धवलशम्शेर राणा
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलशमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापना गर्ने लक्ष्य लिएर संसद्मा आएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राणाले यस्तो बताएका हुन्।
उनले देशको शिक्षा प्रणाली, कर्मचारीतन्त्र राजनीतिग्रस्त भएकोले सुधार गर्न आवश्यक रहेको पनि बताए। संसद्मा राप्रपामाथि प्रहार गर्ने गरिएको भन्दै आपत्ति जनाए।
‘मैले पार्टीको कुरा नगर्ने बिचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो। यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौँ,’ उनले भने, ‘हामी नेपालमा फेरि सनातन हिन्दू राष्ट्र कायम गर्न आएका छौँ। हामी फेरि राजा सहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन। संविधानमा यो अपरिवर्तनीय बुँदा भनिएको छैन। हामीले बोल्न पाउनुपर्छ हामी बोल्छौँ र त्यो हामी समयमा कार्यान्वयन गर्छौँ। त्यसको मतलब यो होइन कि हामी संविधानलाई मान्दैनौँ, व्यवस्थालाई मान्दैनौँ।’



