ल्होत्से मलमा भएको तोडफोडप्रति चेम्बरको चासो, व्यावसायिक सुरक्षाको ग्यारेन्टी माग

हिमाल प्रेस ४ फागुन २०७९ १७:३२ | Thursday, February 16, 2023
ल्होत्से मलमा भएको तोडफोडप्रति चेम्बरको चासो, व्यावसायिक सुरक्षाको ग्यारेन्टी माग

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले काठमाडौँको बालाजुस्थित ल्होत्से मलमा भएको तोडफोडप्रति चासो व्यक्त गरेको छ। ल्होत्से मलमा भएको तोडफोड र पसलहरूबाट भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यावसायिक सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको हो। ‘विभिन्न मजदुर यातायात संगठनले गरेको आन्दोलनको मौका छोपी ल्होत्से मलमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ’ चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो घटनाका दोषीलाई कानूनी कारबाहीको माग गर्दै पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरूबाटै क्षतिपूर्तिको व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ। शान्तिपुर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भए पनि लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए।

औद्योगिक एवं व्यावसायिक क्षेत्रहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ। व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ।

बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्ने चेम्बरको माग छ।

प्रकाशित: ४ फागुन २०७९ १७:३२ | Thursday, February 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast