लामिछानेले लगाएको आरोप पुष्टि गर्न पत्रकार महासंघ पूर्वअध्यक्षहरूको माग

हिमाल प्रेस २८ माघ २०७९ २०:३७ | Saturday, February 11, 2023
लामिछानेले लगाएको आरोप पुष्टि गर्न पत्रकार महासंघ पूर्वअध्यक्षहरूको माग

काठमाडौँ– नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध गरेका छन्।

लामिछानेले केही दिनअघि पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिका विषयमा महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअध्यक्षहरूले यस्तो माग गरेका हुन्।

लामिछानेले सञ्चारमाध्यममाथि गरेको टिप्पणी सामान्य नभएको भन्दै उनीहरूले विरोध जनाएका छन्। कार्यक्रममा महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले लामिछानेले अराजक अभिव्यक्ति दिएको भन्दै उनको धम्की स्वीकार्य हुन नसक्ने बताए।

राज्यले लामिछानेको अभिव्यक्तिलाई नोट गर्नुपर्ने बताउँदै उनले हिंसा भड्काउने यस्ता अभिव्यक्तिलाई रोक्नुपर्ने साथै लामिछानेले मिडिया र सम्पादकहरूमाथि लगाएको आरोप पुष्टि गर्न विष्टले माग गरे।

यस्तै महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले नेपाली प्रेस जगतमाथि लगाइएको लाञ्छनाप्रति लामिछानेले क्षमायाचना गर्नुपर्ने माग राखे। कसैले धम्की दिँदैमा नेपाली प्रेस जगत नहल्लिने गाउँलेले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले लामिछानेको अभिव्यक्ति सामान्य नभएको र प्रेस जगतका लागि थ्रेट भएको उल्लेख गर्दै यस्ता विषयमा पत्रकारहरू चुप लागेर बसे आगामी दिनमा प्रेस जगतमाथिको आक्रमण बढ्दै जाने बताए।

प्रकाशित: २८ माघ २०७९ २०:३७ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast