विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

हिमाल प्रेस १२ फागुन २०७९ १९:४० | Friday, February 24, 2023
विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ- आईसीसी अन्डर–१९ विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। एसियातर्फको छनोटमा नेपालले शुक्रबार सिंगापुरमाथि ९६ रनको जित दर्ता गरेको हो।

संयुक्त अरब इमिरेट्स (यूएई) को अज्मानमा सुरु छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको थियो। इडन गार्डेन्समा सिंगापुर निर्धारित ५० ओभरमा सात विकेट गुमाएर १६५ रनमै सीमित भयो।

नेपालको जितमा आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धशतक बनाए। आकाशले १ सय बलमा एक छक्का र सात चौकासहित ७८ रन बटुले। विशालले नटआउट ६३ रन बनाए। ५४ बल सामना गर्दा विशालले दुई छक्का र चार चौका प्रहार गरे।

नेपालका लागि उल्लेखनीय रनको योगदान गर्ने अन्य खेलाडीमा ओपनर अर्जुन कुमाल (३७), कप्तान देव खनाल (२१) र दीपक बोहोरा (१७) रहे।

बलिङतर्फ सिंगापुरका आर्यभीर चौधरी र अभुदे छाजेरले दुई–दुई विकेट हत पारे भने आदवित्य भार्गब र माहियु भाटियाको नाममा एक–एक विकेट रह्यो।

नेपालले दिएको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको सिंगापुरलका लागि आर्यन मोदीले सर्वाधिक ५८ रन जोडे। त्यसैगरी माहियुले ४४ रनको योगदान गरे। अर्जुन नागपाल र अभुदेले १४–१४ रन बटुल्दा बाँकी ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

सिंगापुरलाई जितबाट रोक्न हेमन्त धामी र सुवास भण्डारीले दुई–दुई विकेट हात पारे। किफायती बलिङ गरेका हेमन्त र सुवासले क्रमशः २७ र २९ रन खर्चिएका थिए। विजयी टिमका लागि अर्को एक विकेट विशाल विक्रमले लिए।

शुक्रबार भएका अन्य खेलमा घरेलु टिम यूएईले मलेसियालाई सात विकेट र हङकङले कुवेतलाई एक विकेटले पराजित गरे। नेपालले दोस्रो खेलमा शनिबार कुवेत, हङकङले यूएई र मलेसियाले सिंगापुरको सामना गर्नेछन्।

कुल ६ टिम सहभागी यो एसियाली छनोटमा शीर्षस्थानमा रहने टिम श्रीलंकामा सन् २०२४ मा हुने विश्वकपका लागि छनोट हुनेछ। गत विश्वकपका लागि भएको छनोटमा नेपाल दोस्रो भएको थियो। यूएईसँग दुई अंकले पछि परेपछि नेपाल उमेर समूहको विश्वकप खेल्नबाट वञ्चित भएको थियो।

प्रकाशित: १२ फागुन २०७९ १९:४० | Friday, February 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast