वैदिक सनातन कर्मकाण्ड महासंघका संस्थापक अध्यक्ष सुवेदीको सालिक अनावरण

हिमाल प्रेस ४ फागुन २०७९ ८:२४ | Thursday, February 16, 2023
वैदिक सनातन कर्मकाण्ड महासंघका संस्थापक अध्यक्ष सुवेदीको सालिक अनावरण

काठमाडौँ- वैदिक सनातन कर्मकाण्ड महासंघका संस्थापक अध्यक्ष पण्डित चित्रप्रसाद सुवेदीको सालिक अनावरण गरिएको छ। सिन्धुपाल्चोक दुवाचोरस्थित सुवेदीको जन्मस्थलमा सालिक अनावरण गरी प्राणप्रतिष्ठा गरिएको हो।

सोही अवसरमा मेलम्ची तथा इन्द्रावतीको संगमको पवित्र जल भरिएका १०८ ताम्रकलशसाथ महिलाले कलशयात्रा गरेका थिए। मेलम्ची–७ दुवाचौर सेल्लेस्थित सुन्दरी देवीस्थानबाट प्रारम्भ भएको कलशयात्रा सेल्ले, ज्योतिभञ्ज्याङ, डाँडाखोर, ठूलोचौर, तीनकुने हुँदै नगर परिक्रमा गरेर गोल्मेश्वर धामस्थित कार्यक्रमस्थलमा पुगेको थियो।

कलशयात्रामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष पासाङ दोङ, पुराण वाचक पण्डितहरू, वडा सदस्यहरू, अयोजकका साथै काठमाडौं र वरपरबाट सहभागी भएका अतिथिलगायत स्थानीय भक्तजनको सहभागिता थियो।

मित्र प्रतिष्ठान, नेपालले भारद्वाज आश्रमको नाम दिएर स्थापना गरिएको सो प्रतिमाको अनावरण मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गरेका थिए।

प्रतिमा अनावरणसँगसँगै सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ। पण्डित रमेशप्रसाद सुवेदी (भारद्वाज किरण) को संकल्प र उनैका मुखरावृन्दबाट कथावाचन एवम् पण्डित कृष्णप्रसाद पौडेल र पण्डित रामकृष्ण सुवेदीबाट पाठपारायणसहित ज्ञानमहायज्ञ भइरहेको छ।

गोल्मेश्वर धाम संरक्षण, संवर्धन तथा व्यवस्थापनका लागि अक्षयकोष स्थापनाको उद्देश्यले पण्डित सुवेदीको स्मृतिमा सप्ताह ज्ञानमहायज्ञ प्रारम्भ गरिएको मित्र प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णप्रसाद सुवेदी ‘भारद्वाज मित्र’ ले जानकारी दिए।

दुवाचौरबाट काठमाडौ उपत्यकामा बसोवास गर्ने सुवेदी परिवार र इष्टमित्रका सहभागितामा सञ्चालित बट्टेश्वर बत्सलादेवी समूहको ५१ हजार नगद सहयोगबाट कोष संकलन सुरु भएको थियो।

प्रकाशित: ४ फागुन २०७९ ८:२४ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast