छाले राजीनामा दिएको बताए। उनले भने, ‘स्वेच्छाले राजीनामा दिएको हुँ। पदमा बसिरहँदा मेरा आफ्ना सिर्जनशील कुरा रोकिए। त्यसलाई अगाडि बढाउन संस्थाबाट अलग भएको हुँ।’ उनले संस्थामा बसेर आफूले चाहेअनुसार काम गर्न नसकेको बताए।
पूर्वप्रशासक, कवि तथा साहित्यकार पोखरेल २०७८ साउनमा साझाको महाप्रबन्धक नियुक्त भएका थिए। नेपालको प्रशासनिक क्षेत्रको लामो अनुभव हासिल गरेका पोखरेलका दर्जनौँ कृति प्रकाशित छन् भने धेरै साहित्यिक ग्रन्थ सम्पादन गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 