दुर्गा प्रसाई। फाइल तस्बिर
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था पुन:स्थापना गर्ने भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले फागुन २० गतेबाट राजसंस्था पुन:स्थापनाको माग राखेर आन्दोलन कार्यक्रमको घोषणा गरेका हुन्।
नयाँ बानेश्वरस्थित संघीय भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानबाट आन्दोलनको कार्यक्रम सुरु गर्ने उनको भनाइ छ। उनले आफ्नो आन्दोलन र अभियानमा साथ दिन सबैलाई आह्वान पनि गरे।
२०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको मासिक तलब कम्तिमा १ लाख ५० हजार पुर्याउनुपर्नेलगायतका १५ बूँदे माग राखेर आन्दोलन गरिने उनको भनाइ छ।
कैदी बन्दीहरूलाई जेलमुक्त गराइ जेललाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराएर रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकारसमक्ष गरिने प्रसाईंले बताए।
‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ। यसमा सहमती जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ,’ उनले भने, ‘यो लडाइँ भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो। व्यवस्था बदल्ने लडाइँ हो। हामीले धर्म खोजेको हो, राजा खोजेको हो।’
माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ।


