लिग-२ : च्याम्पियन स्कटल्यान्डबाट नेपाललाई २१३ रनको लक्ष्य

हिमाल प्रेस ९ फागुन २०७९ १२:३८ | Tuesday, February 21, 2023
लिग-२ :  च्याम्पियन स्कटल्यान्डबाट नेपाललाई २१३ रनको लक्ष्य

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा जारी शृंखलाको अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टिमलाई २१३ रनको लक्ष्य दिएको छ। लिग-२ च्याम्पियन बनिसकेको स्कटल्यान्ड मध्यम योगफलमा अलआउट हुँदा जर्ज मुन्सेले अर्धशतक बनाए।

स्कटल्यान्डलाई ४६.१ ओभरमा २१२ रनमा रोक्न सन्दीप लामिछानेले चार र करण केसीले तीन विकेट लिए। त्यसैगरी ललित राजवंशी र कुशल मल्लको नाममा एक-एक विकेट रह्यो।

नेपालसँगको पहिलो खेल तीन विकेटले गुमाएको स्कटल्यान्डले मंगलबार सन्तोषजनक सुरुवात गरेको थियो। ओपनर कायल कोएट्जेर र जर्ज मुन्सेले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे।

आठौँ ओभरको पाँचौँ बलमा सन्दीपले एलबीडब्लू धरापमा पार्नुअघि कोएट्जेरले २३ बलमा २२ रन जोडे। अर्का ओपनर मुन्सेले ५० बल सामना गर्दा दुई छक्का र नौ चौकाको सहारामा ६० रन बटुले। मुन्सेलाई पनि सन्दीपले नै पभेलियन फर्काएका थिए।

उपल्लो क्रमका अन्य दुई ब्याट्सम्यान क्रिस्टोफर म्याकब्राइड २२ रन र कप्तान रिची बेरिङटन शून्यमा आउट भए। त्यसैगरी म्याथ्यु क्रसले ४१ र ब्रान्डन म्याकुलमले ३१ रनको योगदान गरे।

नेपालविरुद्धको पहिलो खेलमा १०७ रन बटुलेका माइकल लिस्क यसपटक खाता नखोली पभेलियन फर्किए। लिस्कबाहेक तल्लोक्रमका अरु ब्याट्सम्यानको पनि ब्याटिङ चलेन। क्रिस ग्रिभ्स सात र मार्क वाट आठ रनमा आउट भए। त्यसैगरी साफयान शरिफको नाममा आठ रनमा अविजित रहे।

प्रकाशित: ९ फागुन २०७९ १२:३८ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast