वडाध्यक्षको व्यस्तता : दिउँसो जनताका काममा, बिहानबेलुका तरकारी खेतीमा

हिमाल प्रेस २८ माघ २०७९ ९:५४ | Saturday, February 11, 2023
वडाध्यक्षको व्यस्तता : दिउँसो जनताका काममा, बिहानबेलुका तरकारी खेतीमा फाइल तस्बिर।

दाङ- दिनभरि वडाको काममा व्यस्त। दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती। तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन्।

पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिन्छन्।

उनीले भन्छन्, ‘म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ।’ वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्छन्।

‘जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन’, वडाध्यक्ष चौधरीले भने, ‘तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु।’

करिब तीन कट्ठामा उनले गोलभेँडा खेती गरेका छन्। अन्यमा खुर्सानी, प्याज, लसुन लगाएका छन्। चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती हुन्छ। तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ।

उनले मंसिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बेच्छन्। हाल किलोको ३० रुपैयाँ मात्रै पर्छ। भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ।

‘हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन’, उनले भने, ‘त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ।’

तरकारी बेचेर उनले वार्षिक छ÷सात लाख आम्दानी हुन्छ।

प्रकाशित: २८ माघ २०७९ ९:५४ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast